बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

२०८० मा सेयर बजार : मार्केट क्यापिटलाइजेशन झन्डै ४ खर्बले बढ्यो

शुक्रबार, ३० चैत २०८०, १५ : ०१
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । २०८० साल पुँजी बजारका लागि मध्यम रहेको छ । नेप्से सूचकमा खासै ठुलो परिवर्तन नआए पनि यता मार्केट क्यापिटलाइजेशन (बजार पुँजीकरण) भने झन्डै ४ खर्ब रुपैयाँले बढेको छ ।  २०७९ चैत ३० गते २८ खर्ब १८ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको पुँजी बजार एक वर्षपछि २०८० चैत २८ गतेसम्ममा ३ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँले बढेर ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको हो । 

तथापि, यता नेप्से सूचक भने समीक्षा अवधिमा जम्मा ९१ अंकले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार २०७९ चैत ३० गते नेप्से सूचक १९३४.४७ अंकमा रहेको थियो । तर, २०८० चैत २८ गतेसम्मको कारोबारका आधारमा यो वर्ष नेप्से सूचक ९१.२२४५ अंकले बढ्दै २०२५.७० अंकमा उक्लिएको हो । 

कारोबारका हिसाबले यो वर्ष सेयर बजारका लगानीकर्ताहरूले त्यति धेरै कमाउन नसके पनि गुमाउनुपरेको छैन ।  चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सेयर बजारलाई नियन्त्रण गर्ने गरी मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ को क्याप लगाइएको थियो भने यस्तो कर्जा प्रवाहमा १०० प्रतिशत रहेको जोखिम भार समेत बढाएर १५० प्रतिशत पुर्‍याइदिएको थियो ।

यसले सेयर बजारले ठुलो क्षति बेहोर्नुपरेको भन्दै लगानीकर्ताहरूले केन्द्रीय बैंकको नीतिको तीव्र विरोध गरेका थिए । यसै मुद्दाले राष्ट्र बैंक र अर्थमन्त्रालयबिच नै तिक्ततापूर्ण अवस्थाको सिर्जना समेत हुनपुग्यो ।  तथापि, आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमा केही संशोधन गर्दै ४/१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो १२ करोडको सीमा मात्र कायम गरिदियो ।

थप मौद्रिक नीतिको पछिल्लो समीक्षाले सो १२ करोडको सीमा समेत वृद्धि गर्दै २० करोड पुर्‍याइदिएको छ भने १५० प्रतिशतको जोखिम भार समेत घटाएर १२५ प्रतिशतमा झारिदिएको छ । यसले सेयर मार्केट सुधारमा केही भूमिका खेलेको लगानीकर्ताहरूको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप