बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लेन्डुप दोर्जे प्रवृत्तिको ‘बौलाहा राष्ट्रवाद’

बुधबार, ३० फागुन २०८०, १३ : ०३
बुधबार, ३० फागुन २०८०

दक्षिण एसियाली राष्ट्रिय आत्मसमर्पणवादको इतिहासमा एउटा स्थापित कथा छ । कथा भन्छ— स्वतन्त्र सिक्किमका प्रधानमन्त्री लेन्डुप दोर्जे दिल्ली धाउने गर्थे । सिक्किमलाई भारतमा विलय गराउन प्रधानमन्त्री इन्दिरा गान्धी अनेक दाउपेच बुनिरहेकी थिइन् । त्यसका लागि दिल्लीमा लेन्डुप दोर्जेलाई स्वागत–सम्मानको कुनै कसर बाँकी राख्दिनथिन् । पटक–पटक भव्यतम् सम्मानबाट लेन्डुप दोर्जे अत्यन्तै मक्ख परिरहेका हुन्थे । इन्दिरालाई लेन्डुपले ‘महारानी साहेब !’  सम्बोधन गर्थे । 

जब सिक्किम विलय भयो, लगत्तै लेन्डुप दोर्जे प्रधानमन्त्री निवास दिल्ली पुगे र द्वारपालेलाई भने— म लेन्डुप दोर्जे, महारानीलाई भेट्न आएको । पालेले इन्दिराकहाँ खबर पुर्‍यायो तर इन्दिरा गान्धीले भनिन रे, ‘देश बेचुवा गद्दारसँग भेट्नु छैन मैले ।’

यो थियो, करिब ५० वर्षअघिको घटना । लेन्डुप दोर्जे भोटियाको राष्ट्रिय आत्मसमर्पणवादी गद्दार प्रवृत्ति, त्यसको नियति र दर्दनाक अवसान । 

पूर्वी नेपालमा जब पहिचान आन्दोलनको नेतृत्वदायी संस्था ‘प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति’ले आन्दोलनको रक्षा र विकासका खातिर तेस्रो जनआन्दोलन पहल कार्यादेश अघि बढायो, जिम्मेवार सदस्यले आफूहरूजस्तै विचार बोकेका देशव्यापी शक्ति र व्यक्तिहरूसँगको प्रतिनिधित्वमा मार्गदर्शन भेलाद्वारा जब ‘तेस्रो जनआन्दोलन तयारी समिति’ गठन घोषणा गरे, तब छरप्रस्टै सतहमा देखापर्न थाले, नेपाली नागरिकताको प्रमाणपत्र बोकेका लेन्डुप दोर्जेहरू र भन्न थाले— बौलाहा राष्ट्रवाद जिन्दावाद !

सर्वप्रथम तिनीहरू इलाम २ उपनिर्वाचनमा कथित उम्मेदवारी घोषणा प्रचारले स्वयं किनाराकृत बने । कारण, ‘प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति’ले पहिचानवादी साझा उम्मेदवारमार्फत इलाम २ मा भाग लिने निर्णयअगावै सार्वजनिक गरिसकेको हो । संघर्ष समितिको संस्थागत निर्णयविरुद्ध कायरतापूर्वक उम्मेदवारी घोषणाले लेन्डुप दोर्जेहरू पहिचानवादी आन्दोलनका शत्रु कित्तामा दरिए नै, साथै तिनीहरूको आन्द्राभुँडी भारुवादसँग जोडिएको तथ्य पनि खुल्न आयो । अतः तिनीहरूले पहरामा कुइना ठोकाउने जघन्य गल्ती मात्र गरेनन्, बरु लेन्डुप दोर्जेका सतही अवतारमा आफूलाई नाङ्गेझार समेत तुल्याउन पुगे । वास्तवमा अध्याय समाप्त भएको हो । 

परन्तु, देशभक्त पहिचान पक्षधर आदिवासी तथा प्रगतिशील जनसमुदायमाझ विषय निरूपण शल्यक्रिया अवश्य जरुरी छ । जसका निमित्त यो आलेख लेखिएको हो । 

  • गोज्याङ्ग्रे दलालहरूको भद्दा राजनीति

विश्वसनीय स्रोतका अनुसार, ‘बौलाहा राष्ट्रवादी’हरूको सिद्धान्त रहेछ, ब्राह्मणहरूले भारतको सहयोग लिएरै नेपालमा राज्याधिकार मच्चाएका छन् भने आदिवासी जनजातिले पनि किन त्यसो नगर्ने ? आखिर अन्तर्राष्ट्रिय सहयोग र धनराशिबिना सकिँदैन नै ! यसरी तिनको सक्कली सिद्धान्त भारुवाद बन्न पुगेको प्रस्ट बुझिन्छ । परिणाममा, टीकापुरमा उत्तेजक भाषण गरेर रक्तपात मच्चाउँदै रेशम चौधरीहरूलाई फसाउने तर हत्याकाण्ड घटेपछि किञ्चित रक्षा गर्न नसक्ने; अदालतमा नागरिकता मुद्दा खेपिरहेका र आश्चर्यको कुरा त छोराले भन्दा १० वर्षपछि मात्र उनका बाउले नेपाली नागरिकता लिएका समाचार पढिन्छन् । त्यस्तो व्यक्तिलाई नेता मानेर राष्ट्रिय मुक्ति क्रान्तिको वाहियात धक्कु लगाउनेहरू गोज्याङ्ग्रे दलालबाहेक अरु हुनै सक्दैनन् । 

‘बौलाहा राष्ट्रवादी’हरूको सिद्धान्त रहेछ, ब्राह्मणहरूले भारतको सहयोग लिएरै नेपालमा राज्याधिकार मच्चाएका छन् भने आदिवासी जनजातिले पनि किन त्यसो नगर्ने ? आखिर अन्तर्राष्ट्रिय सहयोग र धनराशिबिना सकिँदैन नै ! यसरी तिनको सक्कली सिद्धान्त भारुवाद बन्न पुगेको प्रस्ट बुझिन्छ ।

अर्को उदाहरण गोरेबहादुर खपाङ्गीको लिनु उपयुक्त होला । खपाङ्गीको आन्तरिक कार्यदिशा थियो— राजा र बाहुन मिलेर जनजातिलाई दमन गरे; अब जनजातिहरू दरबार पसेर बाहुनलाई बाहिर निकाल्नुपर्छ र राजासँग मिलेर जनजातिले शासन गर्नुपर्छ । २०४८ सालतिरको त्यस बहस प्रतिवादमा हामीले भनेका थियौँ, त्यो सम्भव छैन । किनकि हिन्दु राजाको दरबारमा ब्राह्मणको जुन स्थान छ, जनजातिलाई त्यो कसरी प्राप्त हुन्छ ? अन्ततः गोरेबहादुरहरू दरबारमा मिल्न गए र सकिए पनि । 

सोलुखुम्बुका एक सरकारी अधिकृत, जसको ससुराली खोटाङतिर थियो । ती पुरुष सोलुमा अचाक्ली नै अरु केटीतिर लाग्ने बदमास थिए रे । त्यसैले उनकी श्रीमती जब माइत जान्थिन्, माइती गाउँका दर्जनौँ केटाहरूसित जानाजान लसपस गर्थिन् रे । कारण, मौका पाउँदा बुढाको बदला लिएको रे । 

ती चिनेकै भाउजू पर्थिन् । जैविक र मानसिक रूपमा त उनलाई आनन्दै भयो होला तर सामाजिक, पारिवारिक अनि नैतिक रूपमा के भयो होला ? थोरै मात्र बुद्धि राख्छन् भने भारुवादी जनजातिले पुनर्विचार अवश्य गरून् । मौका पाउँदा त्यसरी बुढाको बदला लिने ती मानिसको स्तरबाट माथि उठ्न सकून् । किनभने, जन्मसिद्ध नागरिकताका आधारमा आजसम्म ती दलाल पनि नेपाली हुन् । त्यसैले कामना गरौँ, हद दर्जाको भद्दा राजनीतिबाट तिनले बच्न सकून् । 

  • कस्तो राष्ट्रिय मुक्ति क्रान्ति ?

भारुवादीहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा दिन खोजेको सुनिन्छ तर त्यसको आयामबारे तिनले जनतालाई प्रस्ट बताएका छैनन्; सम्भवतः बताउन सक्ने पनि छैनन् । 

नेपालजस्तो बहुराष्ट्रिय मुलुकमा डा. सन यात्सेनका अनुसार राष्ट्रियताको दोहोरो सिद्धान्त अख्तियार गर्नुपर्छ । त्यो भनेको बाह्य र आन्तरिक राष्ट्रियताको सिद्धान्त हो । बाह्य राष्ट्रियताको मात्र तरफदारीले आन्तरिक राष्ट्रिय समुदायमाथिको उत्पीडन यथावत राख्छ भने आन्तरिक राष्ट्रियताको मात्र तरफदारीले जान–अन्जान बाह्य साम्राज्यवादको दलालीकरणमा पुर्‍याउँछ । तब नेपालजस्तो बहुजातीय मुलुकमा राष्ट्रिय मुक्ति आन्दोलनको प्रश्न बाह्य र आन्तरिक राष्ट्रिय मुक्तिबिच समायोजन आन्दोलन मात्र हो । प्रश्न उठ्छ, ती महासयको राष्ट्रिय मुक्तिक्रान्तिको आयाम, स्वरूप र चरित्र के हो ?

तिनले भनेको राष्ट्रिय मुक्ति बाह्य अर्थात् नेपालको राष्ट्रिय मुक्ति हो कि मधेसी र जनजातिको मात्र आन्तरिक मुक्ति हो ? समायोजित राष्ट्रिय मुक्ति के हो ? तिनले सार्वजनिक गरेको कागजमा कहीँ कतै उल्लेख छैन, किन ? किनभने, व्यवहारले स्पष्ट गरिरहेको छ , तिनीहरू आदिवासी तथा प्रगतिशील जनताको न्यायपूर्ण आन्दोलन भाँड्न मात्र देखापरेका हुन्, न कि जिम्मेवार समाधान खोज्न । 

मानिसहरू भनिरहेछन्— खड्गप्रसाद ओलीको मध्यपहाडी लोकमार्ग अभियान वस्तुतः पूर्वमा जारी पहिचान आन्दोलनविरुद्ध केन्द्रित थियो । निजको मनोविज्ञान र बोलीले नै प्रमाणित गर्छ, ‘‘बौलाहा राष्ट्रवादी’’ नेता राजेन्द्र महतो भारतीय छोरा र ओलीका प्यारा हुन् । त्यसैले महतोले जसपा फुटाएर पनि संवैधानिक प्रतिगमनका बखत ओलीलाई काँध हालिरहेका थिए । फलस्वरूप नेपाल देशको आन्तरिक राजनीतिमा हात हाल्न भारतीय लगानी र पहिचान आन्दोलनमा भाँडभैलो मच्चाउन ओली प्रायोजित प्रहसन हो, राजेन्द्र महतोहरूको । तर भनिसकियो, ती स्वयं अत्यन्तै नाङ्गेझार बनिसके । 

भारतीय छापाको भँगेरे अक्षरमा कसैले कसैलाई सर्वोच्च नेता, दार्शनिक वा क्रान्तिकारी भनेर लेखिदिँदा जनताको मुक्ति हुने भए कास्मिरको विशेष स्वायत्तता खोसिँदैनथ्यो होला कि ? मणिपुरका आदिवासी महिलालाई जिउँदै सडकमा जलाइँदैनथ्यो होला कि ? अनि गोर्खाल्यान्डको माग विलखबन्दमा पर्दैनथ्यो कि ? चिन्ता छ, गम्भीरतापूर्वक विचार नगरे भारुवादको दलालीकरण अभियोगबाट ती महासयहरू कसरी मुक्त होलान् ? जो स्वयं मुक्त छैन, उसले कसरी मुक्ति क्रान्तिको अगुवाइ गर्दो हो ! राजनीतिशास्त्रको यति सामान्य ज्ञान पनि नभएकाहरूको पछि लाग्नेहरूलाई के भनौँ ? जुम्रे अवसरवादी भनौँ ?

  • आफ्ना छिमेकीसँग भारतको रबैया

गणतन्त्र नेपालको प्रथम संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री रहँदा २०६५ मा पशुपतिबाट भारतीय भट्टहरूलाई निष्कासन गरेर त्यहाँ नेपाली ब्राह्मण भट्ट नियुक्ति तथा सोलुखुम्बुमा राकेश सुदलाई जुत्ता प्रहारको पृष्ठभूमिमा हामीले पुनः मन्त्री बन्नुपर्‍यो । २०६८ मा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद थिए । वास्तवमा जयन्तजी शतप्रतिशत कूटनीतिक व्यवहारका परिपक्व राजदूत थिए । 

नेपालमा ब्राह्मणसँग बराबर व्यवहार गर्न सक्नेले मात्र छिमेकीसँग स्वाभिमानपूर्वक व्यवहार गर्न सक्छ । अन्यथा तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेनछ भने सार्वजनिक घोषणै गरिन्छ— चार दशक लामो राजनीतिक जीवन तत्काल समापन गर्न यो पंक्तिकार यसैसाथ वचनबद्ध छ ।

छिमेकी हो, व्यवहार गर्नैपर्‍यो । पशुपतिमा केही र खासगरी लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण प्रयासका निमित्त जयन्त प्रसादजीसँग नजिकबाट सहकार्य गरियो । चैत २०६८ को कुरा हो, हाम्रो मन्त्रालयमा उनैसँग थियौँ, आकस्मिक भारी वर्षात् पर्‍यो । चिया पिउँदै मन्त्रालयमा रोकियौँ । मुख्य छलफल सकिसकेको थियो । अचानक उनले गज्जबको जिज्ञासा राखिदिए, ‘मन्त्रीजीलाई थाहा हुनुपर्छ, नेपाली जनता भारतसित किन आक्रोशित हुने गर्छन् ?’

श्वास नरोकीकन किनकि त्यो हाम्रा लागि ज्यादै सुवर्ण मौका थियो, बोल्न थाल्यौँ र हामीले भन्यौँ, ‘त्यसमा भारतीय संस्थापनको रबैया जिम्मेवार छ । जस्तो ः छिमेकी पाकिस्तानसँग तपाईंले एक अर्काप्रति क्षेप्यास्त्र सोझ्याएर बस्नुपरेको छ; श्रीलङ्काको छापामार आएर तपाईंको प्रधानमन्त्रीलाई बमले उडाउँछन् । बंगलादेश, माल्दिप्स र भुटानसँग पनि तपाईंको समन्ध सुमधुर छैन ।’

टुंग्याउनीमा हामीले भन्यौँ, ‘उत्तर छिमेकी चीनको १३ मुलुकसँग अन्तर्राष्ट्रिय सीमाना जोडिएको छ, भारतबाहेक सबैसँग उसको सौहार्द्र सम्बन्ध छ । नेपाली त आक्रोशित मात्र छन् । त्यसैले समस्या भारतीय संस्थापनको हो, न कि नेपालको । वास्तवमा तपाईंहरूले छिमेक नीति र व्यवहारमा गुणात्मक सुधार तत्काल गर्नुपर्छ । अन्यथा घटना बढ्न सक्छन् ।’

राजदूत मौन थिए । सम्भवतः उनलाई आफ्नो जिज्ञासा प्रत्युत्पादक पनि लाग्यो होला । हामीले भने जायज प्रश्नका लागि उनलाई हार्दिक धन्यवाद दिँदै फटाफट आफ्नो कुरा राख्यौँ । प्रस्ट छ, राजकीय जिम्मेवारीमा बसेको मानिसले कूटनीतिक मर्यादामा रहेर छिमेकीसँग सिधै नेपालको कुरा बोल्नुपर्छ । असल छिमेकी तिनलाई पनि चाहिने हुन्छ, थोरै हामीलाई मात्र हो र ?

परन्तु, त्यो केही उदार कांग्रेस आईको सरकारको समय थियो । त्यसपछि त ब्वाँसोझैँ झम्टने भाजपाको दरिद्र समय थोपिएको स्थिति छ । त्यसैले भन्नुपर्छ, आफ्नो गृहनीति सुदृढ नगरी कोही नेपाली जब भारतीयसमक्ष हात पसार्न पुग्छ, उसको हालत लेन्डुप दोर्जेको भन्दा फरक हुनेवाला छैन । सुरुमा तिनले आश्वासन बोल्लान्, ‘आप के नेपाल मे कोशी, बागमती, गण्डकी जैसा प्रदेश नामों को खारिज के लिए हम् मुहिम छेंड्देङ्गे ।’ तर, कोही जब भारुवादको दलदलमा फस्दै जान्छ । अलिक पर बिचतिर पुगेपछि तिनलाई अवश्य भन्नेछन्, ‘पहेले नेपाल मे हिन्दू राज्य को रेस्टोरेसन के लिए आन्दोलन करो, नही तो और कुछ नही हो सकता हैं ।’

त्यो नियति स्वीकार गर्ने कुनै नेपाली लेन्डुप दोर्जेभन्दा कुन मानेमा फरक देखिएला ? ‘बौलाहा राष्ट्रवादी’ले जवाफ दिनैपर्छ । 

  • तयारी समितिको दृष्टिकोण

पहिलो कुरा, प्रदेश १ पुनःनामाङ्कन संघर्ष समितिको नीतिगत कार्यादेशमा गठित ‘तेस्रो जनआन्दोलन राष्ट्रिय भेला तयारी समिति’ले आधारभूत रूपमा बहुराष्ट्रिय पहिचानसहितको समाजवादी लोकतन्त्र चाहन्छ । नेपालको संविधानमा व्यक्त वर्गीय, जातीय, भाषिक, सांस्कृतिक, लैङ्गिक उत्पीडन अन्त्य गर्ने गरी राज्यको अग्रगामी पुनर्संरचनाको माग दृढतापूर्वक दोहोर्‍याउँछ । 

साथै, प्रदेश १ पुनःनामाङ्कन संघर्ष समितिको विरोधमा जो कसैको कुनै पनि गतिविधि तेस्रो जनआन्दोलन तयारी समितिका लागि सह्य हुन सक्दैन । किनकि यस संघर्ष समितिको नाम सहिद लाजेहाङ लिम्बुको रगतले लेखिएको छ, गजेन्द्र फागोलगायत सयौँ घाइतेहरूको सपना यसैमा उनिएको छ । हजारौँ, लाखौँ उत्पीडित जनताको भविष्य यसै सङ्घर्ष समितिमा जोडिएको छ । तब तेस्रो जनआन्दोलन तयारीको जिम्मा लिएर अघि बढिरहेको समिति कसरी मौन बस्न मिल्छ ?

छिमेकी साट्न मिल्दैन र चीन–भारतसँग सहकार्य गर्नैपर्छ भन्ने कुरा तयारी समितिको संज्ञानमा प्रस्ट छ तर गृहनीतिको विस्तार विदेशनीति हो न कि विदेशनीतिको विस्तार गृहनीति भन्नेमा त्यत्तिकै दृढ छ । इतिहासका निर्माता जनसमुदाय हुन्, मान्यतामा प्रतिबद्ध तयारी समिति कुनै वैदेशिक गुटको सहयोगको अभावमा आकाशबाट खसिन्छ भन्ने किमार्थ सोच्दैन । अथवा सर्वप्रथम सार्वभौम गृहशक्ति निर्माणमा जोड दिन्छ, त्यसपछि मात्र बाह्य सम्बन्ध स्वाभाविक ठान्छ । किनकि हामीलाई थाहा छ, नेपालका ब्राह्मणभन्दा तीन गुणा कठोर छन् भारतीयहरू र भारतीयभन्दा तीन गुणा कठोर छन् चिनियाँहरू; पश्चिमा साम्राज्यवादीको त कुरै नगरौँ । यसको अर्थ ब्राह्मणवादको समर्थन किमार्थ होइन, त्यस्तो हुनै सक्दैन । बरु अनुभवका आधारमा भन्न खोजिएको यथार्थ हो; नेपालमा ब्राह्मणसँग बराबर व्यवहार गर्न सक्नेले मात्र छिमेकीसँग स्वाभिमानपूर्वक व्यवहार गर्न सक्छ । अन्यथा तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेनछ भने सार्वजनिक घोषणै गरिन्छ— चार दशक लामो राजनीतिक जीवन तत्काल समापन गर्न यो पंक्तिकार यसैसाथ वचनबद्ध छ । 

गणतन्त्र नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र सामुदायिक जनजीवनमा आँच नपुर्‍याउने सुनिश्चितताको दुई छिमेकी सम्बन्ध तयारी समितिका लागि आम दृष्टिकोण हो । कसैले दायाँबायाँ गरे दलालहरूलाई दलाल भनी भण्डाफोर गर्ने नैतिक हक खोसिने कुराप्रति यो समिति शतप्रतिशत सचेत छ र रहन्छ । किनभने यही उद्देश्य र आवश्यकताले बनेको साझा संगठन हो यो । 

अन्त्यमा, पाटनका एक चर्चित नेवार मित्रसँग भर्खरै भेट भएथ्यो । प्रसङ्गवश ठ्याक्कै सोधी हाले– किरातीजी ! फलानाहरूको त्यो बौलाहा राष्ट्रवाद भनेको के हो ? भन्दिनुस् त ! गम खाइयो, के हो त बौलाहा राष्ट्रवाद भनेको ! कुरा बुझ्दै जाँदा राजेन्द्र महतोहरूको बहुल राष्ट्रवादलाई ती मित्रले बौलाहा राष्ट्रवाद भनी बुझेका र भनेका रहेछन् । जसलाई उनको जिब्रोले त्यसरी व्यक्त गरेको रहेछ । समग्रमा जाँच–पडताल गर्दा ती मित्रको उच्चारण स्वाभाविक नै लाग्यो र प्रस्तुत आलेखको शीर्षक पनि सो बमोजिमकै राखियो । 

(लेख किराती तेस्रो जनआन्दोलन तयारी संयोजक तथा पूर्वमन्त्री हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल किराती
गोपाल किराती
लेखकबाट थप