शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय एक्स्पो आयोजना गर्दै चेम्बर

आइतबार, २० फागुन २०८०, १४ : ४६
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले फागुन २४ देखि २६ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना गर्ने भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ ।

क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवम् व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

साथै उक्त मेलामा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुनेछ । एक्स्पोमा नेपालमा रहेको रुसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउनेछन् ।

प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् । नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रूपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्ड लिङ्क तथा लोयल्टी पार्टनरका रूपमा अर्न सिक्क रहेका छन् ।

प्रदर्शनीमा अग्नि सुरक्षा उपकरणको सहयोग हिटको प्रालिले गर्ने भएको छ । एक्स्पोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहनेछन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस प्रालिले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप