मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
मधेस आन्दोलन

रघुनाथ ठाकुरको सहादत र अपूर्ण मधेस आन्दोलन

शनिबार, ०३ चैत २०८०, १५ : २४
शनिबार, ०३ चैत २०८०

देशमा मधेसी समुदायलाई अन्य नागरिक समान अधिकार दिलाउन २००९ सालमा विद्रोहको बिगुल फुकेर रघुनाथ ठाकुरले मधेस आन्दोलनको श्रीगणेश गरेका थिए । तत्कालीन मोरङ जिल्लाको भलाभलेनी (हालको सुनसरी जिल्लाको हरिनगरा)मा १९९१ असार २७ गते जन्मेका रघुनाथको आरम्भिक सङ्घर्ष मधेसी विद्यार्थीलाई छात्रवृत्तिमा समान अधिकार र अवसर दिलाउनुमा केन्द्रित थियो । सरकारले मधेसी विद्यार्थीलाई छात्रवृत्तिबाट वञ्चित गरेको थियो । उनले त्यसको विरोध गर्दै राजा त्रिभुवनको शासनकालमा राजदरबारको ढोकामा आमरण अनशन बसे । राजा त्रिभुवनले उनलाई भेट दिएपछि उनले आफ्नो कुरा राखे । फलस्वरूप मधेसी विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्थाको भयो । उनी आफूले पनि भारतको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) मा प्रवीणता प्रमाणपत्र पढ्ने छात्रवृत्ति पाए । त्यहीँ उनले स्नातकको उपाधि प्राप्त गरे ।

मधेस आन्दोलनका प्रवर्तक अमर सहिद रघुनाथ ठाकुरको व्यक्तित्वलाई जोडेर कुरा गर्दा सर्वप्रथम तत्कालीन अवस्थामा मधेस आन्दोलनको मूल उद्देश्य के थियो भन्ने कुरा ठम्याउनुपर्छ । रघुनाथ मधेसी समुदायमाथि राज्यबाट हुने राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक अधिकारको शोषणका खिलाफमा थिए । मधेस र मधेसी समुदायमाथि आन्तरिक उपनिवेश लादिएको छ भन्ने उनको मान्यता थियो । त्यसैले उनले उनले मधेसको आत्मनिर्णयको अधिकारको वकालत गरेका थिए । उनको विचारमा मधेसको आफ्नो छुट्टै संस्कृति छ, मधेस एक छुट्टै राष्ट्र हो । मधेसको मानवोचित अधिकारको रक्षाको सर्तमा मात्र मधेस अर्को कुनै राष्ट्रियताको हिस्सा बनेर रहन सक्छ भन्ने उनको सिद्धान्त थियो ।

मधेसमा मधेसीको शासन स्थापना गर्ने लक्ष्य लिएर उनले २०१३ सालमा मधेस जनक्रान्ति दल गठन गरेका थिए । मधेस नाम धारण गरेको त्यो नेपालको पहिलो राजनीतिक दल थियो । देशमै पहिलोपटक भएको आम निर्वाचन २०१५ लाई उनले बहिष्कार गरे । किनभने उक्त निर्वाचनबाट मधेसको हित हुँदैन भन्ने उनको धारणा थियो ।

मधेसको अधिकारकै एजेन्डालाई लिएर ‘नेपाल तराई कांग्रेस पार्टी’ आम निर्वाचनमा सहभागी भएको थियो तर निर्वाचनमा उसले कुनै सिट ल्याउन सकेन । निर्वाचनमा १०९ सदस्यीय प्रतिनिधिसभामा ७४ वटा सांसद अर्थात् दुईतिहाइ सिट ल्याएर नेपाली कांग्रेसले सरकार बनायो । नेपाली कांग्रेसको सरकारले राष्ट्र«का लागि केही महत्त्वपूर्ण निर्णय गरे पनि मधेसको समस्या र मागलाई सम्बोधन गर्ने चासो लिएन ।

जननिर्वाचित सरकार गठन भएको १८ महिनामै राजा महेन्द्रले संसद् र सरकार विघटन गरे । आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरी प्रत्यक्ष शासन प्रारम्भ गरे । कांग्रेसलगायत लोकतन्त्रवादी नेतामाथि दमन आरम्भ भयो । कतिपय नेता जेल परे भने कतिपय भारत निर्वासित भएर गए । तराई कांग्रेस नेपालका नेताहरू पनि भागाभाग भए तर सभापति वेदानन्द झाले शाही सरकारको समर्थन गर्दै गृहमन्त्री बने । तराई कांग्रेसका सभापति आफैँ शाही सरकारको गृहमन्त्री बन्दा पनि उक्त सरकारले मधेसको मागप्रति चासो देखाएन । बल्की शाही सरकार मधेसप्रति झन् अनुदार बन्दै गयो । यति मात्र होइन, मधेस आन्दोलनका योद्धालाई नै एकपछि अर्को गरी सिध्याउने काम गर्‍यो । शाही सरकारले नै एक दिन षड्यन्त्र गरेर रघुनाथ ठाकुरको पनि ज्यान लियो । रघुनाथ ठाकुर रहिरहेको भए त्यसपछिका निर्वाचनमा मधेस मागको परिपूर्ति नभएसम्म सहभागी हुने थिएनन् र मधेस आन्दोलनलाई निरन्तरता दिइरहन्थे । र रघुनाथ ठाकुर जीवितै रहेको भए मधेस आन्दोलनको दूरावस्था पनि हुने थिएन ।

राजा महेन्द्र शाहले थालेको प्रत्यक्ष शासन, जसलाई पञ्चायती व्यवस्था नाम दिइएको थियो, त्यसलाई उनका छोरा राजा वीरेन्द्र शाहले पनि निरन्तरता दिएका थिए । २०४६ सालको जनआन्दोलनले राजाको प्रत्यक्ष शासनमा विराम लगाउँदै राजालाई संवैधानिक दायरामा ल्यायो । बहुदलीय संसदीय पद्धतिको पुनस्र्थापना गर्दै राजाको सट्टा संसद्लाई सर्वोच्चता प्रदान गर्‍यो तर यसरी पटकपटक राज्यसत्ता परिवर्तित हुँदा पनि मधेसको मुद्दालाई सम्बोधन गर्ने काम भएन । राजा वीरेन्द्रको शासनकालमा पनि मधेस आन्दोलनकारीको दमन गर्ने काम जारी रह्यो । उनकै शासनकालमा २०३८ असार ७ गते रघुनाथ ठाकुर मारिए । पञ्चायती सरकारले उनका अनेक सहकर्मीको हत्या गरिसकेको थियो, आफूमाथि पनि आक्रमण हुने आशंका रहँदारहँदै उनले सरकारसँग सम्झौता गर्ने वा सरकारप्रति नरम हुने वा आफ्नो क्रान्तिकारी भूमिकालाई न्यून पार्ने कोसिस गरेनन् । रघुनाथको २०१५ सालमा प्रकाशित पुस्तक ‘परतन्त्र मधेस और उसकी संस्कृति’मा रामजनम तिवारीले सहमतिका शब्द लेखेका छन्— षड्यन्त्रद्वारा ठाकुरको हत्या गरिएको थियो । 

रघुनाथ नेपालमै उच्च शिक्षा अध्ययनरत रहँदा शैक्षिक विभेदको खिलाफ तत्काल जाइलागेका थिए । बनारसमा अध्ययनरत रहँदा उनलाई नेपालमा विद्यमान मधेसी समुदायको राजनीतिक अवस्था र सरकारको विभेदपूर्ण नीतिहरूलाई समग्रतामा नियाल्ने अवसर मिल्यो । देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, नागरिक आदि अधिकारहरूमा मधेसी समुदायको दयनीय अवस्थाले उनलाई गम्भीर तुल्यायो । उनले मधेस इतिहासको गहिरो अध्ययन गरेर मधेसको आफ्नो छुट्टै राष्ट्र र संस्कृति भएको पाए । खस शासकहरूले मधेसलाई उपनिवेश बनाएर शासन, शोषण र दमन गर्ने गरेको उनको निष्कर्ष रह्यो । उनी त्यसै बेलादेखि उपेक्षित, शोषित, पीडित मधेसीलाई अधिकार दिलाउन चिन्तनशील भए । अध्ययनबाट फर्केपछि अधिकारका लागि सङ्घर्ष प्रारम्भ गरे । 

रघुनाथको पुस्तक (परतन्त्र मधेस और उसकी संस्कृति) आफैँमा एक विशिष्ट ‘मधेस ग्रन्थ’ हो । यस पुस्तकमा मधेस भूमिको भूगोल र प्राचीन इतिहासदेखि वर्तमान अवस्थासम्मको कुरा मात्र होइन, भविष्यको उद्घोषण समेत गरिएको छ । मधेस ‘मध्यदेश’को अपभ्रंश हो । भौगोलिक रूपमा हिमालय र विंध्य पर्वतबिचको समथर भूभाग नै मध्यदेश हो । यस भू–भागको आफ्नै विविधतायुक्त संस्कृति छ । त्यसै विशाल मध्यदेशको एक सीमान्त खण्ड नेपालमा पर्छ, जसलाई मधेस भनिएको छ । हिमालयको तल्लो पर्वत चुरेभावरभित्र विभिन्न सातवटा उपत्यका छन्, जसलाई भित्री मधेस भनिन्छ ।

ठाकुरले आफ्नो उपर्युक्त पुस्तकमा मधेसको समस्या देखाउँदै र तिनको समाधानका उपाय उल्लेख गर्दै संघीय शासन प्रणालीको वकालत गरेका छन् । उनले संघीय शासन प्रणालीको अवलम्बनबाट मधेस आन्तरिक औपनिवेशिकताबाट मुक्ति पाउने विचार व्यक्त गरेका छन् ।

मधेस र मधेसी समुदायको हक र अधिकारका निम्ति उनले २०१५ सालदेखि २०३८ सालसम्म केही पुस्तक समेत लेखे— ‘भूमि सुधार कानुन और नागरिकता’, ‘मधेस आन्दोलन और व्याख्या’, ‘नेपाल और उस की सभ्यता’, ‘राजद्रोह बनाम वस्तुस्थिति पर’ आदि । उनले मधेसमा चेतना जागरणका लागि २०१४ सालमा ‘राजहंस’ नामक साप्ताहिक पत्रिकाको पनि प्रकाशन गरेका थिए । उनका पुस्तक मधेसका प्रारम्भिक साहित्य हुन् । नेपाली भाषा–साहित्यका स्रष्टाले आफ्ना सिर्जनामा मधेसलाई पृष्ठभूमि बनाए, अर्थात् यहाँका पात्र, परिवेश र परिघटनालाई आफ्ना आख्यानका माध्यमबाट चिनाउने प्रयास गरे तर ती कथा, कविता, उपन्यास मधेसको विम्ब बन्न सकेनन् । तिनले मधेसको मन छाम्न र मधेसको प्रतिनिधित्व गर्न सकेनन् तर रघुनाथ ठाकुरले आफ्ना पुस्तकमार्फत मधेसको यथार्थ विम्ब प्रस्तुत गरे । उनका रचनाले सही मानेमा मधेसलाई जागरुक बनाउने काम गरे; मधेस आन्दोलनको जग निर्माण गरे; मधेसको वकालत गरे र मधेसको भविष्य निर्धारण गरे । उनको साहित्य मधेसी साहित्यको सूत्रधार हो, जसलाई आधार बनाएर उत्तरोत्तर मधेसी साहित्यकारहरूले साहित्य सिर्जना गर्दै आएका छन् । 

रघुनाथ ठाकुर जीवितै हुँदा गजेन्द्रनारायण सिंह नेपाली कांग्रेस त्यागेर तराईको पक्षमा काम गर्न थालेका थिए । तर ठाकुर मारिएकै वर्ष २०३८÷३९ तिर सिंहले तराईको पक्षमा आवाज उठाउन ‘नेपाल सद्भावना परिषद्’ नामक राजनीतिक दबाब समूह गठन गरेको देखिन्छ । उक्त परिषद् २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि नेपाल सद्भावना पार्टीको नामबाट राजनीतिक दलमा परिवर्तित भयो । २०१७ सालमा मासिएको बहुदलीयताको पुनस्र्थापना भए पनि त्यतिबेला खारेज गरिएको संविधान (नेपाल अधिराज्यको संविधान, २०१५) लाई पुनर्जीवन दिने काम गरिएन, नयाँ संविधान निर्माण गर्ने राजनीतिक सहमति बन्यो ।

नयाँ संविधान बनाउने विषय उठेपछि नेपाल सद्भावना परिषद् र त्यसपछि नेपाल सद्भावना पार्टीलाई नेतृत्व गर्दै आएका सिंहले नयाँ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचनको माग गरेका थिए तर त्यतिबेला निर्मित राजा, कांग्रेस तथा वाममोर्चाको मिश्रित राज्यसत्ताले सिंहको मागलाई महŒव दिएन । त्यही मिश्रित राज्यसत्ताबाट त्रिपक्षीय संविधान निर्माण आयोग गठन गरियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश विश्वनाथप्रसाद उपाध्यायको अध्यक्षतामा राजनीतिक व्यक्तिहरू सम्मिलित उक्त आयोगले २०४७ सालमा संविधान बनायो । नेपाल सद्भावना पार्टीले माग गरेका कुरालाई आयोगले सम्बोधन गरेन । आफूले मागेको वा भनेको कुनै पनि कुरा संविधानमा नराखिए पनि नेपाल सद्भावना पार्टी २०४८ सालमा गरिएको आम निर्वाचनमा सहभागी हुन पुग्यो ।

नेपालमा बहुदलीयतामा आधारित यो दोस्रो आम निर्वाचन थियो । २०१५ सालको आम निर्वाचनमा तराई कांग्रेस नेपालले जहाँ एउटै पनि सिट ल्याउन सकेको थिएन, त्यस दृष्टिले हेर्दा यसपटकको निर्वाचनमा नेपाल सद्भावना पार्टी मुस्किलले थ्रेसहोल्ड कटाउँदै कुल ६ वटा सांसद जिताउन सफल भयो । २०५ सदस्यीय प्रतिनिधिसभामा ६ सांसदले मधेसको आवाज बुलन्द गर्न सकेनन् । पछि २०५१ र २०५६ सालको आम निर्वाचनहरूमा यो पार्टीले पटकपटक सरकारमा सामेल हुने अवसर पायो । आफ्नो कुरा नचले पनि सरकारमा सामेल भइरहने नीतिले गर्दा मधेसलाई कुनै लाभ भएन, पार्टीलाई नै हानि भयो ।

अध्यक्ष गजेन्द्रनारायण सिंह सरकारमा जाने पक्षमा थिए, त्यस कुरामा पार्टीभित्र भने मतभेद थियो । सिंहले पार्टीको जनाधार बढाउन सरकारमा जानुपर्ने तर्क गरेका थिए । पार्टीवृत्तमा पार्टी सरकारमा जाँदा आन्दोलन प्रभावित हुने तर्क थियो । त्यस्तो अवस्थामा सिंहले ‘सरकारमा रहेर सरकारसँग सङ्घर्ष’ भन्ने अवधारणाको प्रतिपादन गरे । सरकारमा सामेल भएकाले पार्टीलाई केही स–साना लाभ भए पनि समग्रमा पार्टीले सँगसँगै चलाएको सङ्घर्ष भने प्रभावकारी भएन । एकपटक सत्ताको स्वाद पाएपछि पार्टीले सत्तामोहबाट कहिल्यै छुटकारा पाएन । पार्टी सत्तारोहणको कुरामा नेताहरू तँ कि म भन्दै आन्तरिक सङ्घर्षमा भासिए र पटकपटक विभाजित हुँदै अन्ततः पार्टी नै समाप्त भएर गयो । सिंहले पार्टीलाई सत्तामा लैजाने नीति नलिएको भए नेपाल सद्भावना पार्टीले मधेस आन्दोलनको रिक्तता पूर्ति गर्ने थियो । राणा र राजाका खिलाफ लोकतन्त्रको सङ्घर्षमा होमिएका गजेन्द्रनारायण सिंह मधेसी समुदायको अधिकारका लागि अनवरत सङ्घर्ष गरिरहे । उनीमा सत्ताको मोह थियो भन्ने होइन किनभने सत्तालाई उनले कहिल्यै पनि निजी स्वार्थका खातिर उपयोग गरेनन् तर सरकारमा जानैपर्ने बाध्यता केही न केही अवश्य थियो । त्यस्तो परिस्थितिमा रघुनाथ ठाकुर रहेको भए के गर्थे ? यो प्रश्न उब्जन सक्छ । 

रघुनाथ एक सच्चा क्रान्तिकारी र मधेसका मसिहा थिए । उनी साहसी र निर्भीक थिए । उतिबेलाको कठिन समयमा राजदरबारको ढोकामा आमरण अनशन बस्नु, राजालाई भेट दिन बाध्य पार्नु, राजासँग क्रान्तिकारिता प्रदर्शन गर्नु, राजाले तिमीलाई डर लागेन भनी सोध्दा निर्भीकता देखाउनुजस्ता कार्य गर्न भर्खरै माध्यमिक शिक्षा उत्तीर्ण गरेको एक गाउँले साधारण युवकले सक्ने थिएन ।

रघुनाथको पुस्तकमा रामजन्म तिवारीले सहमतिका शब्द लेखेका छन्— ‘यही वह व्यक्ति थे, जो दिल्ली में संसद् भवन तथा हर देश के दूतावास के सामने अपने सिर पर दिन में पेट्रोमैक्स जलाकर न्याय की पुकार कर रहे थे ।’ रघुनाथले भारतको राजधानी नयाँदिल्लीमा त्यहाँको संसद् भवनअगाडि दिनको उज्यालोमा टाउकोमा बलिरहेको पेट्रोमेक्स बोकेर नेपालमा मधेसी समुदायमाथि लादिएको विभेद, शोषण, उत्पीडनको विरोध गर्दै त्यस कुरामा अन्तर्राष्ट्रिय समुदायले चासो लिन आग्रह गरेका थिए । भारतीय संसद्मा उक्त कुरा उठ्यो र भारत सरकारले नेपाली राजदूतबाट जानकारी पनि मागेको थियो । नेपाली राजदूतले नेपालमा त्यस्तो भेदभाव नगरिएको भनी जवाफ दिएको कुरा रघुनाथ ठाकुरका भाइ डा. महानन्द ठाकुरले लेखेका छन् ।

मधेस आन्दोलनको तीन दशकपछि गजेन्द्रनारायण सिंहले मधेस शब्द प्रयोगमा ल्याए । त्यसअघि तराई शब्दको प्रयोग गर्ने सिंहले थप एक दशकपछि ‘गर्व से कहो हम मधेसी हैं’ भन्ने नारा दिए । त्यसपछि मधेस शब्द प्रयोग गर्नेको लहरै चल्यो तर रघुनाथले मधेस आन्दोलनको संकल्प लिँदै गर्दा आफ्नो नाममा मधेसी (रघुनाथ ठाकुर ‘मधेसी’) जोडेका थिए । अहिंसात्मक आन्दोलनबाट उनले मधेस आन्दोलनको अग्नि प्रज्ज्वलित गरे । जुन मार्ग पछिका आन्दोलनकारी पुस्ताका लागि पनि अनुकरणीय भयो । उनले मधेस आन्दोलनलाई आफ्नो स्वार्थका खातिर उपयोग गर्ने मौका अवसरवादी अरूलाई दिने थिएनन् । रामजनम तिवारीले रघुनाथकै पुस्तकमा आफूहरूले मधेसीको अधिकारका लागि ‘नेपाल तराई कांग्रेस पार्टी’ खोलेको र मधेसी नेताहरूबाट धोका पाएको कुरा उल्लेख गरेझैँ रघुनाथले मधेस आन्दोलनलाई त्यसरी धोका खान दिने थिएनन् ।

मधेस र मधेसीको अधिकारका लागि आवाज उठाएकै कारण रघुनाथले भारतमा निर्वासन बस्नुपर्‍यो । निर्वासनकै क्रममा उनको हत्या गरियो । रघुनाथ ठाकुर जीवितै रहेको भए आज उनी ९० वर्षको भइसक्थे र मधेस आन्दोलनले पनि पूर्णता पाउने थियो भनी आकलन गर्न सकिन्छ । मधेसको जल, जंगल, जमिनमा मधेसी समुदायको अधिकारका लागि क्रान्तिमा होमिएका रघुनाथ ठाकुर, रघुनाथ राय यादव, सत्यदेवमणि त्रिपाठी लगायत मधेसी सहिदहरूको बलिदानको मूल्याङ्कन हुन सकेको छैन । रामजनम तिवारी, गजेन्द्रनारायण सिंह, उपेन्द्र यादव, महन्त ठाकुर, डा. सिके राउत, राजेन्द्र महतोले निरन्तरता दिएको मधेस आन्दोलन आज कुन चरण वा अवस्थामा छ ? समयले त्यसको मूल्याङ्कन गर्नेछ ।

मधेसी समुदाय मात्र होइन अरू पनि जाति, धर्मका पहिचान र आत्मसम्मानका लागि सुरु भएको आन्दोलनलाई दबाउन राज्यसत्ताले पटक–पटक दमनको बाटो समात्ने गरेको छ । त्याग तथा बलिदानकै कारण आज मधेस प्रदेशको पहिचान बनेको छ । सम्पूर्ण मधेस एक प्रदेशको नारा अहिले जीवितै छ । संघीयता जग्गा नै नभेटिएको लालपुर्जाझैँ भएको छ । संघीय सिद्धान्त बमोजिम केन्द्रको अधिकार प्रदेशमा हस्तान्तरण गर भनी प्रदेश सरकारले नै संघीय सरकारविरुद्ध आन्दोलन गर्नुपरेको अवस्था छ । मधेसवादी दलहरूले नै मधेसवादको खण्डन गरिरहेका छन् । मधेस आन्दोलन र संघीयताको भविष्य भुमरीमा फसेको छ । रघुनाथ ठाकुर जीवितै रहेको भए आज यस्तो दुरवस्था हुने थिएन ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप