मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

युवाको बौद्धिकता कमजोर हुँदैछ : अध्यक्ष यादव

शनिबार, ०५ फागुन २०८०, २२ : ०६
शनिबार, ०५ फागुन २०८०

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाको बौद्धिकता कमजोर हुँदै गइरहेको बताएका छन् । जसपाका भातृ सङ्गठन समाजवादी युवा सङ्घद्वारा शनिवार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले पछिल्लो समय युवाको बौद्धिकता र उसको वैचारिक ज्ञानमा ह्रास आएको बताए ।  युवाहरूको बौद्धिकता कमजोर हुनुमा उदयमान भएको नयाँ राजनीति पार्टीको कमजोर विचार, सिद्धान्त र राजनीति संस्कार समेत कारक रहेको उनले बताए ।

‘नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक कुरा भए पनि वैचारिक रूपमा उनीहरू कमजोर छन्, नयाँ दलमा अधिकांश युवामा राजनीतिक संस्कार, विचार र सिद्धान्तको कमी देखिन्छ’ यादवले भने, ‘पहिलाको समयमा युवा एउटा विचारमा प्रस्ट हुन्थे तर अहिले त्यस्तो देखिएको छैन ।’

अहिलेका युवा अपवाहको पछाडि बढी लाग्ने गरेको भन्दै उनले अबको आधुनिक तथा प्रतिस्पर्धात्मक युगमा राजीनितक अध्ययनबिना केहि पनि गर्न नसकिने टिप्पणी गरे ।

जसपा मधेस कमिटीका नेता पूर्वमन्त्री ज्ञानेन्द्र यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सकिने बताए । उनले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध  विभिन्न षडयन्त्र सुरु भएकाले युवा सचेत हुने अवस्था आएको बताए ।

‘सङ्घीयतालाई समाप्त गर्न केही अनावश्यक तत्त्व सक्रिय भएको र त्यसलाई बौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ, नत्र सङ्घीयता धरापमा पर्न सक्छ’ यादवले भने । 

त्यस्तै, मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले युवामा अध्ययनप्रति रुचि घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मुलुकमा आएको नकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाले अध्ययनमा रुचि नदेखाएको टिप्पणी गरे । मधेशका युवामा क्षमता हुँदाहुँदै पनि अफवाह तर्फ लागेको र आफ्नो बौद्धिकता प्रयोग गर्न नसकेको दुःखेसो उनले पोखे ।

मन्त्री कलवारले मधेशका युवामा बौद्धिक सक्रियता घटेका कारण समाज बारेमा सही गलत छुट्टाउन नसकिरहेको बताए । जसपा मधेश प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जीवनमा निखारता ल्याउनुपर्ने बताए । 

‘युवा अनुशासित हुन जरुरी छ, अनुशासित भएमात्र पार्टीले लिएको लक्ष्य प्राप्त हुन्छ’ उनले भने ।  कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवाले आर्थिक समृद्धिको बाटोमा कसरी हिँड्न सकिन्छ त्यतातिर सकारात्मक रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक रहेका छन् । सो प्रशिक्षणमा उनले राजीनितशास्त्र, समाजशास्त्र, सङ्घीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य सञ्चालनका विधि प्रक्रिया, विश्व क्रान्ति लगायत विषयमा प्रशिक्षण दिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप