शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गाँजा र लोकल रक्सीसहित दर्जन विधेयक ल्याउँदै गण्डकी सरकार

शुक्रबार, १८ फागुन २०८०, १३ : ४२
शुक्रबार, १८ फागुन २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले चालू हिउँदे अधिवेशनमा दर्जन भन्दा बढी विधेयक ल्याउने तयारी गरेको छ । बुधवारदेखि अधिवेशन सुरु भएको छ । पहिलो दिन यसअघि संसदीय समितिमा छलफलका क्रममा रहेको आम सञ्चार विधेयक र बिउ बिजनसम्बन्धी विधेयक संशोधित प्रतिवेदन सहित संसदमा पेस गरिएको छ ।

पहिलो बैठकमा प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक पनि ‘टेबुल’ गरिएको छ । सडकसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ । यही अधिवेशनमा सरकारले जीवनाशक विषादी व्यवस्थापन विधेयक, साझेदारी फार्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउने बताएको छ ।

यस्तै, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, दलित सम्बन्धी विधेयक, खाद्य विधेयक, विद्युत् र जलश्रोत विधेयक ल्याउन तयारी भइरहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । उनकाअनुसार यही अधिवेशनमा घरेलु मदिरा नियमन र व्यवस्थापन विधेयक तथा गाँजा खेती गर्ने विधेयक पनि ल्याउन लागिएको छ ।

दुवै विधेयकको मस्यौदा सरकारले बनाइसकेको छ । यसमा सरोकारवाला र विज्ञहरूसँग छलफल गरिरहेको उनले बताए । ‘हिउँदे अधिवेशनमा सकेसम्म धेरै विधेयकहरू सरकारले ल्याउन लागिरहेको छ । केही विधेयकको मस्यौदा बनिसकेको छ, केही बाँकी छन्,’ उनले भने । स्थापनादेखि हालसम्म प्रदेशसभाबाट ६६ वटा ऐन पारित भैसकेको छ । थप ३८ वटा विधेयक सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने विवरण प्रदेश सरकारले निकालेको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप