बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

नयाँ सरकार गठनबारे दलहरूबिच लगातार छलफल

सोमबार, २६ चैत २०८०, १३ : १७
सोमबार, २६ चैत २०८०

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक निरन्तर चलिरहेको छ । प्रदेशसभा संसद सचिवालयमा अहिले केहीबेरमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्न लागेको छ ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । बैठकले मन्त्रीहरूको राजीनामा बुझाउन निर्देशन नदिए पनि नयाँ सरकार बनाउने विषयमा ठोस निर्णय गर्न सक्ने स्रोतको दाबी छ । 

माओवादी केन्द्र संसदीय दलको बैठक सकिए लगत्तै आजै दिउँसो ३ बजेका लागि एमाले–माओवादीसहितको बैठक बोलाइएको छ । उक्त बैठकमा दुई पार्टीबिच सरकारको नेतृत्व आलोपालो गर्ने, मन्त्रालय भागबन्डा लगायतका विषयमा सहमति हुनसक्ने बताइएको छ ।

दुवै पक्षबिच हुने छलफलको निष्कर्षका आधारमा दलहरूले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबिचमा पनि छलफल गर्ने जनाइएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई भने विशेष कामका लागि भन्दै काठमाडौँमा रहेका छन् । उनी विराटनगर आएलगत्तै एकीकृत समाजवादीसँग छलफल हुने एमालेका एक नेताले बताए । 

यसअघि आइतबार पनि एमाले र माओवादीको संसदीय दलका नेता हिक्मतकुमार कार्की र इन्द्रबहादुर आङ्बोबिच छलफल भएको थियो भने त्यसको केही समयपछि पुनः एमालेबाट कार्कीसहित उपनेता रामबहादुर रानामगर र दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा माओवादी केन्द्रबाट नेता आङ्बोसहित सांसदहरू जीवन आचार्य, दुर्गाप्रसाद चापागाईँ र पूर्व सभामुख बाबुराम गौतमबिच छलफल भयो । गत शुक्रबार पनि दलहरूबिच छलफल भएको थियो । 

केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेको छ । गठबन्धनकै सहमतिअनुसार कर्णाली, बाग्मती, लुम्बिनी र गण्डकीमा सरकार निर्माण भइसकेको छ । जसमा माओवादी केन्द्रको भागमा परेको बाग्मती र लुम्बिनीमा सहज ढंगले सरकार निर्माण भइसकेको कारण एमालेबाट कोशी प्रदेशमा पनि छिटो टुंगोमा पुर्याउन दबाब आइरहेको एक माओवादी सांसदले बताए । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार विस्थापित गरेर पुनः सोही उपधाराअनुसार सरकार गठन गर्ने विषयमा दलहरूबिच लगभग सहमति भइसकेको बताइएको छ । प्रदेश प्रमुखको कार्यालयले पनि सरकार फेरबदलका लागि हुनसक्ने विभिन्न प्रयासको विषयमा छलफल गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप