गठबन्धन टुटेपछि देउवाको टिप्पणी : कांग्रेसका लागि एक्लै बहुमत ल्याउनु अपरिहार्य

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए ।
‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरुलाई थाहा नै छ । तर अहिले यही कुरालाई मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ’ देउवाले भने, ‘सबै पार्टीका साथीहरू एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गरी देशभर पार्टीलाई जिताउनु आवश्यक छ ।’
शनिबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरूलाई सचेत गराए । घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाइ थियो ।
‘म सबै साथीहरूलाई पार्टीलाई एक बनाएर लैजान आग्रह गर्छु । आपसमा घात, अन्तर्घात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई । बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर लाग्नका लागि हार्दिक अनुरोध गर्दछु । भोलिका दिनमा पार्टीलाई मजबुत गराउनका लागि शुभकामना दिन चाहन्छु’ सभापति देउवाले भने ।
सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्ताहरूलाई समझदारीका साथ काम गर्नुपर्ने बताए । उनले शंखरापुर अत्यन्तै ऐतिहासिक ठाउँ भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना