शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व रङ्गमञ्च दिवस

गम्भीर हुनुपर्ने ठाउँमा हाँसिदिन्छन् दर्शक

सम्पादकहरूले फाट्टफुट्ट नाटक हेरे पनि समीक्षा लेखेनन्
बुधबार, १४ चैत २०८०, १४ : ०९
बुधबार, १४ चैत २०८०

‘२०३४ असारमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरेको बृहत् सेमिनारका अवसरमा बालकृष्ण समको ‘अन्धवेग’ नाटक मञ्चन भएको थियो । नाटकमा हलुका प्रसङ्ग देख्दा सबै आह्लादित हुन्थे, गम्भीर प्रसङ्ग देख्दा उति रुचि देखाउँदैनथे’, (डा. केशवप्रसाद उपाध्यायको पुस्तक नाटकको अध्ययन शृंखला १) ।

केही दिनअघि मण्डला थियटरमा ‘अन्धवेग’ नाटक हेर्न गएको थिएँ; दर्शकको जोड हाँस्नमै देखिन्थ्यो । यस्तो लाग्थ्यो— उनीहरू हँसाउने संवाद वा दृश्य कुरिरहेका छन् ।  

कुरा ‘अन्धवेग’को मात्रै होइन, पछिल्ला दुई दशक (मैले काठमाडौँका नाटकघरहरूमा फाट्टफुट्ट नाटक हेर्न थालेदेखि) यता मैले अनुभव गरेको छु— नहाँस्नुपर्ने अर्थात् गम्भीर हुनुपर्ने दृश्य या संवादमै दर्शक हाँसिरहेका हुन्छन् ।

हिजो (फागुन १३) साँझ म रङ्गकर्मी आकांक्षा कार्कीसँग टेलिफोनमार्फत नाटकबारे गफिएको थिएँ; उनको सोलोडोलो भनाइ थियो— दर्शक हाँस्नका लागि नाटक हेर्न आएजस्तो लाग्छ । दर्शकले कस्तो नाटक खोजिरहेका छन् भन्ने नै भेउ पाउन सकिरहेकी छैन । त्यसमाथि हिजोआज आर्थिक मन्दी र युवाको विदेश पलायनका कारणले हो कि नाटकका दर्शक घटिरहेका छन् ।  

नाटकबारे अध्ययन गर्न, नाटक हेर्न र आफ्नो बुद्धिले भ्याएसम्म मञ्चित नाटकको समीक्षा लेख्न कोसिस गर्ने भएकाले मलाई लाग्थ्यो— गम्भीर हुनुपर्ने दृश्य वा संवादमा दर्शक किन हाँसिरहेका छन् ? कतै दर्शक असंवेदनशील हुँदै गएका त होइनन् ? 

उपर्युक्त पंक्ति पढेपछि म स्पष्ट भएँ, यो समस्या पुरानै शृङ्खला रहेछ । प्रश्न अर्को उब्जन्छ— कतै कला–साहित्यलाई दर्शक वा पाठकले बुझ्ने किसिमले प्रस्तुत गरिएन कि ?

सामान्यतः कुनै पनि कला वा साहित्यका पात्रले यी उद्देश्यका लागि सङ्घर्ष गर्छन् वा आवाज उठाउँछन्— कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न; समाजमा आफू (आफ्नो वर्ग, लिङ्ग र समुदाय)लाई कुनै पनि प्रकारको विभेदबाट मुक्त गर्न; आफ्नो देशलाई कुनै पनि प्रकारको उपनिवेश हुनबाट जोगाउन; समाज वा राज्यमा विद्यमान कुनै पनि प्रकारको विकृति, विसङ्गति, अत्याचार र भ्रष्टाचार हटाउन; विभेदकारी व्यवस्थालाई चुनौती दिन; अन्याय गर्नेलाई सजाय दिन; आफ्नो इतिहास वा पहिचान स्थापित गर्न आदि ।

नाटकले मानव सभ्यता र संस्कृतिको लामो कथा बोकेर हिँड्यो । विभिन्न समुदायका लोकनृत्य, लोकनाटक, लोकगीतमा समेत नाटक हुर्कियो वा नाटकले प्राण लिइरह्यो । कला र संस्कृतिको ठुलो क्षेत्रलाई जोगाउन पनि नाटकलाई मौलिकताको पृष्ठभूमिसहित जोगाउनुपर्नेछ ।

यी उद्देश्य पढिरहँदा, हेरिरहँदा वा सुनिरहँदा दर्शक वा पाठकलाई निरस नलागोस् भनी सर्जकले बिच–बिचमा प्रेम, यौन र केही मनोरञ्जनका तत्त्व घुसाउने गर्छन् । हिजो कला वा साहित्यमार्फत व्यवस्थाविरोधी आवाज उठाउन सहज थिएन, सिधै चर्को विरोध गर्दा शासकको दण्ड–सजायको भागिदार हुनुपथ्र्यो । त्यसैले कला वा साहित्यले शब्दशक्ति (अभिधा, व्यञ्जना र लक्षणा) वा विम्ब र प्रतीकको सहारा लिन थाले । यसको सबैभन्दा बढी फाइदा आज नाटक र फिल्मले लिएका छन् । नाटक र फिल्म यस्तो विधा हो, जसमा सबै कलालाई समावेश गर्न सकिन्छ । यद्यपि हाम्रो उही गुनासो छ— नाटक चलेनन् । 

पछिल्लो समय नाटक वा फिल्म चलाउन मात्रै होइन, आख्यानका पुस्तक बिक्रीकै लागि सस्तो मनोरञ्जन वा हास्यव्यङ्ग्य घुसाएको पाइन्छ । हास्यव्यङ्ग्यमा पनि ‘हास्य’ मात्रै आउँछ, ‘व्यङ्ग्य’ कमजोर हुँदै गएको छ । व्यङ्ग्यको उत्पत्ति नै समाजका विकृति, विसङ्गति, व्यभिचार र अत्याचारलाई लक्षित गर्न भएको थियो; अचेल कला–साहित्यमा आउने व्यङ्ग्य यो स्तरको सशक्त लाग्दैन (उसो त मैले त्यस्ता कला वा साहित्य पढ्न वा हेर्न नभ्याएको पनि हुन सक्छ ।) यहाँनेर प्रश्न यो पनि छ— समाजको बौद्धिक स्तर अनुसारकै मनोरञ्जन पस्कने त हो ! यही प्रश्नले अर्को प्रश्न जन्माउँछ— समाजको बौद्धिक स्तर उठाउने जिम्मा कला र साहित्यको होइन र ? 

हो, हामी मनोरञ्जन खोज्छौँ । हाम्र्रो पहिलो भाषा हो— हाँसो र रुवाइ । खासगरी मानिसहरू ठुलो विपतपछि हाँस्न खोज्छन् । जस्तो ः संसार युद्धको मुख (पहिलो विश्वयुद्ध)मा पुग्ने बेला विश्वविख्यात हास्य कलाकार चार्ली च्याप्लिन उदाएका थिए । चार्लीले त्यस्तो युगमा मानिसलाई हँसाउने कोसिस गरे, जतिबेला पहिलो र दोस्रो विश्वयुद्ध गुज्रियो । मानिसलाई छटपटीका बिच हाँस्नु थियो वा हँसाउनु थियो । उनको हास्यपूर्ण अभिनयमा समेत तनाव र छटपटीकै भावभङ्गी देखिन्छ । उनले अभिनय र कथावस्तुमार्फत आधुनिक समयमाथि गरेको व्यंग्य उत्पातै लाग्छ । 

हाम्रो कुरा गर्दा— १९९० सालको भूकम्पपछि जनता अलि खुल्न थालेको पाइन्छ । त्यतिबेलासम्म सर्वसाधारणलाई हाँस्न र हिँड्न समेत शासकको अनुमति चाहिन्थ्यो । संयोग यस्तो छ, सात सालको क्रान्तिसँगै सूचना र सञ्चारको माध्यम रेडियो खुल्यो । हामी गीत–सङ्गीतको जगेर्नातिर लाग्यौँ अर्थात् मनोरञ्जनतिर लाग्यौँ । 

बहुदलसँगै फिल्म र टेलिफिल्म आउन थाले । बहुदलको मुखमा टेलिभिजन खुलेकाले फिल्म र टेलिफिल्मको विकास र विस्तार सहज भयो । दशवर्षे जनयुद्धको उत्तराद्र्धदेखि नै टेलिभिजनमा हास्य टेलिशृङ्खला व्यापक रूपमा आउन थाले; अर्थात् हामी (टेलिभिजन र रेडियोमा पहुँच हुनेहरू) हाँस्न खोज्यौँ, चाह्यौँ । राजाको प्रत्यक्ष शासनमा ‘विशुद्ध मनोरञ्जन’का मात्रै कार्यक्रम गर भन्ने निर्देशन थियो । 

०७२ को भूकम्पपछि, कोरोनापछि पनि हामी हाँस्न खोजिरहेका छौँ । पछिल्लो समय एक किसिमले ‘हँसाउने किसिम’का फिल्म, कलाकार, नाटक र साहित्य चलिरहेका छन् । 

सम्पादकहरूले रङ्गमञ्चलाई केटाकेटीको खेल सम्झे अर्थात् भर्खर पत्रकारितामा लागेकालाई नाटक, फिल्म र कलाको रिपोर्टिङ गर्न लगाए । रङ्गमञ्च बुझेका व्यक्तिलाई समीक्षा लेख्न प्रेरित त्यति गरेनन् । यसो हुँदा नाटकको बौद्धिक बहस त्यति हुन सकेन र मनोरञ्जनको साधनका रूपमा यो खुम्चिएकै छ ।

दुःख आफ्नै ठाउँमा छन्, तनाव कति लिने भनेरै मानिस हाँस्न खोज्नु स्वाभाविक हो । हामी निरङ्कुशतालाई तोडेर खुलेर हाँस्न खोजेको धेरै भएको छैन । योबिचमा राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तन थुप्रै भएका छन् । परिवर्तनको प्रसूति–पीडा राज्य र समाजले भोग्दै आयो । हाम्रा सामु आज पनि परिवर्तनका लागि लड्ने योद्धाहरू एकातिर छन्; अर्कोतिर अझै पनि उत्पीडित वर्ग, समुदाय, लिङ्ग र क्षेत्रले आफ्नो अधिकारका आवाज उठाइरहेकै छन् । यो अवस्थामा मानिसलाई हँसाउँदै सामाजिक–न्याय बुझाउनुपरेको छ । सामाजिक–न्यायलाई सुली चढाएर भएका सिर्जनालाई कला वा साहित्य मान्नै सकिँदैन । कसैले विशुद्ध मनोरञ्जन दिन्छु, विशुद्ध आफ्नो मात्रै कथा लेख्छु भन्दा पनि त्यो विषय समाजका अन्य तह र तप्कासँग ठोकिएकै हुन्छ । सामाजिक–न्याय सबैको साझा मुद्दा हो भनी बुझाउन आज सकस भइरहेको छ । 

जहाँसम्म नाटकको कुरा छ; अमेरिकी लेखक सेल्डन चेनीले लेखेका छन्, ‘यो मान्नैपर्छ कि आदिम मानवको हातखुट्टाको चालमै नाटक र रंगशालाको बीज थियो ।’ हिजो हाम्रा पुर्खाले सिकार यसरी गर्ने भनी नाटकको प्रहसन गरे । त्यसपछि अलौकिक शक्तिप्रतिको पूजा र प्रार्थनाका लागि नृत्य, अभिनय, गीत–सङ्गीत र साहित्य (कथा)को प्रयोग हुन थाल्यो । अनेक कल्पनामा आधारित कथाहरू जन्मे । 

राज्यको उत्पत्तिसँगै अलौकिक शक्तिपछि जनताले राजकीय शक्तिलाई पनि प्रार्थना गर्नुपर्ने भयो, आफ्ना पीडा सुनाउनुपर्ने भयो । यसरी नाटक शासक वर्गको मनोरञ्जनको साधन बन्न पुग्यो । यद्यपि कला र साहित्यका माध्यमबाट विद्रोह पनि जारी रहे । आज व्यवस्था बदलिँदै आउँदा नाटक वा फिल्म जनताको मनोरञ्जनको साधन बन्न पुगेको छ । आज मनोरञ्जनका माध्यम धेरै छन् । यो अवस्थामा आइपुग्दा कला र साहित्य क्षेत्रलाई चुनौती ठुलो छ— कला र साहित्यको महत्त्व र मर्म कसरी कायम राख्ने ? 

फिल्म आउनुअघिसम्म संसारमा नाटकको मूल्य थियो । नाटकले मानव सभ्यता र संस्कृतिको लामो कथा बोकेर हिँड्यो । विभिन्न समुदायका लोकनृत्य, लोकनाटक, लोकगीतमा समेत नाटक हुर्कियो वा नाटकले प्राण लिइरह्यो । कला र संस्कृतिको ठुलो क्षेत्रलाई जोगाउन पनि नाटकलाई मौलिकताको पृष्ठभूमिसहित जोगाउनुपर्नेछ । नाटकलाई सर्वसाधारणको ठुलो वृत्तमा पु¥याएर कला र साहित्यको मर्म बुझाउनुपर्नेछ । यसका लागि बौद्धिक वर्गले नाटकको बहस र समीक्षा गर्नुपर्छ । 

बहसको राम्रो माध्यम हो, मिडिया । हामीकहाँ भइदियो के भने, सम्पादकहरूले कला वा रङ्गमञ्चलाई केटाकेटीको खेल सम्झे अर्थात् भर्खर पत्रकारितामा लागेकाहरूलाई नाटक, फिल्म र कलाको रिपोर्टिङ गर्न लगाए । सम्पादकहरूले फाट्टफुट्ट नाटक हेरे पनि समीक्षा लेखेनन् वा रङ्गमञ्च बुझेका व्यक्तिलाई समीक्षा लेख्न प्रेरित त्यति गरेनन् । यसो हुँदा नाटकको बौद्धिक बहस त्यति हुन सकेन र मनोरञ्जनको साधनका रूपमा यो खुम्चिएकै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप