सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा कोदालो प्रहार : एक जनाको मृत्यु, दुई  कर्मचारीको हेलिकप्टरबाट उद्धार

बिहीबार, ०८ चैत २०८०, २० : ४६
बिहीबार, ०८ चैत २०८०

बैतडी । बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  जिल्लाको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२  वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले  जानकारी दिए । 

यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका– ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र  डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६  वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । कलौनी र भट्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । 

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरेको जनाइएको छ । किसनले कोदालो प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप