आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता स्वार्थको दौडधुपले देशलाई कहाँ पुर्‍याउला ?

बिहीबार, २४ फागुन २०८०, १० : ०२
बिहीबार, २४ फागुन २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फागुन २३ गते नेपाल निवास कोटेश्वर पुगेको चर्चा छ । यता नयाँ गठबन्धन बनाएपछि नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार निवासमै पुगेका थिए । नेताहरूको राजनीतिक दौडधुप बाक्लिँदो देखिन्छ । सत्ता स्वार्थको राजनीतिले मुलुकलाई कहाँ पुयाउने हो, अहिले यसै भन्न सकिँदैन ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले सरकारको स्वरूपलाई पूर्णता दिन अझै सकेका छैनन् । योबिचमा धेरै राजनीति चलखेल हुन सक्ने नयाँ अड्कलबाजी पनि सुरु भइरहेको छ । कांग्रेसले रास्वपा, जसपा, राप्रपा र एकीकृत समाजवादीलाई साथ लिन सकेमा अहिलेको नयाँ गठबन्धन भत्किन सक्ने विश्लेषण पनि सुरु भएको छ । 

अर्कोतर्फ, नयाँ गठबन्धनमा सामेल भएका उपेन्द्र यादव पनि अन्योलमा देखिएका छन् । नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नयाँ गठबन्धन धेरै नटिक्ने र विकल्प तयार गर्न सक्रिय हुनुपर्ने धारणा नेताहरूले राखेका थिए । कांग्रेसले रास्वपा, राप्रपा, जसपा र एकीकृत समाजवादीलाई हात लिने कोसिस गरिरहेको छ । यो कुरामा सफल हुन्छ कि के हुन्छ, त्यो त हेर्दै जाने कुरा हो । राजनीति घटनाक्रम कतिखेर के हुन्छ, त्यो थाहा हुँदैन । अहिले भएको पनि त्यही हो । 

कांग्रेस–माओवादी गठबन्धनको सरकार एक वर्ष नपुग्दै यतिखेर एमाले, माओवादी, रास्वपा, जसपालगायत दल मिलेर सरकार त बनाएका छन् तर सरकाले पूर्णता पाइसकेको छैन । पछिल्लो विकसित घटनाक्रमले राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्याइदिएको छ । मुलुकमा राजनीति अस्थिरताका कारण कुनै पनि सरकार लामो समयसम्म टिक्न सकेका छैनन् । सत्ता स्वार्थका लागि दलहरू जे पनि गर्न तयार छन्, यो जनताप्रतिको अपमान हो । सत्ताका लागि जोसँग पनि मिल्ने र नीति, सिद्धान्त, विचार सबै बिर्सने बानीले दलहरूप्रति जनताको विश्वास घट्दै छ । आखिर सत्तामा गएपछि सबै दलको लेन–देन मिल्दो रहेछ । सत्तादेखि बाहिर रहँदा मात्र विरोध हुँदो रहेछ, यो सरासर जनता छक्काउने खेल रहेछ । विगतदेखि अहिलेसम्म राजनीति फोहोरी खेलमा परिणत भएको छ । जबसम्म राजनीति सफा हुँदैन, तबसम्म देशमा विकास हुँदैन । राजनीति भनेको नीतिमध्येको मूल नीति हो । मूल नीति नै फोहोरी भएपछि अरु के सफा हुन्छ ? आज राजनीतिप्रति नयाँ पुस्ताले त्यति चासो नदिनुको कारण पनि यही हो । यो फोहोरी राजनीति खेलले जनताको भविष्य बर्बाद भएको छ । मन्त्री परिषद् परिवर्तन भएर कोही खुसी छैनन् । किनभने यो देश र जनताको हितमा हुने कुरा होइन, यो त आलोपालो सरकारमा जाने र लुट्ने खेलो मात्र हो, अरु केही होइन । 

राजनीतिक दलहरूका कारण आज मुलुक गम्भीर संकटमा छ । देशको भविष्य डामाडोल भइरहेको छ । नेताहरू सत्ताको दौडधुपमा मात्र व्यस्त छन् । यो तरिकाले देशको भविष्य बनाउन सकिँदैन । देशप्रति इमानदार नेताहरू पाउनै मुस्किल परिरहेको छ, रास्वपा सरकारमा गएको छ । हिजोसम्म चर्का कुरा गर्दै हिँड्यो, आज ऊ सत्ताको दौडमा छ । यो पार्टीबाट जनताले अब थप आश के गर्ने ? त्यसो हो भने यो पार्टी पनि सत्ता स्वार्थी नै हो भनेर जनताले चिन्ने छन् । अहिले यो पार्टी सरकारमा गएको छ । किनकि सरकारमा गएर काम केही हुँदैन । काम नभएपछि जनता रिसाउनेछन् । त्यसैले भोलिको राजनीतिक भविष्य त्यति राम्रो हुने देखिँदैन । जनता रिसाए भने आउँदो चुनावमा समस्या हुनेछ । यो कुरा रास्वपा र तिनका नेताहरूले बुझेका छन् कि छैनन् ? राजनीतिमा जतिखेर पनि जे पनि हुन सक्छ, यो सत्य हो । अहिले भएको त्यही हो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा रहुन्जेल देशको राजनीति उनकै वरिपरि घुम्ने देखियो । संसद्मा तेस्रो दल रहेको पार्टीले पटकपटक सरकारको नेतृत्व गर्ने अवसर पाउनु चानचुने कुरा होइन, प्रचण्डको चतुर्‍याइँ र उनी कुशल राजनीतिक खेलाडी भएरै यस्तो सम्भव भएको हो । राजनीतिमा बेलाबेला उतार–चढाव आइरहन्छ, यो ठूलो कुरा होइन । आज जसरी राजनीति अघि बढिरहेको छ, जुन देश र जनताको पक्षमा छैन । सरकार बनाउने र गिराउने खेललाई राम्रो मान्न सकिँदैन । यसले देशमा ठुलो घाटा पुर्‍याइरहेको हुन्छ । स्वार्थी नेताका कारण देश बर्बाद भइरहेको छ । यो कुरा कसले बुझ्ने ? देश र जनताको भाग्य र भविष्य बनाउनेभन्दा पनि खालि सत्ता स्वार्थमा चुर्लुम्म डुब्ने जुन किसिमको राजनीति चरित्र देखिएको छ, यो वास्तवमा गलत छ । यसले मुलुकलाई डुबाइराखेको छ । 

सरकार परिवर्तन हुँदैमा देशको समस्या समाधान हुन सक्दैन । देशको समस्या समाधान गर्न दलहरू र तिनका नेताहरूको सोच, विचार र चिन्तन परिवर्तन हुन जरुरी छ । जबसम्म नेताहरूको सोच र चिन्तनमा परिवर्तन आउँदैन, तबसम्म यहाँ केही हुँदैन ।

राजनीतिक दल र तिनका नेता मुलुकप्रति गम्भीर बन्नुपर्ने देखिएको छ । सत्ता स्वार्थको राजनीतिमा अल्झिएर मुलुकको भविष्य बन्दैन । मुलुकको भविष्य बनाउन नेताहरू इमानदार बन्न सक्नुपर्छ, उल्टो–पाल्टो राजनीतिले देशलाई निकास दिन सक्दैन । आज देश अस्थिर राजनीतिमा रुमलिरहेको छ, यही अस्थिर राजनीतिले सत्ता बन्ने र ढल्ने काम भइरहेको छ, जुन देशको हितमा छँदै छैन ।

(लेखक संवाद क्लब नेपालका अध्यक्ष र खबरब्रेकिङ डटकमका प्रधानसम्पादक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आरपी गैरे
आरपी गैरे
लेखकबाट थप