आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अवार्ड र सम्मानले काममा ऊर्जा दिन्छ– विष्णु खड्का

शनिबार, ०३ चैत २०८०, ११ : ४०
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । ‘जति नै काम गरे पनि हामी त ओझेलमै पर्दो रहेछौँ,’ विष्णु खड्काले भने– ‘हाम्रो पनि कामको चर्चा होस् । सबैले चिनोस् भन्ने लाग्दो रहेछ ।’ विष्णु नेपाली गीत संगीत क्षेत्रका एक सफल भिडियो सम्पादक हुन् ।

विगत डेढ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील उनी एउटा भिडियो आकर्षक र सुन्दर कसरी बनाउने भन्ने सम्पादकको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । तर भिडियो बाहिर आउँदा सम्पादक नै सधैँ ओझेलमा रहन्छन् ।

सफल हुन कामले मात्र पुग्दो रहेनछ, नाम पनि चाहिने उनको बुझाइ छ । सोलुखुम्बुको भकान्जे गाबिस सागर डाँडामा जन्मिएका उनको सानैदेखि कला क्षेत्रमा रुचि थियो ।

त्यही रहरले उनी मोडलिङमा लाग्न चाहन्थे । तर शारीरिक र स्वास्थ्यका कारण बसेर गर्नुपर्ने कामका लागि उनले भिडियो सम्पादन रोजे । एरिना मल्टिमिडिया एकेडेमीबाट डिजिटल फिल्म मेकिङ्गमा डिप्लोमा गरेर भिडियो सम्पादनमा होमिएका विष्णुले त्रिवेणी फिल्मस्मा समेत काम गरेका थिए ।

यो फिल्मबाट उनले पहिलो पटक भिडियो सम्पादन गर्ने अवसर पाए । पछिल्लो समय उनी विभिन्न फिल्म हुँदै पार्न आर्टका काम गर्छन् भने त्यसबाट बचेको समय आफ्नै सफल मोसन पिक्चर भन्ने छ, त्यसमा दिन्छन् ।

अहिलेसम्म एक हजार बढी भिडियोमा काम गरिसकेका उनको  सम्पादन रहेको चर्चित गीतहरूमा ‘जेल पनि सहुँला’, ‘रुमालै चिनो धोई धोई’, ‘पानीको फोका’, ‘शिरफुल’ लगायत धेरै छन् ।

म्युजिक भिडियोको अलवा कलर करेक्सन, पोस्टर डिजाइन समेत गर्दै आएका उनी नाम नभए पनि कामको खाँचो भने नभएको बताउँछन् । काम जस्तै नाम चर्चित हुने हो भने अझै कामको व्यस्तता बढ्ने उनलाई लाग्न थालेको छ ।

पारोना, न्ह्यु लगायत तीन भाषाभाषी फिल्मको समेत सम्पादन अनुभव भएका उनी सम्पादकको काम छायाङ्कन भएर आएको फुटेज जोड्नेदेखि, कलर करेक्सन, ट्रेलर, पोस्टर डिजाइनदेखि अनेक हुने बताउँछन् । ‘पछिल्लो समय डिजिटल प्रविधिको विकासले सम्पादन केही सजिलो भएको छ’, उनले भने ‘प्रविधिले सजिलो मात्र होइन, चुनौती पनि थुप्रै थपेको छ ।’ 

केही म्युजिक भिडियो निर्देशन समेत गरेका खड्काले त्यस्ता काममा आफ्नो नाम निर्देशकमा कहिल्यै राखेनन् । कारण खोले, ‘मलाई भिडियो निर्देशक भन्दा पनि सम्पादक भनेर चिनिनु थियो ।’

पछिल्लो समय संगीतको बजार सेलाउँदो छ । त्यसमा पनि भिडियो निर्माण कम हुन थालेको छ । त्यसले कतिपय भिडियो सम्पादक कामविहीन समेत भएका छन् । उनी भने सधैँ व्यस्त छन् । राम्रो काम गर्न सक्यो भने कहिल्यै खाली बस्नु नपर्ने उनको बुझाइ छ । अचेल बजारमा जथाभाबी भिडियो पनि निर्माण हुन थालेका छन् ।

ती सबै भिडियो दर्शकले रुचाउँछन् भन्ने पनि हुँदैन । उनी पनि थोरै भए पनि उत्कृष्ट काम गर्नुपर्छ भन्नेमा पर्छन् । त्यसैले जस्तो पायो त्यस्तो भिडियो पैसा आए पनि उनी गर्दैनन् । आफूले काम गरेको भिडियोको बाहिर नाम लिन सकिन्न भने त्यो काम नगर्दा राम्रो हुने उनको विचार छ ।

म्युजिक भिडियोका कलाकार निर्देशकको आम्दानी राम्रो छ । त्यसैले त फिल्मका कलाकारको पनि म्युजिक भिडियोमा उपस्थिति राम्रो देख्न सकिन्छ । भिडियो सम्पादकको कमाई पनि राम्रो भएको उनी बताउँछन् । भन्छन्, ‘अहिलेसम्म किन यो पेसामा लागे भनेर भन्नु परेको छैन ।’ 

घरपरिवार र आफ्नो खर्च राम्रोसँग चलिरहेको उनी सुनाउँछन् । डेढ दशकको भिडियो सम्पादन यात्रामा विभिन्न पुरस्कार, सम्मान र अवार्ड समेत उनले थुप्रै प्राप्त गरेका छन् । त्यो सम्मान र अवार्डले आफूलाई यो क्षेत्रमा चिनाउने र नयाँ काममा सधैँ ऊर्जा दिने गरेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप