२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
सारांश
- गोल डटकमले १२ जना खेलाडीको सूची सार्वजनिक गरेको छ जसले २०२६ विश्वकपमा आफ्नो बलियो पहिचान बनाउन सक्ने अनुमान गरिएको छ ।
- यस सूचीमा स्पेनका लामिन यामाल र पाउ कुबार्सी, इक्वेडरका केन्ड्री पाएज, सेनेगलका इब्राहिम एम्बाये, मोरक्कोका अयुब बुआद्दी, मेक्सिकोका गिल्बर्टो मोरा, क्रोएसियाका लुका भुस्कोभिच, जर्मनीका लेनार्ट कार्ल, बोस्निया र हर्जगोभिनाका केरिम अलाजबेगोभिच, स्कटल्याण्डका टायलर फ्लेचर, अष्ट्रेलियाका लुकास हेरेङ्टन र इजिप्टका हम्जा अब्देलकरिम समावेश छन् ।
- यी खेलाडीहरूले विश्वकपमा आफूलाई स्थापित गर्ने र ठुला क्लबहरूको ध्यान तानेर भविष्यमा ठूलो खेलाडी बन्ने सम्भावना छ ।
विश्वकप सुरु हुन अब एक हप्ताभन्दा कम समय बाँकी छ । टोलीहरू हाल उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा आयोजना हुने यस प्रतियोगिताको लागि आफ्नो अन्तिम तयारीमा व्यस्त छन् ।
वर्तमान फुटबलका केही सबैभन्दा रोमाञ्चक युवा खेलाडीहरूसहित धेरै खेलाडीहरूका लागि आ(आफ्नो देशको नायक बन्ने मञ्च तयार भएको छ ।
विश्वकपको फाइनलमा गोल गर्ने किशोर खेलाडीहरूमा पेले र किलियन एम्बाप्पे मात्र हुन् । तर, माइकल ओवेनदेखि लियोनेल मेस्सीसम्मका धेरै खेलाडीहरूले २० वर्षको उमेर नपुग्दै विश्व मञ्चमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरिसकेका छन् ।
यसपटक अमेरिका, मेक्सिको र क्यानडामा उनीहरूकै पदचाप पछ्याउन सक्ने युवा खेलाडीहरू को–को हुन सक्छन् त ? खेलकुद पोर्टल गोल डटकमले १२ जना यस्ता एक एनएक्सजीएन (नेक्स्ट जेनेरेसन, सन् २००७ वा त्यसपछि जन्मेका) खेलाडीहरू चयन गरेको छ, जसले यस प्रतियोगितामा आफ्नो बलियो पहिचान बनाउन सक्ने अनुमान गरिएको छ ।
लामिन यामाल (स्पेन)
यस विश्वकपका उत्कृष्ट किशोर खेलाडी मात्र होइन, उत्तर अमेरिकामा हुने विश्वकपकै सबैभन्दा प्रभावशाली खेलाडी बन्ने सम्भावना पनि लामिन यामालसँग छ । बार्सिलोनाका यी प्रतिभाशाली विङ्गरले स्पेनका लागि १६ वर्षको उमेरमा जर्जियाविरुद्ध शानदार गोल गर्दै अन्तर्राष्ट्रिय डेब्यु गरेयता प्रशिक्षक लुइस डे ला फ्युन्टेका लागि स्वतः रोजाइका खेलाडी बनेका छन् ।
ठुला प्रतियोगिताको दबाबले आफूलाई प्रभावित गर्न नसक्ने क्षमता यामालले यसअघि नै प्रमाणित गरिसकेका छन् । जर्मनीमा आयोजित यूईएफए युरो– २०२४ मा स्पेनले उपाधि जित्दा उनले विपक्षी रक्षापंक्तिलाई तहसनहस बनाएका थिए । विशेषगरी सेमिफाइनलमा फ्रान्सविरुद्ध गरेको उनको आकर्षक गोल प्रतियोगिताकै उत्कृष्ट क्षणमध्ये एक मानिन्छ । त्यसयता क्लब फुटबलमा देखाएको निरन्तर उत्कृष्ट प्रदर्शनले विश्वकपमा पनि उनीबाट यस्तै चम्किलो खेलको अपेक्षा बढाएको छ ।

तर एउटा चिन्ताको विषय भने छ । यमल अप्रिलमा ह्यामस्ट्रिङ चोटबाट ग्रसित भएका थिए, जसका कारण उनी स्पेनको विश्वकपको कम्तीमा पहिलो खेल गुमाउने अवस्थामा छन् । चोटका कारण उनी केही समय थप मैदानबाहिर रहनुपर्ने सम्भावना पनि छ । यद्यपि स्पेनले आफ्नो युवा स्टारबिनै समूह चरण पार गर्ने अपेक्षा गरिएको छ ।
मुख्य प्रश्न भनेको यामाल फिट भएर फर्किएपछि कति छिटो आफ्नो लयमा पुग्छन् भन्ने हो । यसको उत्तरले नै उनले आफ्नो १९औँ जन्मदिनको केवल छ दिनपछि विश्वकप ट्रफी उचाल्ने अवसर पाउने कि नपाउने भन्ने निर्धारण गर्न सक्छ ।
पाउ कुबार्सी (स्पेन)
स्पेनको टोलीमा किशोर प्रतिभाको प्रतिनिधित्व गर्ने खेलाडी केवल लामिन यामाल मात्र होइनन् । युवा सेन्टर(ब्याक पाउ कुबार्सी पनि विश्वकपमा स्पेनका प्रमुख आकर्षणमध्ये एक हुने अपेक्षा गरिएको छ । उनले सन् २०२५ को अन्त्यतिर भएका स्पेनका छमध्ये चार विश्वकप छनोट खेलमा सुरुआती रोजाइ पाएका थिए र प्रशिक्षक लुइस डे ला फुएन्तेको योजनामा आफ्नो स्थान मजबुत बनाउँदै लगेका छन् । रोचक कुरा के भने, स्पेनले युरो जित्दा उनी टोलीबाट आश्चर्यजनक रूपमा बाहिर परेका थिए ।
१९ वर्षीय कुबार्सी पछिल्ला दुई वर्षदेखि बार्सिलोनाको पहिलो रोजाइका खेलाडीका रूपमा स्थापित छन् । जर्मन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उनले निरन्तर उत्कृष्ट प्रदर्शन गरेका छन् । बल नियन्त्रणमा उनको असाधारण आत्मविश्वास, सटिक पास वितरण गर्ने क्षमता र उच्चस्तरीय रक्षात्मक कौशलले उनलाई आफ्नो उमेरभन्दा निकै परिपक्व खेलाडीका रूपमा चिनाएको छ ।

आगामी विश्वकप सम्भवतः उनको लामो र सफल अन्तर्राष्ट्रिय यात्राको पहिलो ठुलो अध्याय हुनेछ । वर्तमान प्रदर्शनलाई आधार मान्ने हो भने कुबार्सीले स्पेनको रक्षापंक्तिको नेतृत्व गर्ने खेलाडीका रूपमा आफूलाई स्थापित गर्ने प्रबल सम्भावना देखिन्छ ।
केन्ड्री पाएज (इक्वेडर)
यस विश्वकपमा उत्तर अमेरिकामा देख्न नपाइने प्रतिभाशाली किशोर खेलाडीमध्ये एक हुन् ब्राजिलका फरवार्ड एस्टेभाओ । चेल्सीबाट खेल्ने क्रममा सिजनको अन्त्यतिर चोटग्रस्त भएपछि उनी विश्वकप टोलीमा छनोट हुने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । तर चेल्सी समूह (ब्लुको) सँग आबद्ध अर्को युवा प्रतिभा भने विश्वकपमा आफ्नो छाप छोड्न तयार छन्–इक्वेडरका मिडफिल्डर केन्ड्री पाएज ।
विश्वकपका लागि बोलाइएका किशोर खेलाडीहरूमध्ये पाएज अन्तर्राष्ट्रिय अनुभवका हिसाबले सबैभन्दा अगाडि पर्ने खेलाडीमध्ये एक हुन् । हाल उनी अर्जेन्टिनाको क्लब रिभर प्लेटमा ऋण सम्झौताअन्तर्गत खेलिरहेका छन् । चेल्सीसँग आबद्ध यी प्रतिभावान् खेलाडीलाई सन् २०२३ मै भविष्यका सुपरस्टारका रूपमा हेरिन थालिएको थियो, जब उनले केवल १६ वर्षको उमेरमा इक्वेडरका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

डेब्यु गरेको केही सातामै पाएज दक्षिण अमेरिकी (कोन्मेबोल) विश्वकप छनोट प्रतियोगितामा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । यद्यपि सन् २०२४ को कोपा अमेरिका पछि उनी अधिकांश अन्तर्राष्ट्रिय खेलमा वैकल्पिक खेलाडीका रूपमा प्रयोग हुँदै आएका छन् ।
तर यसले उनको प्रभाव कम आँक्नुपर्ने अवस्था भने बनाउँदैन । १९ वर्षीय पाएजसँग खेलको दिशा बदल्न सक्ने असाधारण प्रतिभा र सिर्जनशीलता छ । उत्तर अमेरिकामा हुने विश्वकपमा उनी प्रतियोगिताको ‘डार्क हर्स’ टोलीमध्ये एक मानिएको इक्वेडरका लागि निर्णायक खेलाडी बन्न सक्छन् । यदि उनले आफ्नो क्षमता पूर्ण रूपमा प्रदर्शन गर्न सके भने विश्व फुटबलका समर्थकहरूको ध्यान तान्ने सम्भावना निकै बलियो छ ।
इब्राहिम एम्बाये (सेनेगल)
आजको फुटबलमा खेलाडीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था पहिलेभन्दा धेरै देखिन्छ । विश्वकपमा सहभागी हुने धेरै खेलाडीहरू आफू हुर्कंदै गर्दा कल्पना गरेको देशभन्दा फरक राष्ट्रको प्रतिनिधित्व गरिरहेका छन् । इब्राहिम एम्बाये त्यसका एक उत्कृष्ट उदाहरण हुन् ।
एम्बायेले आफ्नो बाल्यकाल र किशोर अवस्थाभरि फ्रान्सका विभिन्न उमेर समूहका टोलीहरूको प्रतिनिधित्व गरेका थिए । उनले फ्रान्सको यू–२० टोलीसम्म खेलेका थिए । तर सन् २०२५ को नोभेम्बरमा उनले सेनेगलबाट आएको राष्ट्रिय टोलीको आह्वान स्वीकार गर्दै आफ्नो अन्तर्राष्ट्रिय भविष्य पश्चिम अफ्रिकी राष्ट्रसँग जोड्ने निर्णय गरे ।

१८ वर्षीय फरवार्डले सेनेगलका लागि आफ्नो दोस्रो खेलमै गोल गर्दै देशको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । त्यसपछि उनले अफ्रिका कप अफ नेसन्समा सेनेगललाई फाइनलसम्म पुर्याउने यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरे । प्रतियोगिताभर उनले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का यी युवा आक्रमणकर्ताले छोटो समयमै आफ्नो प्रतिभा प्रमाणित गरिसकेका छन् । त्यसैले सन् २०२६ को आफ्नो दोस्रो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा रहने विश्वकपमा पनि उनले प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । गति, प्राविधिक क्षमता र गोल गर्ने स्वभावका कारण एम्बाये सेनेगलका लागि विशेष हतियार बन्न सक्छन् ।
अयुब बुआद्दी (मोरक्को)
फ्रान्सका उमेर समूहका टोलीहरूबाट खेलेर पनि यस विश्वकपमा अफ्रिकी राष्ट्रको प्रतिनिधित्व गर्ने अर्का प्रतिभाशाली १८ वर्षीय खेलाडी हुन् अयुब बुआद्दी । प्रतियोगिता सुरु हुनुअघि उनले आफ्नो अन्तर्राष्ट्रिय आबद्धता फ्रान्सबाट मोरक्कोतर्फ परिवर्तन गर्ने निर्णय गरेका हुन् ।
बुआद्दीले फ्रान्सको यू–२१ टोलीका लागि १० खेल खेलिसकेका थिए । तर लिलका यी मिडफिल्डरले मोरक्कोको राष्ट्रिय टोलीमा स्थान बनाउँदै ‘एटलस लायन्स’ को विश्वकप अभियानमा सहभागी हुने अवसर पाए । सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरक्कोले यसपटक पनि त्यस्तै उपलब्धि दोहोर्याउने लक्ष्य राखेको छ, र बुआद्दी त्यस योजनाका महत्वपूर्ण हिस्सा मानिएका छन् ।
पछिल्ला दुई सिजनमा उनले फ्रान्सेली लिग वानमा मात्र होइन, विशेषगरी युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगमा देखाएको प्रदर्शनले धेरैको ध्यान तानेको छ । उत्कृष्ट बल नियन्त्रण, खेल पढ्ने क्षमता र मिडफिल्डबाट खेल सञ्चालन गर्ने दक्षताले उनलाई आफ्नो उमेर समूहकै उत्कृष्ट प्रतिभामध्ये एक बनाएको छ ।

उनको प्रतिभाले युरोपका ठुला क्लबहरूको समेत ध्यान आकर्षित गरेको छ । हाल पीएसजी र आर्सनल उनलाई अनुबन्ध गर्न प्रतिस्पर्धामा रहेको बताइन्छ । त्यसैले लिल पनि बुआद्दीले उत्तर अमेरिकामा हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गरून् भन्ने चाहन्छ, जसले उनको स्थानान्तरण मूल्य अझ बढाउन मद्दत गर्न सक्छ ।
विश्वकप बुआद्दीका लागि केवल अन्तर्राष्ट्रिय डेब्यु प्रतियोगिता मात्र होइन, विश्व फुटबलमाझ आफ्नो क्षमता प्रमाणित गर्ने सबैभन्दा ठुलो मञ्च पनि बन्नेछ ।
गिल्बर्टो मोरा (मेक्सिको)
सह–आयोजक राष्ट्रका रूपमा मेक्सिकोमाथि यस विश्वकपमा ठुलो दबाब रहने निश्चित थियो, विशेषगरी सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि । त्यसैले ‘एल ट्राइ’ नयाँ नायकहरूको खोजीमा छ, र अहिले सम्पूर्ण आशा केवल १७ वर्षीय गिल्बर्टो मोरामाथि केन्द्रित भएको देखिन्छ । उनी प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडीसमेत हुन् ।
‘द मेक्सिकन पेड्री’ उपनामले परिचित मोराले सन् २०२५ को गोल्ड कपको नकआउट चरणमा राष्ट्रिय टोलीको सुरुआती रोजाइमा अप्रत्याशित रूपमा अवसर पाएका थिए । तर उनले त्यो अवसरलाई पूर्ण रूपमा सदुपयोग गरे । प्रशिक्षक जाभियर अगुइरोको टोलीले उपाधि जित्दा मोराले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यो उपलब्धिसँगै मोरा कुनै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बने । यसअघि १२ महिनाअघि स्थापित लमिन यमलको कीर्तिमान उनले तोडेका थिए । सन् २०२६ को सुरुआती केही महिना चोटका कारण उनी मैदानबाहिर रहे । यसले क्लब टिजुआनाका यी युवा प्रतिभाको विकासक्रममा केही अवरोध सिर्जना गरेको थियो । तर अहिले उनी पूर्ण रूपमा फिट भइसकेका छन् र जुन ११ मा विश्वकप सुरु हुँदा मेक्सिकोको सुरुआती टोलीमा फर्किने अपेक्षा गरिएको छ ।
मिडफिल्डमा सिर्जनात्मक खेल, उत्कृष्ट पास वितरण र खेलको गति नियन्त्रण गर्ने क्षमताका कारण मोरालाई मेक्सिकन फुटबलको उज्ज्वल भविष्यका रूपमा हेरिएको छ । घरेलु समर्थकहरूको अगाडि हुने विश्वकपमा उनले आफ्नो प्रतिभा प्रमाणित गर्न सके मेक्सिकोका नयाँ राष्ट्रिय नायकका रूपमा स्थापित हुन सक्छन् ।
लुका भुस्कोभिच (क्रोएसिया)
यस विश्वकपमा क्रोएसियाको चर्चा फेरि पनि अनुभवी खेलाडीहरूकै वरिपरि घुम्नेछ । विशेषगरी ४० वर्षीय लुका मोड्रिचले आफ्नो शानदार करियरको पाँचौँ विश्वकप खेल्दै टोलीको नेतृत्व गरिरहेका छन् । तर यी चर्चित नामहरूको पछाडि नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरू पनि उदाइरहेका छन्, जसमा लुका भुस्कोभिच सबैभन्दा रोमाञ्चक सम्भावनामध्ये एक मानिन्छन् ।
१९ वर्षीय सेन्टर–ब्याकले पछिल्लो सिजन युरोपका सबैभन्दा आशाजनक युवा रक्षकहरूमध्ये एकका रूपमा आफूलाई स्थापित गरेका छन् । टोटनहमको स्वामित्वमा रहेका भुस्कोभिचले ऋण सम्झौतामा जर्मन क्लब ह्याम्बर्गबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरे । उनको प्रभावशाली खेलका कारण उनी बुन्डेसलिगा सिजनको उत्कृष्ट टोलीमा समेत परेका थिए । त्यति मात्र होइन, उनको प्रदर्शनले बार्सिलोना जस्तो युरोपियन महाशक्ति क्लबको समेत ध्यान आकर्षित गरेको छ ।

विश्वकप छनोट चरणमा उनले क्रोएसियाका लागि पहिलो दुई अन्तर्राष्ट्रिय खेल खेल्दै राष्ट्रिय टोलीमा पनि आफ्नो यात्रा सुरु गरेका छन् । बलियो रक्षात्मक क्षमता, हवाई द्वन्द्वमा प्रभुत्व र खेल पढ्ने असाधारण क्षमताले उनलाई भविष्यका शीर्ष सेन्टर(ब्याकमध्ये एकका रूपमा हेरिएको छ ।
रक्षात्मक जिम्मेवारीमा मात्र होइन, सेट(पिस परिस्थितिमा पनि उनी विपक्षीका लागि ठुलो खतरा बन्न सक्छन् । त्यसैले प्रशिक्षक ज्लाट्को ड्यालिकले यस विश्वकपमा उनलाई जोअस्का भार्डिओल सँगै सुरुआती टोलीमा उतार्ने सम्भावना पनि बलियो छ ।
यदि उनले क्लब फुटबलमा देखाएको लयलाई विश्वकपमा पनि कायम राख्न सके भने, भुस्कोभिच क्रोएसियाको नयाँ स्वर्णिम पुस्ताका प्रमुख अनुहारमध्ये एक बन्न सक्छन् ।
लेनार्ट कार्ल (जर्मनी)
हरेक ठुला प्रतियोगिताअघि केही युवा खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्नुपर्ने माग समर्थकहरूबाट उठ्ने गर्छ । जर्मनीमा पनि यसपटक त्यस्तै भयो, र त्यसको केन्द्रमा थिए १८ वर्षीय लेनार्ट कार्ल । बायर्न म्युनिखबाट उनले देखाएको विस्फोटक प्रदर्शनपछि उनलाई विश्वकप टोलीमा समावेश गर्नुपर्ने आवाज निकै बलियो बनेको थियो ।
आक्रमणमुखी मिडफिल्डर कार्लले युरोपका सर्वश्रेष्ठ क्लबमध्ये एक बायर्न म्युनिखको पहिलो टोलीमा खेल्दा कुनै दबाब महसुस नगरेझैँ देखिए । उनले सिजनभर विभिन्न प्रतियोगितामा गरी १६ गोल र असिस्टमा प्रत्यक्ष योगदान दिँदै आफूलाई जर्मन फुटबलको नयाँ आशाका रूपमा स्थापित गरे ।
मार्च महिनामा प्रशिक्षक जुलियन नागेलस्मानले उनलाई पहिलो पटक जर्मनीको सिनियर टोलीमा अवसर दिएपछि समर्थकहरू उत्साहित बनेका थिए । अझ रोचक कुरा के भने, केही महिनाअघि मात्र यू–२१ टोलीबाट डेब्यु गरेका कार्लले अन्तर्राष्ट्रिय स्तरमा पनि तुरुन्तै सहज र आत्मविश्वासी प्रदर्शन गरे ।

त्यसपछि नागेल्समानका लागि उनलाई विश्वकप टोलीबाट बाहिर राख्नु लगभग असम्भवजस्तै बन्यो । अहिले त उनी सुरुआती टोलीमै स्थान बनाउन सक्ने बलिया दाबेदारका रूपमा हेरिएका छन् । चोटका कारण बाहिरिएका सर्जे ग्यानब्रीको अनुपस्थितिमा जर्मनीले आक्रमणको दोस्रो पंक्तिमा नयाँ विकल्प खोजिरहेको छ, र कार्ल त्यस रिक्तता भर्ने प्रमुख उम्मेदवार बनेका छन् ।
यदि उनले सुरुआती टोलीमा स्थान बनाए भने, उनी जमल मुसियाला र फ्लोरियन विर्ट्जसँग मिलेर स्ट्राइकर पछाडिको सिर्जनात्मक भूमिकामा खेल्न सक्छन् । ती तीन युवा प्रतिभाको संयोजनले जर्मनीको आक्रमणलाई विश्वकपकै सबैभन्दा रोमाञ्चकमध्ये एक बनाउन सक्ने सम्भावना छ ।
विश्वकप २०२६ लेनार्ट कार्लका लागि केवल ठुलो प्रतियोगिता मात्र होइन, विश्व फुटबलमा आफूलाई सुपरस्टारका रूपमा स्थापित गर्ने सुनौलो अवसर पनि हुन सक्छ ।
केरिम अलाजबेगोभिच (बोस्निया र हर्जगोभिना)
बोस्निया र हर्जगोभिनाको टोलीमा सबैभन्दा धेरै ध्यान अनुभवी स्ट्राइकर एडिन डेज्कोले तान्ने भए पनि, टोलीको सबैभन्दा रोचक कथा भने फरक पुस्ताबाट आएका १९ वर्षीय केरिम अलाजबेगोभिचसँग जोडिएको छ । उनको योगदान बिना बोस्निया सम्भवतः उत्तर अमेरिकामा हुने विश्वकपसम्म पुग्नै नसक्ने अवस्था पनि हुन सक्थ्यो ।
मार्च महिनामा भएको प्लेअफ सेमिफाइनलमा वेल्स विरुद्ध उनले बेन्चबाट आएर डेज्कको बराबरी गोलमा असिस्ट गरे । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको अवस्थामा उनले निर्णायक पेनाल्टी सफलतापूर्वक रूपान्तरण गर्दै आफ्नो देशलाई फाइनल प्रवेश गराए । त्यस फाइनलमा इटाली विरुद्ध पनि उनले प्रभावशाली प्रदर्शन दोहोर्याए, जसले बोस्नियालाई लगातार दोस्रो पेनाल्टी जिततर्फ डोर्यायो ।

यसरी उनले छोटो समयमै राष्ट्रिय नायकजस्तै स्थान बनाएका छन् । रेड बुल साल्जबर्गसँगको पछिल्लो सिजनमा उनले सबै प्रतियोगितामा १३ गोल गर्दै आफ्नो आक्रमण क्षमता प्रमाणित गरेका थिए । अस्ट्रियामा देखाएको उत्कृष्ट प्रदर्शनपछि जर्मन क्लब बायर लेभरकुसनले उनको बायब्याक क्लज सक्रिय गर्दै उनलाई आगामी बुन्डेसलिगा सिजनअघि नै फिर्ता ल्याउने निर्णय गरेको छ ।
विङ्गरका रूपमा उनको खेल शैली अलिकति ढिलो तर अत्यन्त प्रभावकारी मानिन्छ । बल नियन्त्रण, निर्णायक पास र अवसर सिर्जना गर्ने क्षमताले उनलाई बोस्नियाको आक्रमणमा महत्वपूर्ण हतियार बनाएको छ । यदि उनले यही लय विश्वकपमा पनि कायम राखे भने, अलाजबेगोभिच प्रतियोगिताका सबैभन्दा अप्रत्याशित तर प्रभावशाली खेलाडीमध्ये एक बन्न सक्छन् ।
टायलर फ्लेचर (स्कटल्याण्ड)
विश्वकपको पूर्वसन्ध्यामा स्कटल्याण्डले ठुलो झट्का बेहोर्नुपर्यो, जब प्रमुख मिडफिल्डर बिली गिल्मर हाइटीविरुद्धको मैत्रीपूर्ण खेलमा घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिए । तर एक खेलाडीको निराशा अर्काका लागि अवसर बन्ने गर्छ, र त्यो अवसर अहिले टायलर फ्लेचरको हातमा आएको छ ।
स्कटल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर ड्यारेन फ्लेचरका छोरा टायलर फ्लेचरले यस सिजन म्यानचेस्टर युनाइटेडको पहिलो टोलीमा डेब्यु गर्ने अवसर पाएका थिए । यसअघि उनले म्यानचेस्टर सिटीको एकेडेमीमा पनि समय बिताएका थिए र हालै उनलाई युनाइटेडको रिजर्भ टोलीको उत्कृष्ट खेलाडी घोषित गरिएको छ ।

बलियो र प्रतिस्पर्धात्मक खेल शैलीका साथसाथै बल नियन्त्रण र पासिङ क्षमतामा दक्ष मिडफिल्डरका रूपमा उनी चिनिन्छन् । टायलरले आफ्नो जुम्ल्याहा भाइ ज्याक फ्लेचरसँगै केही समय इङ्ग्ल्यान्डको युवा टोलीमा पनि प्रतिनिधित्व गरेका थिए । तर जहाँ उनका भाइ अझै पनि इङ्ग्ल्यान्ड (थ्री लायन्स) तर्फको सम्भावनामा छन्, टायलरले भने सन् २०२४ मा स्कटल्याण्ड रोजे ।
उनको यो निर्णयलाई अहिले ठुलो अवसरमा परिणत गरिएको छ, किनकि उनी विश्वकप टोलीमा स्थान बनाउँदै स्कटल्याण्डको मिडफिल्डमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएका छन् । शारीरिक संघर्ष र खेल निर्माण दुवैमा सक्षम मानिने टायलर फ्लेचरले यस विश्वकपमा आफ्नो प्रतिभा प्रमाणित गर्ने सुनौलो अवसर पाएका छन् ।
लुकास हेरेङ्टन (अस्ट्रेलिया)
अस्ट्रेलियाका धेरै खेलाडीहरूभन्दा फरक रूपमा लुकास हेरेङ्टनलाई विश्वकप प्रशिक्षण शिविरमा पुग्न लामो यात्रा गर्नुपरेन, किनकि उनी अहिले एमएलएस क्लब कोलोराडो र्यापिड्सबाट खेलिरहेका छन् र क्यालिफोर्नियामा रहेको ‘सोक्केरूस’ टोलीको प्रशिक्षण केन्द्र नजिकै बसोबास गर्छन् ।
१८ वर्षीय सेन्टर(ब्याक हेरेङ्टनले सन् २०२६ को सुरुआतमा अमेरिका पुगेपछि छिट्टै ध्यान आकर्षित गर्न सफल भए । उनीसँग अस्ट्रेलियाको ए(लिगमा ब्रिस्बेन रोअरका लागि खेल्दै जम्मा २९ वटा मात्र पहिलो टोली खेलको अनुभव भए पनि, कोलोराडो र्यापिड्सका लागि उनले यस सिजन सबै खेलमा पूरा समय मैदानमा बिताउँदै आफूलाई टोलीको प्रमुख रक्षकका रूपमा स्थापित गरेका छन् ।

उनको निरन्तर उत्कृष्ट प्रदर्शनका कारण उनले मार्च महिनामै अस्ट्रेलियाका लागि पहिलो अन्तर्राष्ट्रिय क्याप प्राप्त गरे । त्यसपछि उनी प्रशिक्षक टोनी पोपोभिचको योजनामा छिट्टै समावेश हुँदै गए । हेरेङ्टनको बलियो रक्षात्मक क्षमता, हवाई द्वन्द्वमा प्रभाव र खेल पढ्ने असाधारण कौशलले उनलाई युवा सेन्टर(ब्याकमध्ये एक उत्कृष्ट प्रतिभाका रूपमा स्थापित गरेको छ । यसै कारण उनी जुन १३ मा टर्कीविरुद्ध हुने अस्ट्रेलियाको उद्घाटन खेलमा सुरुआती टोलीमै पर्ने सम्भावना बलियो छ ।
उनको प्रदर्शनले युरोपका ठुला क्लबहरू, विशेषगरी प्रिमियर लिगकाका स्काउटहरूको ध्यान पनि तानिसकेको छ । यदि उनले विश्वकपमा आफ्नो क्षमता प्रमाणित गर्न सके भने, उनी चाँडै नै युरोपेली फुटबलमा ठुलो स्थान बनाउन सक्ने सम्भावना देखिन्छ ।
हम्जा अब्देलकरिम (इजिप्ट)
इजिप्टले आफ्नो अन्तिम विश्वकप टोली घोषणा गर्दा सबैभन्दा ठुलो आश्चर्यजनक निर्णयमध्ये एक रूपमा पहिले कहिल्यै राष्ट्रिय टोलीमा नखेलेका हम्जा अब्देलकरीमलाई समावेश गर्यो । यस निर्णयले धेरैलाई चकित बनायो, तर उनको सम्भावनाप्रति विश्वास गर्नेहरूको कमी भने थिएन ।
अब्बेलकरीमले सन् २०२५ को फेब्रुअरीमा इजिप्टको प्रसिद्ध क्लब अल(अहलीका लागि खेल्दै सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए । त्यसयता उनले क्लब स्तरमा केवल नौ पटक मात्र वरिष्ठ टोलीका लागि मैदानमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा भने उनी पहिले इजिप्टको यू–१७ टोलीसम्म सीमित थिए ।

तर उनको प्रतिभा भने ती तथ्याङ्कले मात्र पूर्ण रूपमा देखाउँदैन । फेब्रुअरीमै उनलाई स्पेनिस महारथी बार्सिलोनाले ऋण सम्झौतामा अनुबन्ध गरेको थियो, जसले उनको सम्भावनाप्रति ठुलो विश्वास देखाएको थियो ।
बार्सिलोनाको यू–१९ टोलीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै सात खेलमा पाँच गोल गरेपछि उनी अझ चर्चामा आए । यस प्रदर्शनपछि क्याटलान क्लबले उनको स्थायी अनुबन्धको सम्भावना पनि विचार गरिरहेको छ ।
इजिप्टका लागि यस विश्वकपमा उनको भूमिका अझै स्पष्ट छैन, तर उनलाई नम्बर–९ जर्सी दिइनुले उनी खेल्ने सम्भावना बलियो रहेको संकेत गर्छ । यदि उनले अवसर पाए भने, अब्देलकरीम प्रतियोगिताका सबैभन्दा अप्रत्याशित तर प्रभावशाली युवा खेलाडीमध्ये एक बन्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण