मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

मेडिकलको नाममा कतार भिसा सेन्टरले श्रमिकलाई दुःख दिएको आरोप

‘रि–भिजिट’को नाममा कामदारमाथि अनावश्यक आर्थिक भार थोपरियो : संघ
बुधबार, ०५ वैशाख २०८१, १२ : ४१
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार जाने श्रमिकहरूले स्वास्थ्य परीक्षणको नाममा दुःख पाइरहेको बताएका छन् । कतार भिसा सेन्टर (क्यूभीसी) ले स्वास्थ्य परीक्षणको नाममा अनेकन् दुःख दिइरहेको श्रमिकहरूले बताएका हुन् । 

कतारमा रोजगारीका लागि जान कतार भिसा सेन्टरमा बायोमेट्रिक गराउनुपर्छ । त्यही बेला गरिने स्वास्थ्य परीक्षणमा फेल गराएर बाहिर पुनः स्वास्थ्य परीक्षण गर्न लगाउने गरेको उनीहरूको आरोप छ । 

काभ्रेका एक श्रमिकले आफूमा कुनै स्वास्थ्य समस्या नहुँदा पनि पुनः स्वास्थ्य परीक्षणको लागि निजी अस्पतालमा पठाइएको बताए । छातीमा दाग देखिएको भन्दै क्यूभीसीले उनलाई थप स्वास्थ्य परीक्षणका लागि चिरायु अस्पताल पठाइएको थियो । ‘भिसा सेन्टरमै मेडिकल परीक्षण गराएको थिएँ । त्यहाँ डाक्टरले एउटा कागज दिएर चिरायुमा जानु, त्यहाँ थप परीक्षण गराउनुपर्छ भन्यो,’ ती श्रमिकले भने । 

त्यसका लागि सात हजार रुपैयाँ शुल्क तोकिएको थियो । उनले दुई हजार १०० रुपैयाँ छुट पाएर चार हजार ९०० रुपैयाँ तिरे । 

बसुन्धारामा रहेको चिरायु अस्पतालले उपलब्ध गराएको रिपोर्ट अनुसार उनको छातीका परीक्षण गरिएको थियो ।  रिपोर्टमा फोक्सोमा सानो मासु पलाएको देखिएको छ ।

Small nodule is seen in superior segment of RLL रिपोर्टमा छ । डाक्टरहरूका अनुसार अर्को कुनै समस्या नआएको खण्डमा यसलाई सामान्य नै मानिन्छ । यस्तो अवस्थामा टीबी नदेखिए श्रमिकहरू सामान्यतया विदेशिक रोजगारमा जान फिट नै मानिन्छन् ।

उनी यसअघि १३ वर्ष कतारमा बसेर आएका थिए । कतारमा गरिएको स्वास्थ्य परीक्षणमा समेत उनको छातीमा दाग देखाएको थियो । सानोमा लडेर चोट लागेर दाग देखिएको भनेपछि उनले लामो समयदेखि त्यहीँ काम गर्दै आएका थिए ।

तर, यो पटक भने क्यूभीसीले थप स्वास्थ्य परीक्षण गराउनुपर्ने भन्दै चिरायु पठाइदियो ।  ‘१३ वर्ष कतारमा बस्दा केही समस्या देखिएन । अहिले आएर छातीमा दाग छ, थप स्वास्थ्य परीक्षण गराउनुपर्छ भनियो,’ उनले भने ।  

यसरी स्वास्थ्य परीक्षणको नाममा सेन्टरले अनावश्यक दुःख दिने गरेको श्रमिकहरूको गुनासो आएको हो । मेनपावर व्यवसायीहरूले समेत बिना कारण श्रमिकहरूको मेडिकल फेल गराउने र निजी अस्पताल पठाउने गरेको बताएका छन् । कतारमा श्रमिक पठाउँदै आएका एक मेनपावर व्यवसायीले कतार भिसा सेन्टरबारे श्रमिकहरूले धेरे गुनासो गर्ने गरेको बताए । 

भिसा सेन्टरमा गरिने पहिलो मेडिकल परीक्षणको शुल्क कतारस्थित सम्बन्धित कम्पनीले नै पठाउँछ । त्यसका लागि प्रति श्रमिक १४ हजार नेपाली रुपैयाँभन्दा बढी रकम कम्पनीले कतार भिसा सेन्टरलाई पठाउने गरेको ती व्यवसायीको भनाइ छ । 

क्यूभीसीबाट मेडिकल परीक्षणमा फेल गराएर बाहिर निजी क्लिनिक तथा अस्पतालहरूमा पठाउने गरेको ती व्यवसायीको आरोप छ । ‘मेडिकल्ली फिट हुँदा पनि अनफिट भनेर प्राइभेट क्लिनिकमा पठाइदिन्छन् । त्यसमा पनि नेपाल सरकारका सरकारी अस्पतालको रिपोर्ट मान्य हुँदैन । उनीहरूले भनेकै मेडिकल तथा अस्पतालमा चेकअप गराएको हुनुपर्छ,’ ती व्यवसायीले रातोपाटीसँग भने । 

‘यतिसम्म कि २–३ पटक सम्म पनि रिमेडिकल गराइदिने गरेको छ । यो त नियतवश नै हो,’ ती व्यवसायीको दाबी छ, ‘यसमा श्रमिकले अतिरिक्त आर्थिक भारमा पर्ने एउटा समस्या छ । समयमै विदेश जान नपाउँदा काठमाडौँको बसाइ पनि लम्बिने गरेको छ । यसले पनि श्रमिकलाई समस्या थपेको छ ।’ आफूहरू कहाँ श्रमिकबाट धेरै गुनासो आउने गरे पनि आफूहरूले केही गर्न नसकेको उनले बताए ।  

क्यूभीसीमा रहेका अधिकारीहरू तथा चिकित्सकले रि–मेडिकलका लागि सम्बन्धित अस्पताल तथा मेडिकलमा जानु भनेर तोकेरै पठाउने गरेको श्रमिकहरूको भनाइ छ । 

अर्का एक व्यवसायीका अनुसार स्वास्थ्य परीक्षणमा फेल भएको भन्दै श्रमिकलाई बाहिरका अस्पताल तथा मेडिकलहरूमा ‘रि–भिजिट’ भनेर पठाउने गरेको बताए । स्वास्य परीक्षणको लागि जानेमध्ये आधा जतिलाई मेडिकलमा फेल गराउने गरेको ती व्यवसायीको भनाइ छ । 

रि–भिजिटको नाममा बाहिर अर्कै रिपोर्ट लिन लगाउने गरेको उनको भनाइ छ ।  त्यसका लागि अस्पतालहरूले न्यूनतम २ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म लिने गरेको पाइएको उनको भनाइ छ । 

‘सुरुमा आफ्नै ल्याबमा चेकअप गराउँछन् । अत्याधुनिक ल्याब क्यूभीसीमै छ । त्यसमा रिपोर्ट देखाएन वा थप परीक्षण गराउनुपर्छ भनेपछि बाहिर पठाउँछन् । भित्रकै अत्याधुनिक ल्याबमा परीक्षण गराउनुपर्नेमा बाहिर पठाउनु भनेको उनीहरूको नियत राम्रो होइन,’ ती व्यवसायीले भने । 

explore-qvc

  • कसरी हुन्छ स्वास्थ्य परीक्षण ? 

स्वास्थ्य परीक्षण बायोमेट्रिक दर्तापछि कतार भिसा केन्द्रमै हुन्छ । भिसा स्वास्थ्य परीक्षणमा परामर्श सुविधा, एक्स–रे परीक्षण र प्रयोगशाला जाँच गरिन्छ । भिसा सेन्टरका अनुसार परामर्श सुविधामा स्वास्थ्य इतिहास र शारीरिक जाँच, दृष्टि जाँच, शारीरिक चिह्नहरू जस्तै : उचाइ, मोटाइ र रक्तचाप आदिको जाँच गरिन्छ । 

त्यस्तै एक्स रे परीक्षणमा छाती एक्स रे तथा आन्तरिक दृश्यको परीक्षण गरिने गरेको सेन्टरले जनाएको छ । त्यस्तै प्रयोगशालामा जाँचमा एचआईभी परीक्षण, हेपटाइटिस–बि र हेपटाइटिस–सी, सुगर, एसजीओटी, एसजीपीटी, गर्भवस्था जाँच, हेमोग्लोबिन लगायतको परीक्षण  गराइन्छ । 

त्यस्तै मलेरिया र माइत्रो फिलारियल पारासाइटलाई रगतको मोटोपनको समेत परीक्षण गराउने गरिएको छ । यी सबैको परीक्षण गरेपछि मात्रै स्वास्थ्य परीक्षणको प्रमाणपत्र दिइन्छ । 

यसका लागि सबै शुल्क कतारस्थित सम्बन्धित कम्पनीले नै भिसा सेन्टरको नाममा पठाउँछ । त्यसपछि मात्रै भिसा सेन्टरले स्वास्थ्य परीक्षण गराउँछ । यसरी भिसा सेन्टरमै गराइने जाँचमा फेल भएपछि वा थप परीक्षण गर्नुपर्ने देखिएपछि बाहिर रिफर गर्ने गरिएको सेन्टरले जनाएको छ । 

  • कतार सरकारको नियम पालना गरेका हौँ : सेन्टर

क्यूभीसीका प्रताप कुमार गुरुङले कतार सरकारको नियम अनुसार नै स्वास्थ्य परीक्षण गराउँदै आएको बताए । केही परीक्षणहरू स्पष्ट नभएमा पुनः परीक्षण गराउनुपर्ने कतार सरकारको स्पष्ट व्यवस्था रहेको उनको भनाई छ । 

‘पुनः परीक्षण केन्द्रमै पनि हुनसक्छ । अर्को कुनै अस्पताल रिफर पनि गर्ने गरिन्छ । त्यसका लागि जुन पायो त्यही अस्पतालमा मिल्दैन । कतार सरकारले नै तोकेका अस्पतालमा गर्नुपर्छ । ती मध्ये जुनसुकैमा गराएपनि हुन्छ,’ गुरुङले भने । 

यसका लागि सबै जाँच र परीक्षण प्रक्रियालाई २ महिना (६० दिन) लागेमा निवेदकले पुनः स्वास्थ्य परीक्षण गराउनुपर्ने उनको भनाइ छ । 

  • कामदारमाथि अनावश्यक आर्थिक भार : संघ 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले स्वास्थ्य परीक्षणको नाममा श्रमिकमाथि अनावश्यक आर्थिक भार थोपार्ने काम भइरहेको बताए । ‘मेडिकल अनफिट भयो भन्ने । छातीमा दाग देखियो औषधि खानुपर्छ भनेर हप्तौँसम्म झुलाइदिने । यो सबै श्रमिक र व्यवसायीलाई दुःख दिने नियतले गरेको देखिन्छ,’ अध्यक्ष भण्डारीले भने, ‘एकातिर श्रमिकलाई दुःख दिने काम भइरहेको छ भने अर्कोतिर श्रमिकमाथि आर्थिक भार थोपारिरहेको छ,’ 

यो विषयमा संघले बसेर छलफल गर्ने र अहिले देखिएको विद्यमान समस्याको समाधान खोजिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप