शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जागिर खान यूएई गएका थिए विवेक, करोडौँको ‘राफ्फे’ साम्राज्यको  मालिक बने

शनिबार, १९ फागुन २०८०, ०९ : ४४
शनिबार, १९ फागुन २०८०

यूएई । झापाको दमकमा रहेको सामान्य परिवार । पढाइ, लेखाइ पनि मध्यम दर्जाको । यहीँ परिवारको छुट्टै व्यावसायिक दुनियाँको परिकल्पना गरिरहन्थे, विवेक सुवेदी । उनी हरदिन जसो आफ्नो नामको अगाडि 'सफल व्यवसायी'को ट्याग लगाउने परिकल्पनामा मग्न हुन्थे । 

तर, व्यवसायका लागि चाहिन्थ्यो– लगानी । विवेकसँग तीव्र इक्षाशक्ती र क्षमता हुँदाहुँदै पनि लगानीको अभाव थियो । त्यसैले त विवेक रोजगारीका लागि सन् २०१६ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । र, अहिले त्यहाँ उनले अहिले आफ्नै साम्राज्य खडा गरेका छन्। 

यूएईको दुबई मा ५/६ वर्ष रोजगारी गरेका सुवेदीले दुबई मा मुख्य कार्यालय स्थापना गरेर ‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरु गर्दै व्यवसायमा हात हालेका हुन्। अहिले त उनीसँग गोल्डेन भिषाको समेत सुविधा छ ।

वैदेशिक रोजगारीको सुरुवाती १-२ वर्ष उनले दुःख नगरेका होइनन् । फरक देश, अलग भाषा, त्यसमा पनि नेपाली भएर बनाइएको छविका बाबजुद सुरुवाती सङ्घर्ष कहिल्यै बिर्सिन नसक्ने बताउँछन् उनी । नभन्दै केही वर्षको सङ्घर्षपछि सुवेदीले रोजगारीमार्फत मासिक ६ हजार दिरामसम्म कमाई गर्न थाले । बिस्तारै उनको कमाइ बढ्न थाल्यो । दुबईको बजारलाई उनले नजिकबाट बुझ्न थाले । त्यसपछि उनले सोचे, अब अरूको जागिर मात्र होइन, आफै व्यवसाय सुरु गरेर अरूलाई रोजगार दिन्छु । 

किनकि उनी आफूलाई जागिरे मात्र सीमित राख्न चाहँदैन थिए ।  मेहनती स्वभावका सुवेदीले मासिक मोटो रकम कमाई गर्न थालेपछि घर खर्च पठाएर रकम जोगाउन थाले । परिवार पनि बुझ्ने खालको पाएकाले होला उनलाई व्यावसायिक जीवनमा हात हाल्न थप सहज भयो । अझ उनी त आफ्नो अहिलेसम्मको सफलताको श्रेय नै परिवारलाई दिन चाहन्छन् ।

करिब ४ वर्षसम्मको कमाइलाई थोरै–थोरै गरेर जोगाएपछि सन्२०२३ को फेब्रुअरीमा कम्पनी स्थापना गरे । नभन्दै उनी आफ्नै कम्पनीको मालिक बने । उनको पहिलो सपना साकार भयो ।

c902572c-852a-43cb-bb86-669905145c07

त्यसपछिको उनको सपना थियो, आफूजस्तै मेहनत गर्न चाहने सकेसम्म धेरैलाई रोजगारी दिने। उनले यो सपनालाई पछ्याइरहे । त्यसपछि दुबईलाई मुख्यालय बनाएर सुवेदीले स्काई ब्लिट्ज ट्रेडिङ एलएलसी स्थापना गरेका थिए । यो कम्पनीले स्थापनाको वर्षमा १५ मिलियन दिरामको व्यापार गरिसकेको छ । यही वर्ष सन् २०२४ मा स्थापनाको एक वर्ष पुग्यो । छोटो अवधिमा नै राफ्फे ब्राण्डका विद्युतीय सामाग्रीको व्यापार चम्कन थालेपछि भावी दिनमा थप विस्तारको योजना कम्पनीले बनाएको छ । 

आफ्नो माटोमा पनि व्यवसाय विस्तार गर्ने योजनाअनुरूप उनले झापाको दमकमा ‘राफ्फे रेष्टुरेन्ट एण्ड लञ्ज’ सञ्चालनमा ल्याएका छन् । यति मात्र होइन, यसलाई नेपालभर फैलाउने उनको योजना रहेको छ ।

राफ्फे नामको ब्राण्ड सुरु गरेर विद्युतीय सामाग्रीको बिक्री वितरण गर्दै आएका सुवेदीले चीनको फ्याक्ट्रमा उत्पादन गर्दै आइरहेका छन्। यो ब्राण्डमार्फत सुवेदीको कम्पनीले दुबईमा पावर बैंक, एडप्टर, डाटा केबल, स्पिकर, इयरफोन र एयरपड्स लगायतका वस्तु बिक्री वितरण गर्दै आइरहेको छ । हाल यूएई भरका ९०० स्टोरमा आफ्नो उपस्थिति देखाइसकेको कम्पनीले जानकारी दिएको छ । त्यसैकारण पनि उपभोक्ताहरू समेत आफ्नो कम्पनीबाट सन्तुष्ट रहेको सुवेदीले महसुस गरेका छन् । उनले उपभोक्ताको सन्तुष्टिलाई नै उर्जा मानेका छन् ।

सुरुको एक वर्षमा नै कम्पनीले ३० जनालाई रोजगारी दिएको छ । जसमध्ये १२ जना नेपाली रहेका छन्। सुवेदीलाई यत्तिमै मात्र सन्तुष्टि मिलिरहेको रहेनछ । रातोपाटीसँगको कुराकानीमा उनले सयौँ नेपालीहरूलाई रोजगारी दिने आफ्नो सपना अझै पूरा हुन बाँकी रहेको बताए ।

राजधानी अबुधावीमा कर्पोरेट कार्यालयको स्थापना गरिसकेको राफ्फेले अबको दुई वर्षभित्र सिङ्गो यूएईसहित गल्फ कन्ट्रीमा नै व्यवसाय विस्तारको योजना बनाएको छ । यस्तै, पहिलो वर्ष १५ मिलियनको व्यापार गरेको यो कम्पनीले सन् २०२४ मा ५० मिलियन दिरामको व्यापार लक्ष्य बनाएको छ ।

raffe

स्मार्टफोन, एप्पल, अमाजोन ब्राण्डका लागि नै वस्तु बिक्री वितरण गर्दै आइरहेको राफ्फेले भावी दिनमा आफ्नो व्यवसाय थप विस्तार गर्ने योजना बुनेको सुवेदीले बताए । नेपालमा पनि व्यवसाय विस्तारको योजना रहेको र त्यसका लागि केही वर्ष लाग्न सक्ने उनको भनाई छ । हालसम्म स्टोरबाटै बिक्री गर्दै आइरहेको यो ब्राण्डले भावी दिनमा अनलाइन व्यापारलाई समेत प्राथमिकता राख्ने बताइएको छ ।

वास्तवमै मेहनत र इच्छाशक्ति भएपछि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका विवेक अरूलाई पनि मेहनत गरिरहन र लक्ष्य पच्छ्याइरहन सुझाव दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप