भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते

जालन्धर । भारतको पञ्जाब प्रान्तको भटिन्डा जिल्लाको अकालिया कन्ला गाउँमा रहेको गहुँको खेतमा बुधबार (७ मे) राति एउटा अज्ञात विमान दुर्घटनाग्रस्त भएको छ ।
विमान दुर्घटनाका कारण एक स्थानीयको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।
घाइतेहरूको भटिन्डाकै जिल्ला अस्पतालमा उपचार भइरहेको द वायरले उल्लेख गरेको छ । हालसम्म दुर्घटना वा विमानबारे कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । भारतको रक्षा मन्त्रालय, भारतीय वायु सेना तथा भारतीय सेनाले हालसम्म दुर्घटनाबारे कुनै पनि विज्ञप्ति सार्वजनिक गरेका छैनन् ।
जबकि, दुर्घटनास्थललाई रक्षा अधिकारी तथा सुरक्षा एजेन्सीहरूले सिल गरिसकेका छन् । यो दुर्घटना गत राति १ बजेर ३० मिनेटमा भएको थियो । यो समय भारतले पाकिस्तानविरुद्ध चलाएको ‘अपरेसन सिन्दूर’ को समयसँग जुध्न जान्छ ।
पाकिस्तानले भारतको पाँच लडाकु विमान खसालेको दाबी गरिरहँदा भारतको पञ्जाबमा रहेको भटिन्डामा विमान दुर्घटना भएको समाचार आएको हो । विमान दुर्घटना हुनासाथ निन्द्रामा मस्त गाउँका सामान्य किसानहरू आतंकित भएको समाचारमा उल्लेख गरिएको छ ।
मृतक भारतीय नागरिकको पहिचान गोविन्दका रूपमा गरिएको छ । उनी हरियाणा चरखी दादरीका खेतीहर मजदुर हुन् । घटनास्थलमा सबैभन्दा पहिले पुगेका उनले भिडियो बनाइरहेका थिए । त्यति नै वेला विमानमा विस्फोट भयो र उनको घटनास्थलमै ज्यान गएको स्थानीय जसपाल सिंह (सुरक्षाका कारण नाम परिवर्तित) ले द वायरलाई बताए ।
विमान दुर्घटना भएपछि २ बजेर १५ मिनेटमा दुर्घटनास्थलमा सुरक्षाकर्मीहरू पुगेका थिए । दुर्घटनामा घाइते हुनेहरूको भने स्थानीय जिल्ला अस्पतालमा उपचार चलिरहेको छ ।
विमानमा रहेका पाइलटको अवस्थाबारे जानकारी लिन खोज्दा स्थानीय जसपाल सिंहले विमानमा आफूहरूले पाइलट नदेखेकाले सम्भवतः उनीहरू सकुशल रहेको बताए । ‘हामी आई पुग्दा यहाँ कोही पनि थिएन, त्यसैले पाइलटहरू पहिले नै सुरक्षित ढंगले कतै अवतरण भएको हुन सक्छन्,’ उनले भने ।
विमानको अर्को भाग भने पाँच किलोमिटर पर गाउँको अर्को किनारमा खसेको समेत स्थानीयले बताएका छन् । तर, यसबारेमा भने भटिन्डाका वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) अमनीत कोन्डले यसबारे केही पनि बताउन चाहेनन् । तर, प्रहरीका प्रवक्ता वरिष्ठ कान्स्टेबल मालविन्दर सिंहले भने गत राति १ बजेर ३० मिनेटमा विमान दुर्घटना भएको पुष्टि गरे पनि थप जानकारी आफूलाई पनि थाहा नभएकाले बोल्न नमिल्ने बताए ।
‘दुर्घटनाबारे भारतीय वायु सेवा तथा भारतीय सेनाका तर्फबाट कुनै जानकारी नआएकाले मैले केही आधिकारिक सूचना दिन मिल्दैन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
-
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही
-
उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको आरोप
-
नक्कली नोट सहित एक जना पक्राउ
-
भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे