सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा माधवको चेतावनी : बझाङमा हामीलाई कसैले रोक्न सक्दैन !

सोमबार, १२ चैत २०८०, १५ : १३
सोमबार, १२ चैत २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने बताएका छन् । त्यसका लागि उनले पार्टीमा छलफल र तयारी भइरहेको समेत बताएका छन् ।  

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा अध्यक्ष नेपालले उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएरै छाड्ने अडान राखेका हुन् ।

बालुवाटारमा तीन नेताबिचको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

‘एमालेले इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार उठाइसकेको छ । ती दुवै ठाउँमा माओवादी र समाजवादी भन्दा एमालेकै राम्रो र जित्ने अवस्था पनि छ’, बालुवाटार बैठकमा ओलीले प्रचण्ड र नेपाललाई भनेका थिए । ओलीको भनाइ सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमै अघि बढ्न तयार रहेको बताएका थिए । माओवादीले अहिलेसम्म उम्मेदवार तय गरिसकेको छैन ।

ओली र प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले नेपालले इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्नुपरे बझाङमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । माधवले यसो भनेपछि अध्यक्ष ओलीले उम्मेदवार घोषणा गरिसकेकाले पछि फर्कन एमाले असमर्थ रहने बताएका थिए । त्यसपछि नेता नेपालले प्रचण्डलाई माओवादीबाट उम्मेदवार नउठाएर आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन भनेका थिए । जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गर्ने बचन दिएका थिए ।

बालुवाटार छलफल लगत्तै सोमबार काभ्रेको बनेपा पुगेर अध्यक्ष नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको स्थानीय नेता कार्यकर्तालाई बताएका छन् ।

बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने त्यो सम्भव नभए एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए ।

उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल भइरहेको भन्दै बझाङमा उम्मेदवार खडा गर्न पार्टीलाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । ‘आजै बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबिच भएको छलफलका क्रममा पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने जानकारी गराएको छु’, अध्यक्ष नेपालको भनाइ छ । बालुवाटार छलफलमा एमाले अध्यक्ष केपी ओलीले छुट्टै पार्टी भएकाले पार्टीले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको बताएका थिए ।

‘स्वाभाविक रूपमा हामी पनि छुट्टै पार्टी भएकाले कहाँ कहाँ उम्मेदवार खडा गर्ने हो ? त्यो हामीलाई पनि थाहा छ’,बालुवाटारमा नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘इलाममा नभए पनि बझाङमा उम्मेदवार उठाउने नेता नेपालको चेतावनी देखिन्छ । तर त्यसो गर्नुहुँदैन भन्ने अन्य नेताहरूको भनाइ छ ।’

फागुन २१ मा प्रधानमन्त्री प्रचण्ड एमालेसँगको नयाँ समीकरणमा सामेल हुँदा आफूलाई थाहा नै नदिएकोमा नेता नेपाल असन्तुष्ट छन् । कांग्रेससँगको समीकरण तोडेर एमालेसँगको समीकरण बनेपछि एमाले अध्यक्ष ओली र प्रचण्ड दुवैले नेता नेपाललाई मनाएर मन्त्रिमण्डल विस्तार गरेका थिए । सोही अनुसार नेता नेपाल नेतृत्वको पार्टी २ मन्त्रीसहित सरकारमा समेत गइसकेको छ । तर उसले तीन मन्त्री दाबी गर्दै आएको थियो ।

उता प्रदेश मुख्यमन्त्रीमा समेत दाबी गरेको एकीकृत समाजवादीले प्रदेश मुख्यमन्त्रीका सवालमा गठबन्धनभित्र खासै छलफल भैसकेको छैन । प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीलाई सकभर नचिढ्याउने पक्षमा छन् । एकीकृत समाजवादी चिढिएमा उसले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्न सक्ने र त्यसपछि जसपा पनि सरकारबाट बाहिरिन सक्ने अवस्था आउन नदिन प्रचण्ड सचेत देखिन्छन् ।

यदि एकीकृत समाजवादी र जसपा दुवैले समर्थन फिर्ता गरे प्रचण्ड सरकार अल्पमतमा पर्ने निश्चित छ । त्यस्तो अवस्थामा । संविधानअनुसार संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित छ । त्यस कारण पनि हालका सत्ता गठबन्धनदलबिच कुनै पनि हालतमा सहमति गर्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप