बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राहुघाटको दोस्रो र तेस्रो सुरुङ जोडियो

बुधबार, ०९ फागुन २०८०, २३ : ०२
बुधबार, ०९ फागुन २०८०

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ आज जोडिएको छ ।  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिको उपस्थितिमा आज सुरुङ जोडिएको हो । 

जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कामका रुपमा मानिन्छ । राहुघाटको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना भएको हो । 

हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिए । “रघुगङ्गा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङ खनिएको छ”, उनले भने, “राहुघाटको कूल छ हजार २७० मिटरमध्ये हालसम्म ९४ प्रतिशत अथवा पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।” 

तीन सय ५३ मिटर सुरुङ खन्न बाँकी रहेको केसीले बताए । चार वर्षअघिदेखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण सुरु गरिएको थियो ।  पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमध्ये तीन सय ५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङमध्ये ७५ मिटर खनिएको छ । पिप्लेस्थित तेस्रो अडिटबाट सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघि नै ‘ब्रेक थ्रु’ भएको थियो । 

सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको सञ्चालक केसीले जानकारी दिए । उनका अनुसार पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो ।

 सर्ज साफ्टदेखि टप प्रेसर साफ्ट जोड्ने पाँच सय ४१ मिटरमध्ये ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर साफ्टदेखि भर्टिकल सर्ज साफ्ट जोड्ने एक सय ७१ र भर्टिकल प्रेसर साफ्टदेखि वटम प्रेसर साफ्ट जोड्ने तीन सय २९ मिटर सुरुङ यसअघि नै निर्माण भएको थियो ।  

राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताए । “आगामी सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ”, उनले भने, “सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको छ ।” 

बाँध निर्माणस्थलमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । एक सय १२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुलुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको विष्टले जानकारी दिए । १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । 

इलेक्ट्रो मेकानिकलसम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।

भारतीय आयातनिर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । 

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । 

विसं २०७४ मङ्सिरमा रू छ अर्बमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।


सर्वोच्च अदालतको विसं २०७८ असार २९ को आदेशपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन रोकिँदा आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतीका रुपमा देखिएको आयोजना कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप