मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

मन्त्री व्यवस्थापन गर्न एकीकृत समाजवादीलाई सरकारको २ प्रस्ताव

बुधबार, ०५ वैशाख २०८१, ०७ : १३
बुधबार, ०५ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो ।

सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका हुन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले विना विभागीय मन्त्रीको व्यवस्थापनका विषयमा एकीकृत समाजवादीलाई ३ मन्त्री कायम राखे मन्त्रालयको सङ्ख्या बढाएर विभाग तोक्ने प्रस्ताव राखिएको बताए । एक मन्त्री फिर्ता गरी विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेको खण्डमा रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरिएको उनले बताए  ।

उनका अनुसार मन्त्रालय बढाउने र हेरफेर गर्ने विषयमा सत्तारुढ दल नेकपा एमालेसँगको छलफलबाट निर्णय गरिएको बताए । १३ मन्त्री कायम भएको खण्डमा प्रदेशमा रहेका १२ मन्त्रालयमा थप एक विभाग गठन गरी १३ मन्त्रालय बनाउने र विना विभागीय मन्त्रीको जिम्मेवारी तोक्न एमाले तयार रहेको उनको भनाई छ ।

उक्त विषयमा सत्ता गठबन्धन दलहरू बिच भने सहमति हुन बाँकी नै रहेको उनले बताए । मुख्य दलहरू बिच सहमति भएको र सोही अनुसार एकीकृत समाजवादीलाई प्रस्ताव अघि बढाइएको उनको भनाई छ । प्रस्तावको विषयमा पार्टी भित्र छलफल गरेर निर्णय लिने जवाफ आएको प्रमुख सचेतक ढकालले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले गत चैत १९ गते विश्वासको मत लिएर सत्ता सुरक्षित गरे लगत्तै २० गते मौजुदा मन्त्रिपरिषद्मा ५ मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका थिए । उनले प्रदेशमा रहेको १२ वटा मन्त्रालय र १३ जना मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीबाट रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेपछि गठबन्धन दलमा मन्त्रालय भागबन्डाको विषय पेचिलो बनेको थियो ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले सरकारका तर्फबाट खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेको बताए । मन्त्रालय विभाजनमा आफूहरू सहमत नरहेको र पावर सेयरिङमा सन्तुलन नभएसम्म सहमति नजुट्ने उनले बताए ।

सत्ता समिकरण परिवर्तन पछि गठन भएको मन्त्रिपरिषद्मा गठबन्धन दलहरू बिच मन्त्रालय भागबन्डा र पावर सेयरिङका विषयमा किचलो भइरहेको थियो ।

यसअघि एकीकृत समाजवादीले नियुक्त गरिएको मन्त्रीको विभागीय जिम्मेवारी तोक्न र पावर सेयरिङमा सन्तुलन कायम गर्न माग गर्दै आएको थियो । सो दलले गठबन्धन दलको समान हैसियत कायम गर्न ठुलो मन्त्रालयका रूपमा भौतिक पूर्वाधार विकास मन्त्रालय माग गरेको थियो । सो समयमा सत्ता गठबन्धनका ठुला दलले एकीकृत समाजवादीको माग अनुसार मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले सरकारका तर्फबाट खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेको बताए । मन्त्रालय विभाजनमा आफूहरू सहमत नरहेको र पावर सेयरिङमा सन्तुलन नभएसम्म सहमति नजुट्ने उनले बताए । मन्त्री फिर्ता गर्ने तथा मन्त्रालय सङ्ख्या बढाउने तर्फ असहमति रहेको जनाउँदै उनले ११ मन्त्रालय बनाएको खण्डमा सोही अनुसार सोच्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप