शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कोर टिम

प्रधानमन्त्रीको ‘कोर टिम’मा को को छन् ?

प्रमुख राजनीतिक सल्लाहकार अझै नियुक्त भएनन्
आइतबार, २७ फागुन २०८०, २० : १५
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । आफ्नो तेस्रो कार्यकालमा पटकपटक गठबन्धन फेरेर चर्चा बटुलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय स्वकीय सचिवालयको आकार सानो बनाएका छन् । माघ १ गतेदेखि लागु हुने गरी उनले सानो आकारको सचिवालय बनाएका हुन् ।

प्रचण्डको निर्देशन बमोजिम सचिवालय सानो र चुस्त बनाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दराईले बताए । ‘प्रधानमन्त्रीको सचिवालय सानो र चुस्त बनाइएको छ । यसअघि जिम्मेवारी मुक्त भएकाहरूको ठाउँमा कोही नियुक्त भएका छैनन् । सुरक्षा, आर्थिक र प्रशासनमा अहिलेसम्म प्रधानमन्त्रीले कसैलाई नियुक्त गर्नुभएको छैन’, उनले भने ।

सचिवालयमा यसअघि ३५ जना थिए । तीमध्ये १३ जनालाई पुस २४ गते जिम्मेवारीमुक्त गरिएको थियो । सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक छन् । तीमध्ये प्रेस संयोजक नारायणप्रसाद ढुंगानाको ठाउँमा राससमा कार्यरत हरि लामिछानेलाई ल्याइएको छ । त्यस्तै फोटोग्राफर प्रदीपराज वन्तको ठाउँमा रत्न श्रेष्ठलाई नियुक्त गरिएको छ ।

  • को को छन् प्रधानमन्त्रीको कोर टिममा ?

चालिस जनाको दरबन्दी रहेको सचिवालयमा प्रधानमन्त्री प्रचण्डले सुरुवाती चरणमा ३५ जनालाई नियुक्त गरेका थिए । अहिले प्रधानमन्त्रीको सचिवालयमा १७ जनामात्र कार्यरत छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मङ्सिर २० गते नै राजीनामा दिइसकेका छन् । मन्त्रीसरह सेवासुविधा दिएर गजुरेललाई गत वर्ष माघमा प्रचण्डले नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयमा गोविन्दप्रसाद आचार्य प्रेस सल्लाहकार, देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार, रामदीप आचार्य प्रशासन सल्लाहकार, डा.रूपक सापकोटा परराष्ट्र सल्लाहकारमा नियुक्त भएका थिए । उनीहरूलाई राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने गरी नियुक्त गरिएको हो । तीमध्ये देवेन्द्र र रामदीप अहिले पार्टीको जिम्मेवारीमा फर्किएका छन् । प्रधानमन्त्रीले सुरक्षा र आर्थिक सल्लाहकार अहिलेसम्म नियुक्त गरेका छैनन् ।

यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवमा सन्तु दराई छन् । उनले नेपाल सरकारका मुख्यसचिव सरह सेवासुविधा पाउँछन् । सचिवालयका टिम व्यवस्थापनको जिम्मेवारी दराईले पाएका छन् ।

यस्तै स्वकीय सचिवमा प्रचण्ड पुत्री गंगा दाहाल र रमेश मल्ल छन् । गंगालाई आन्तरिक व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने रमेशलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीसँग भेटघाटको चाँजो मिलाउने जिम्मेवारी मल्लले पाएका छन् । स्वकीय सचिवले सरकारका सचिवसरह सेवा सुविधा पाएका छन् ।

प्रेस विज्ञका रूपमा नियुक्त भएका मनहरि तिमिल्सिनालाई स्क्रिप्ट लेखनको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा खटाइएका शिव खकुरेललाई योजना तथा केन्द्रीय कार्यालयको जिम्मेवारी दिइएको छ । गोकर्णप्रसाद भट्ट र बुद्धि बहादुर घर्तीले सहसचिव सरह सेवासुविधा लिएका छन् ।

यीबाहेक प्रचण्डले राष्ट्रिय राजनीति र पार्टीको योजना बनाउन आफू अनुकूल नेताहरूको सहयोग लिने गरेका छन् । कृष्णबहादुर महरा राजनीतिमा कमजोर हुँदै गएपछि प्रचण्डले पछिल्लो समय उपमहासचिव वर्षमान पुनलाई विश्वास गरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग समेत प्रधानमन्त्रीले महत्त्वपूर्ण विषयमा सल्लाह लिने गरेको एक पदाधिकारीले बताए । आवश्यकता अनुसार प्रचण्डले महासचिव देव गुरुङ र उपमहासचिवसम्मको सल्लाह लिने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप