आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै इन्टर मियामीको सजिलो जित

आइतबार, १६ वैशाख २०८१, ११ : ४०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । अमेरिकी ब्यवसायिक लिग फुटबल प्रतियोगिता मेजर लिग सकर (एमएलएस) को पछिल्लो खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनसँग उनको क्लब इन्टर मियामीले सफलता हात पारेको छ ।  आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले न्यु इङ्ल्यान्ड रिभोलुसनलाई उसैको घरेलु मैदानमा ४–१ गोलको फराकिलो अन्तरले पराजयको स्वाद चखाएको हो । 

इन्टर मियामीको जितमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरे ।  खेलमा सुरुआती अग्रता भने घरेलु टोली न्यु इङ्ल्यान्डले लिएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै न्यु इङ्ल्यान्डका लागि टोमस चान्कालीले गोल गरेका थिए । निर्धारित समयको ३२ औँ मिनेटमा मेस्सीले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । 

निर्धारित समयको ६७ औँ मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले नै अर्को गोल थप्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३औँ मिनेटमा इन्टर मियामीका लागि बेन्जामिन क्रेमास्चीले तेस्रो गोल गरेका थिए । बेन्जामिनलाई गोलका लागि मेस्सीले नै पास उपलब्ध गराएका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि इन्टर मियामीका लागि लुइस स्वारेजले चौथो गोल गरेका थिए । लुइस स्वारेजलाई पनि गोलका लागि मेस्सीले नै पास उपलब्ध गराएका थिए । इन्टर मियामी एमएलएस तालिकाको पहिलो स्थानमा आसिन छ । 

इन्टर मियामीले ११ खेलबाट २१ अंक बटुलेको छ । जारी सिजनको लिगमा इन्टर मियामीले ६ जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ । न्यु इङ्ल्यान्ड भने नौ खेलबाट चार अंक बटुल्दै तालिकाको १५ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप