मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
यौन स्वास्थ्य

नेपालमा अदृश्य महामारीको रूप लिँदै भिरिङ्गी

आइतबार, १३ फागुन २०८०, ०९ : २९
आइतबार, १३ फागुन २०८०

पछिल्लो समय युवाहरू विदेशिने क्रम तीव्र छ । यसमा पनि २० देखि २५ वर्ष उमेर समूहका बढी रहेका छन् ।  वैदेशिक रोजगारमा जाँदा स्वास्थ्य परीक्षण अनिवार्य सर्त हुने गर्दछ ।  स्वास्थ्य परीक्षणमा "भिरिङ्गी" परीक्षण पनि समावेश गरिएको हुन्छ । परीक्षणको नतिजाले युवाहरूमा "भिरिङ्गी" सङ्क्रमणको दर उच्च हुने गरेको देखाएको छ । 

तथ्याङ्क हेर्ने हो भने केही वर्ष यता सङ्क्रमणले निरन्तर तीव्रता पाइरहेको देखिन्छ । अधिकांश सङ्क्रमितले एक भन्दा बढीसँग सहवास/शारीरिक सम्पर्क हुने गरेको भन्ने गरेकाले विदेश जान खोज्ने मात्र होइन परीक्षणको दायरामा नआएका सङ्क्रमितको सङ्ख्या उच्च हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ । यद्यपि भिरिङ्गीले तत्काल स्वास्थ्यमा खासै जटिलता नदेखाउने भएकोले परीक्षण गर्ने गरिँदैन । यस्तो अवस्था हुनु/देखिनुमा ‘के युवामा यौन स्वास्थ्यसम्बन्धी जानकारी पर्याप्त नभएको वा नपुगेको हो ?’ अथवा ‘थाहा भएर पनि बेवास्ता गरिएको हो ?’ या ‘असुरक्षित यौन सम्पर्कले अरू यौनजन्य वा सरुवा रोगहरूको अवस्था वा जोखिम के/कस्तो/कति छ त?’ भन्ने जस्ता प्रश्नहरू खडा भएका छन् ।        

‘भिरिङ्गी’ ट्रिपोनेमा पालीडम नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ । यो सङ्क्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क वा मुखमैथुन वा गुदामैथुन गर्दा सर्ने गर्दछ ।  सङ्क्रमित आमाबाट नवजात शिशुमा पनि यो ब्याक्टेरिया सर्ने गर्दछ । सङ्क्रमण भएको औसतमा २१ दिन ( १० देखि ९० दिनसम्म) सम्ममा ‘भिरिङ्गी’ का लक्षणहरू देखिने गर्दछ ।  लक्षणको आधारमा ‘भिरिङ्गी’ लाई विशेषतः प्राइमरी, सेकेन्डरी र लेटेन्नट गरि तीन तहमा वर्गीकरण गरिएको हुन्छ  ।

समयमा यसको उपचार नगरिए सङ्क्रमणले निरन्तरता पाउने र रोगले ‘टरसरि भिरिङ्गी’ मा विकसित हुने वा प्रवेश गर्नेछ । यो अवस्था सिर्जना हुन सङ्क्रमण भएको झन्डै १० देखि ३० वर्ष लाग्ने गर्दछ । यो अवस्थामा बिरामीको नसा/ स्नायु प्रणाली, आँखा, मुटु, कलेजो, हड्डी आधिमा जटिलता निम्त्याउने गर्दछ । प्राइमरी ‘भिरिङ्गी’ मा विशेषतः ‘सयांक’ नामक घाउ देखिने गर्दछ ।  यो घाउ सामान्यतया गोलो र पीडारहित हुने गर्दछ । यसको उपचार गरे पनि नगरे पनि घाउ केही दिनमा हराएर जाने गर्दछ । उपचार नगरिए भिरिङ्गी सेकेन्डरी तहमा प्रवेश गर्दछ । यसमा विशेषतः हत्केला र खुट्टाको पैतालामा नचिलाउने बिबिराहरू देखिने गर्दछ ।  यस्ता बिबिराहरू पनि बिना उपचार हराएर जाने गर्दछ । 

यसपछि सङ्क्रमण लेटेन्नट तहमा प्रवेश गर्दछ । तर यो समयमा भने सामान्यतया कुनै लक्षणहरू देखिने गर्दैन । समग्रमा भन्नु पर्दा भिरिङ्गी हुँदा सुरुमा पीडारहित घाउ (विशेषतः गुप्ताङ्गमा), अनि बिबिरा (हत्केला र खुट्टाको पैतालामा) र फेरी लक्षणविहीन हुने गर्दछ ।  अस्पतालमा अधिकांशमा भिरिङ्गी पुष्टि हुने भनेको लेटेन्नट तहका सङ्क्रमितहरू हुन । यो पनि स्वास्थ्य समस्या देखिएर वा उपचार गर्ने उद्देश्यको कारणले पुष्टि हुने गरेको नभई कुनै कारणले अनिवार्य स्वास्थ्य जाँच गर्नु पर्ने हुँदा देखिएको हो ।  

उमेर समूहलाई हेर्ने हो भने भिरिङ्गीको पुष्टि अधिकांश युवा जमातमा भएको देखिन्छ ।  हुन त यसको अर्थ अरू उमेर समूहमा हुँदै नहुने भन्न खोजिएको भने होइन । तथ्याङ्क हेर्ने हो भने भिरिङ्गी पुष्टि हुने मध्येमा कम्तीमा आधा सङ्ख्या २५ वर्ष मुनिका देखिन्छन् भने यसमा पनि औसतमा २२ वर्षका (पुरुष तथा महिला दुवै) बढी सङ्क्रमित छन् । सन् २०१८ मा काठमाडौँमा गरिएको एक अध्ययनले पनि यौन रोगका सङ्क्रमितहरू अधिकांश २१ देखि २५ वर्षका भएका देखाएको थियो । अस्पताल आउने अधिकांश सङ्क्रमितहरूको दुई वा दुई भन्दा बढीसँग शारीरिक सम्पर्क हुने गरेको बताउने गरेका छन् ।  यसबाट समुदायमा भिरिङ्गीले भुसको आगो सरी महामारीको रूप लिँदै गई रहेको सहजै अनुमान गर्न सकिन्छ । 

सुदूरपश्चिमको एक जिल्लाको उच्च माध्यमिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमा गरिएको अध्ययनले यौनजन्य सरुवा रोगको बारेमा पर्याप्त जानकारी नभएको देखाएको थियो । विद्यालयहरूमा पर्याप्त यौन शिक्षाको आवश्यकता रहेको सो अध्ययनको निष्कर्ष थियो । सन् २०१८ मा काठमाडौँमा गरिएको एक अध्ययनले भने यौन रोगका अधिकांश सङ्क्रमितहरूले कन्डमको प्रयोग नगर्ने/नगरेको भन्ने देखाएको थियो । अर्थात् भिरिङ्गी व्यापक फैलनुमा एकभन्दा बढी व्यक्तिसँग हुने असुरक्षित शारीरिक सम्पर्क नै प्रमुख कारक रहेको देखिन्छ ।

त्यस्तै यौन बारेमा समाज विगतमा भन्दा बढी खुल्ला र उदार हुँदै जाँदा विवाह पूर्व वा पछि (अर्थात् मल्टी पार्टनर) हुने हुने शारीरिक सम्पर्क बढ्दै गएको तर सङ्क्रमण प्रतिको सजगतामा भने बेवास्ता हुँदा पनि भिरिङ्गीले व्यापकता पाएको देखिन्छ ।  

अन्तमा, भिरिङ्गीले नेपालमा अदृश्य महामारीको रूपमा व्यापकता र निरन्तरता पाइरहेको देखिन्छ । यसमा पनि २०-२२ वर्षका युवा पुस्ता (महिला तथा पुरुष दुवै) बढी सङ्क्रमित हुनु थप चिन्ताको विषय बनेको देखिन्छ ।  यसले भिरिङ्गी मात्र नभई थप अरू यौन तथा सरुवा रोगको जोखिम पनि उत्तिकै बढाएको देखिन्छ । चेतनामूलक कार्यक्रम, विद्यालय स्तरमा यौन सम्बन्धी खुल्ला बहस तथा नेपाल सरकारबाट ठोस योजना बन्नु/हुनु अति आवश्यक भैसकेको छ ।  तर यो भन्दा झनै महत्त्वपूर्ण भनेको शारीरिक सम्पर्क हुँदा बच्ने उपाय व्यवहारमा अपनाउनु सक्नु नै हो ।  

डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप