सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कला

भिजन अनफोल्ड : थकित आँखाबाट काठमाडौँको दृश्य...

शनिबार, १२ फागुन २०८०, १९ : १३
शनिबार, १२ फागुन २०८०

यही फागुन ४ गतेदेखि कलाकार विजेन्द्र श्रेष्ठको ‘भिजन अनफोल्ड’ अर्थात् ‘दृष्टिको अभिव्यक्ति’ शीर्षकको एकल कला प्रदर्शनी गरियो, नेपाल आर्ट काउन्सिलमा । दुईदिने (फागुन ४–५) यस प्रदर्शनीमा निकै दर्शकको उपस्थिति रह्यो । पहिलो दिन दर्शकहरू समयमै आएर धैर्यका साथ कार्यक्रमको अवधिभरि बसिरहे, कलाको कार्यक्रममा यस्ता दृश्य (दर्शकको उपस्थिति र धैर्य) देखिनुलाई दुर्लभै मान्नुपर्छ । प्रबुद्ध वर्गको जमघट पनि यस कला प्रदर्शनीको अर्को सकारात्मक पक्ष रह्यो । 

यस प्रदर्शनीमा एउटा थप सन्दर्भ पनि गाँसिएको देखियो । कलाकार विजेन्द्रले यस प्रदर्शनीलाई ‘भिजन अनफोल्ड’ नाम दिएर कहीँ न कहीँ मान्छेको आँखासँग जोड्न खोजेका रहेछन् । विजेन्द्र आबद्ध आँखासम्बन्धी संस्था ‘रेटिना नेपाल’ यस प्रदर्शनीमा आबद्ध भएको थियो । कलाका बारेमा बोल्दै गर्दा वा कलाको एक प्रकारको माहोल भइरहेकै बेला कैयौँ आम दर्शक अगाडि आई यो संस्थालाई स्वस्फूर्त डोनेसन दिँदै गरेको दृश्य देखिन्थ्यो । यस संस्थालाई दश हजार डोनेसन दिनेलाई विजेन्द्रको चित्रको छापा–चित्र (कलाको प्रिन्ट फर्म) दिइने घोषणा भएको रहेछ । उनका मूल चित्र बिक्रीमा राखिएको भने थिएन । कलाको छलफल भइरहँदा ब्यानर टाँगिएको थिएन । आममान्छेको भिजन (दृष्टि)सँग कला प्रदर्शनी गाँसिनु, काठमाडौँका अनेकानेक सांस्कृतिक धरोहरका चित्रहरू प्रदर्शित हुनुले अलग्ग खालको अनुभूत गराउँथ्यो । 

  • विजेन्द्रका कला  

दृश्यचित्रलाई धुमिल पार्दै विजेन्द्रले एउटा अमूर्त चित्रकला तयार पारेका छन् । सर्वाङ्गमा पहेँलो रङले ढाकेपछि केन्द्रमा थोरै रातो, हरियो तथा सेतो रङको समायोजन गरिएको यो चित्र शान्त, स्निग्ध र हलचलबिनाको देखिन्छ । प्रदर्शनीभरि यही एउटा मात्र आकारविहीन कलाका रूपमा देखिन्छ । ‘ब्लुर’ नाम दिइएको यो चित्रलाई झट्ट नियाल्दा मठ–मन्दिर, सूर्य, रूख बादलको धुमिल परिदृश्य आभास हुन्छ । समग्रमा कला त्यति नै हो । १९औँ शताब्दीको अन्तअन्ततिर विश्व कला इतिहासमा दृश्यचित्रलाई धमिल्याउँदै अदृश्यता (अमूर्तताको सन्दर्भमा) पु¥याउने काम कलाकार फ्रेन्च कलाकार क्लाउड मोनेले गरेका थिए । प्रकाशले प्रकृतिमाथि प्रभाव पार्दा प्रकृति स्वयं फरकपनका साथ देखिन्छ । प्रकाशको प्रभावले एउटै वस्तु बिहान, दिउँसो र राति अलग–अलग देखिन्छ भन्ने सिद्धान्तमा आधारित भएर उनले यस्ता चित्र बनाएका थिए । चहकिलो घामको प्रभाव देखाउँदा उनका चित्र एक प्रकारले अमूर्त कलाझैँ देखिन्थे । यस्तो प्रभाव सन् १९१० ताकाका वासिली कान्डिस्कीद्वारा विकसित अमूर्त कलामा देखिन्थ्यो । 

कलाकार विजेन्द्रको यो आकारविहीन कला (अर्ध अमूर्तकला)मा रहेको आशय, लक्ष्य र व्याख्या नितान्त फरक छ । उनी भन्छन्, ‘मानिसको उमेर बढ्दै जाँदा आँखा कमजोर हुँदै जान्छ र दृष्टि बिग्रन्छ । यो कृतिले थकित आँखाबाट काठमाडौँको दृश्यको कल्पनालाई चित्रण गरेको छ । स्पष्टता हराउन थालेपछि काठमाडौँ कस्तो देखिन्छ भन्नेबारे यो चित्रले देखाउन खोजेको हो । मैले मन्दिरहरूको अस्पष्ट रूप र उपत्यकाभरि पाइने परिदृश्य चित्रण गरेको छु ।’ 

आँखा कमजोर हँुदै गएपछि देखिने दृश्यलाई चित्रमा परिकल्पना गर्नु आफैँमा अद्भुत छ । उद्घाटनकै बेला उपमेयर सुनिता डंगोलले एउटा सारगर्भित कुरा बोलेकी थिइन्— यो दियोको चित्र झट्ट हेर्दा सामान्य लाग्छ । तर यसको पृष्ठभूमिमा रहेको यथार्थ बुझिसकेपछि यसको महत्ता ह्वात्तै बढ्छ । कति बेला, कसरी, किन यो दियो बल्छ, बाल्नुपर्ने रहेछ भन्ने यसको लोकगाथा रहेछ । 

IMG_4043

चित्रमा आएको विषय वा पात्रको पृष्ठभूमि, त्यसप्रति कलाकारको सोच बुझेपछि त्यस चित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ । ‘काल भैरव’, ‘द ब्यालेन्स अफ पावर’, ‘तलेजु एन्ड देउ माजु’, ‘कालिया दमन’, ‘सोड अफ नलेज’, ‘गरुड’, ‘नखि गणध्यो’ आदि चित्रमा उनले धर्मगाथा र आफ्नो अनुभवलाई संयोजन गरेका छन् । काठमाडौँमा व्यवस्थित हुन नसकिरहेका यस्ता अनेकौँ मूर्तिहरू, मठ–मन्दिरहरू स्तुपा, विहार आदिमा उनले गहिरो चिन्ता राख्छन् । यस्ता ऐतिहासिक कला तथा सम्पदाहरूलाई संरक्षित गरिनुपर्छ भनी वकालत गर्दै आएका विजेन्द्रले खोज–खबर गर्दै जाँदा यी देवी–देवताका चित्र बनेका हुन् । 

‘नखि गणध्यो’ नामक चित्रमा खिइमा (नेवारी शुभ बाजा) माथि उभ्याएको चार हाते गणेश, घण्टहरूदेखि दियो; फूल, प्रसाद नैवेद्य आदिलाई प्रस्तुत गरिएको छ । विजेन्द्रका अनुसार, यी गणेश भगवानलाई यन्त्रको देवताका रूपमा पूजा गरिन्छ । काठमाडौँमा वास्ता नगरी त्यसै छाडिएका मूर्तिलाई चित्रमा ल्याएको उनको भनाइ छ । 

‘द ब्यालेन्स अफ पावर’ चित्रमा उनले तलेजु देवीसँग जोडिएको अदृश्य ऊर्जालाई ल्याउने कोसिस गरेका छन् । यस चित्रमा समुद्रको लहरमाथि सानो मन्दिर अनि यसैको पछाडि अझ विशाल मन्दिर दृश्यावलोकन हुन्छ । रातो र पहेँलो गरम रङसँग नितान्तविपरीत शीतल नीलो र कालो रङको समायोजन गरी प्रस्तुत गरिएको चित्र स्पष्ट र सरल छ । यस प्रकार पात्रहरूलाई छनोट गर्ने, संगठित गर्ने र प्रस्तुत तरिका नै उनको खास विशेषता हो ।   

व्यापारमा नयाँ प्रविधि भित्र्याउने प्रयास गरिरहने विजेन्द्र मूलतः व्यापारी नै हुन् ।  कालभैरव चित्रमा कालो तथाा हल्का रातो धर्काले शरीर र अनुहारलाई अलग्गाएको छ । शिरमा गरगहना उज्यालो र चम्किलो देखिन्छ । पहेँलो र रातो रङको प्रयोगले उनको ‘कलर–स्किम’ खुलेर देखापरेको छ । वास्तविक काल भैरवको मूर्तिचाहिँ धानको खेतमा पाइएको थियो, विशाल एउटै शिलामा बनेको भैरवको त्यस मूर्तिलाई राजा प्रताप मल्लले वसन्तपुरमा ल्याएर स्थापना गरेका हुन् भनिन्छ । यस चित्रमा उनले आँखीभौँ र मुख तथा जुँगालाई अजीव प्रकारले सिँगारेका छन् । अस्वाभाविक रूपमा रङको लेपनले गर्दा भाव र रस अलौकिक रूपमा दृश्यावलोकन हुन्छ । कलाकारले यही भावलाई ल्याउन गाढा कालो रङमाथि रातो रङको प्रयोग गरेका छन्, जसकारण भैरवको मुख अलिकति हँसाउने खालको देखिन्छ । 

‘द हिमालयन ट्रायल’ नामक दृश्यचित्रमा पहेँला डाँडाकाँडा, सेता हिमाल, हरिया र राता रूखपातले घेरिएको प्राकृतिक दृश्य ल्याइएको छ । यसले एउटा कल्पनाको संसार बोकेको जस्तो लाग्छ । सुनसान र शान्त वातावरणमा देखिने यो मनोरम परिदृश्यले भावकमा एक प्रकारले आनन्दाभूति सम्प्रेषण गर्छ नै । 

तुवाँलोले डम्मै ढाकेको अनि बिचोबिच एउटा सानो मन्दिर देखिने अर्को दृश्यचित्र छ । कला, संस्कृति र सम्पदामाथि अथाह प्रेम, चिन्तन र चासो राख्ने विजेन्द्रले मूलतः व्यापारी हुन् । उनले  भ्याइनभ्याई कला कोरिरहेका हुन्छन् । 

एकल कला प्रदर्शनीहरू घरीघरी गर्न सम्भव हुँदैन । कैयौँ वर्षमा एकचोटि गरिने यस्ता कला प्रदर्शनीलाई व्यवस्थापन गर्नु निकै जटिल काम पनि हो । यो प्रदर्शनी दुई दिन मात्रै गरियो, यसो हुँदा चाहेर पनि कति भावकले प्रदर्शनी हेर्न पाएनन् होला । त्यसमाथि कलाको स्वाद लिन र कलालाई परख गर्न समय चाहिन्छ । यसो हँुदा समय नै कम भएपछि अलिकता त खल्लो हुने नै भयो ।  

विजेन्द्र अति व्यस्त व्यापारी भएकाले उनको कलाकारिताबारे मैले त्यति सुनेको थिइनँ । फुर्सदका बेला चित्र कोरिहाल्ने उनलाई अर्का कलाकार नवीन जोशीले नियालिरहेका रहेछन् । नवीनकै पहलमा यो प्रदर्शनी गरिएको रहेछ । प्रदर्शन कक्षको तामझाम र खानपिनको व्यवस्थित बन्दोबस्तले गर्दा यो प्रदर्शनी एक खालको उत्सवजस्तो भएको थियो । यसअघि यस ठाउँमा यसरी कार्यक्रमको आयोजना भएको देखिएको थिएन ।  

 (मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप