आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सडक स्तरोन्नतिको माग गर्दै वडा अध्यक्ष भण्डारी आमरण अनशनमा

आइतबार, १६ वैशाख २०८१, ११ : ३५
आइतबार, १६ वैशाख २०८१

मकवानपुर । सडक स्तरोन्नति नगरेको भन्दै काभ्रे, पनौती नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले आइतबारदेखि आमरण अनशन थालेका छन् । 

पनौती–खोपासी सडक चौडा गरिएको लामो समयसम्म कालोपत्रे नगरिएको र पटक–पटक गुनासो गर्दा पनि बेवास्ता गरिएको उनको भनाइ छ ।

सडक स्तरोन्नतिका विषयमा नागरिकको गुनासो कुनै निकायबाट सुनुवाइ नभएको र निर्माणमा चासो नदेखाएको भन्दै सडक खण्डको रोशी खोला पुल छेउमा उनले आमरण अनशन थालेका हुन् ।

गत चैत २५ गते वडा कार्यालयमै पत्रकार सम्मेलन गर्दै भण्डारीले २१ दिनभित्र पनि सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित नगरे वैशाख १६ गतेबाट आमरण अनशन बस्ने चेतावनी दिएका थिए । अल्टिमेटम दिए अनुसार सडक स्तरोन्नतिका लागि पहल नभएपछि उनी आइतबारबाट अनशनमा बसेका हुन् ।

दबाबमुलक अनुरोधलाई समेत बेवास्ता गरी सुनुवाइ नभएपछि बाध्य भएर आमरण अनशनमा बस्नुपरेको भण्डारीले बताए । उनले नागरिकको हितका पक्षमा रहेको आफ्नो अभियानलाई ऐक्यवद्धता जनाउन अपिलसमेत गरेका छन् ।

कुनै किसिमको तलमाथि भएको खण्डमा त्यसको जिम्मेवारी तीनै तहको सरकार र सम्बद्ध निकायले लिनुपर्ने उनको चेतावनी छ ।

पनौतीदेखि क्लव घरसम्मको ४ किलोमिटर सडक कालोपत्रे नहुँदा स्थानीयले धुलो, हिलो सामना गर्दै आएका छन् । सडकको दुरावस्थाका कारण सार्वजनिक यातायात नियमित सञ्चालन हुन नसक्दा स्कुल, कलेजका विद्यार्थी थप मारमा परेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप