आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारले दिन थाल्यो मासिक ५ हजार भत्ता

बुधबार, २३ फागुन २०८०, १६ : ३५
बुधबार, २३ फागुन २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई मासिक ५ हजार भत्ता दिन थालेको छ । वर्षमा जनही ६० हजार पर्ने गरी भत्ता दिन थालिएको सरकारले जनाएको छ ।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधवार पहिलोपटक भत्ता वितरण गरेका हुन् ।

सम्मानित हुनेहरुमा बाग्लुङकी भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध सँधै रहनुपर्ने र उनीहरुको योगदानलाई सरकारले सम्झनुपर्ने सुनाए । ‘हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले खोज्नुपर्छ,’ उनले भने, ‘स्रोत भएसम्म राज्यले सम्बोधन पनि गर्नुपर्छ । गण्डकीले त्यसकै सुरुवात गरेको हो ।’ 

अबदेखि निरन्तर भत्ता उपलब्ध गराउने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सूचीकृत भएका पाँच सय ९४ जना र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका एकसय जनाको स्वास्थ्य बिमा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप