मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

खेल प्रशिक्षक नियुक्तिबारे मुख्यमन्त्री कार्यालयको हचुवा पत्र

बहालवाला मन्त्रीको निर्णय छानबिन गर्न शाखा अधिकृतको पत्र !
शुक्रबार, २३ चैत २०८०, १५ : ४०
शुक्रबार, २३ चैत २०८०

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले नियुक्त गरेको खेल प्रशिक्षकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न र घटनाको छानबिन गर्न भन्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालयले हचुवाको भरमा पठाएको पत्र नै अलपत्र परेको छ । खेलकुद बोर्डले आगामी चैत २५ देखि बागमती प्रदेशमा हुने प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी टिमका लागि १७ जना प्रशिक्षक नियुक्त गरेको थियो ।

बोर्डले प्रशिक्षक नियुक्तिका लागि चैत ३ गते ७ दिने सूचना जारी गरेर दरखास्त आह्वान गरेको थियो । ८४ जनाको आवेदन परेकोमा सर्ट लिष्टमा ४२ जनामात्रै अटाएका थिए । तीमध्ये चैत १५ गते अन्तर्वार्ता लिएर १७ जनालाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

बोर्डले वैकल्पिक प्रशिक्षकको सूचीसहित चैत १६ गते नतिजा सार्वजनिक गरेको थियो । प्रतिव्यक्ति महिनाको ३० हजार रूपैयाँ पारिश्रमिक दिने गरी प्रशिक्षकलाई १८ गतेबाट काममा खटाइसकिएको खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको भनाइ छ ।

उनका अनुसार प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीको अध्यक्षतामा फागुन ३० गते बसेको बोर्डको १९ औँ बैठकले खेल प्रशिक्षक नियुक्तिको निर्णय गरेको हो । सामाजिक विकास मन्त्री बोर्डको अध्यक्ष हुने व्यवस्था छ । बैठकले बोर्डका सदस्यसचिव वाग्लेको संयोजकत्वमा विज्ञसहितको ५ सदस्यीय प्रशिक्षक छनोट समिति गठन गरेको थियो ।

Capture

उक्त छनोटको विषयमा मुख्यमन्त्री कार्यालयमा उजुरी परेको भन्दै मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत कोविद ढकालले सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै प्रशिक्षक नियुक्ति यथास्थितिमा राख्न र नियुक्तिको छानबिन गरी सात दिनभित्र प्रतिवेदन दिन आदेश गरिएको छ ।

चैत १८ गते मुख्यमन्त्री कार्यालयले पठाएको पत्र अनुसार सामाजिक विकास मन्त्रालयले फेरि चैत १९ गते खेलकुद विकास बोर्डलाई पत्राचार गरेको छ । उक्त पत्राचारमा पनि प्रशिक्षक नियुक्ति सम्बन्धी काम कारबाही अगाडि नबढाउन र यथास्थितिमा राख्न भनिएको छ ।

Capture

तर, खेलकुद विकास बोर्डले भने आफूले नियुक्त गरेका प्रशिक्षकहरूलाई ७ दिने तालिम दिएर टिमको नेतृत्व गर्दै प्रतियोगितामा भाग लिन पठाइसकेको जनाएको छ । ‘मैले नियुक्ति गरेका क्रिकेट टिमका प्रशिक्षक लाक्पा लामाले खेलाडीको टिम लिएर बागमती हिँडिसक्नु भयो । बाँकी सबै टिमका प्रशिक्षकहरू टिम सम्हालेर ७ दिनको तालिम सकेर जान्छन्,’ वाग्लेले भने, ‘मैले गरेको कामबाट म टसमस हुन्न । मैले गरेको काम नियमसङ्गत छ । कसैले ठाडो आदेशमा यसरी चिठी पठाउने भनेको राजाको पालामा मात्रै हुन्थ्यो । त्यस्तो हामीले गरेका छैनौँ । भोलि अदालत वा अन्य निकायले छानबिन गर्ने भयो भने कागज देखाउन म तयार छु ।’

उनले कसैले राजनीतिक पहुँचको आधारमा कुरा मिलेन वा जागिर पाइनँ भनेर उजुरी गरेर खेल क्षेत्रलाई तहसनहस बनाउन खोजिएको बताए । ‘तर, कसैलाई जागिर पाइएन, राजनीतिक पहुँचमा कुरा मिलेन भनेको आधारमा किन चिठी पठाएको हो थाहा छैन । मैले सुनेको– मन्त्रीलाई पनि जानकारी नदिइ चिठी पठाएको छ अरे । मैले छानेको प्रक्रिया ठिक छ । त्यसमा कसैले खोट लगाउने ठाउँमा छैन । कसैको राजनीतिक अभिष्ट पूरा गर्ने दायित्व मेरो होइन,’ वाग्लेले भने ।

अहिले मेडल जितेर आउनु भनेर शुभकामना दिएर पठाउनु पर्ने ठाउँमा गिजोल्ने र खेलकुदलाई हतोत्साही गर्ने काम भएको उनको भनाइ छ । ‘मुख्यमन्त्रीलाई उक्साहट गर्नेहरूलाई हाम्रो खबरदारी छ । यदि समस्या पार्ने नै हो भने सारा खेलाडी उतार्नु नपरोस्, मेरो चुनौती पनि छ,’ उनले भने ।

Capture

वाग्लेले राजनीतिक हस्तक्षेपबाट मुक्त गरेर योग्यता र क्षमताका आधारमा प्रशिक्षक छनोट गरिएको दाबी गरे । बोर्डले प्रशिक्षकमध्ये फुटबलमा सुनसरीका सुरेन्द्र तामाङ, कराँतेमा पाँचथरकी अञ्जु कामबाङ, एथलेटिक्समा सुनसरीकी यशोदा चौधरी, भलिबलमा भोजपुरका दिनेश राई र पाँचथरकी निलिमा आङदेम्बे, आईटीएफ तेक्वान्दोमा मोरङका राजेन्द्र धिमाल, शारीरिक सुगठनमा झापाका रामबहादुर दाहाल, क्रिकेटमा झापाका लाक्पा लामा र ब्याडमिन्टनमा भोजपुरका विशाल तामाङलाई नियुक्त गरेको छ ।

त्यस्तै, बक्सिङमा उदयपुरका धनबहादुर मगर, उसुमा संखुवासभाकी उमाकुमारी राई र सुनसरीका दीपक कार्की, सेपाकताक्रोमा संखुवासभाका मेघराज तोलांगी, रग्वीमा सुनसरीका विक्रम पुरी, तेक्वान्दोमा सुनसरीकी सुशीला राई, कबड्डीमा ओखलढुंगाका भुवनबहादुर खड्का र जुडोमा मोरङकी बिना बस्नेत नियुक्त भएका छन् ।

४२ जना प्रशिक्षकलाई ६ महिनाको करारमा राख्नका लागि बोर्डले प्रदेश सरकारसमक्ष ९६ लाख रूपैयाँ माग गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले २१ लाख रुपैयाँमात्र उपलब्ध गराएपछि ३ महिनाका लागि १७ प्रशिक्षकलाई छनोट गरिएको वाग्ले बताउँछन् ।

बागमतीमा हुने अन्तरप्रदेश खेलकुदमा कोशीबाट २ सय ५१ जना खेलाडी तथा अफिसियलले सहभागिता जनाउने छन् । विभिन्न ९ खेलका महिला तथा पुरुष खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास भइरहेको छ । इटहरीमा भलिबल, फुटबल, कराँते, तेक्वान्दो र एथलेटिक्स तथा धरानमा बक्सिङ, झापामा ब्याडमिन्टन, विराटनगरमा क्रिकेट र काठमाडौँमा पौडीको प्रशिक्षण चलिरहेको छ ।

अहिलेको बन्द प्रशिक्षणलाई २०८१ सालमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुदको ‘वार्म अप’का रूपमा पनि लिइएको वाग्लेले बताए । नवनियुक्त प्रशिक्षकले आगामी राष्ट्रिय खेलकुदलाई समेत लक्षित गरेर प्रशिक्षण दिइरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप