आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलमा आज : बलियो कोलकातालाई निरीह बैंगलुरुको चुनौती

आइतबार, ०९ वैशाख २०८१, ११ : ०४
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको १७औँ संस्करणमा आइतबार दुई खेल हुँदै छन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने छ । दोस्रो खेल पञ्जाब किङ्स र टाइटन्सबिच हुनेछ ।

कोलकाता र बैंगलुरुबिचको खेल दिउँसो ३ः४५ बजे इडेन गार्डेन्स स्टेडियममा सुरु हुनेछ । इडेन गार्डेन्स कोलकाताको घरेलु मैदान हो । जारी सिजनको आईपीएलमा कोलकाताले आफ्नो सातौँ खेल खेल्न लागेको हो ।

कोलकाता यसअघि खेलिएको ६ मध्ये चार खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । कोलकाता आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । तालिकामा राजस्थान रोयल्स १२ अंकसहित पहिलो र सनराइजर्स हैदराबाद १० अंकसहित दोस्रो स्थानमा छन् ।

कोलकाताले सिजनको गतिलो सुरुआत गरेको थियो । कोलकाताले सुरुकै तीनवटा खेलमा सफलता हात पारेको थियो । कोलकाताले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई चार रनले र दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले हराएको थियो ।

आफ्नो तेस्रो खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई एक सय ६ रनको फराकिलो अन्तरले हराएको थियो । कोलकाता आफ्नो चौथो खेलमा भने चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो । पाँचौँ खेलमा लुखनउ सुपर जाइन्ट्सलाई हराएको कोलकाताले छैटौँ खेलमा भने राजस्थान रोयल्ससँग हार ब्यहोरेको थियो ।

बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । जारी सिजनमा बैंगलुरुले अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको छ । बैंगलुरु यसअघि खेलिएको सातमध्ये केवल एक खेलमा विजयी र ६ खेलमा पराजित भएको छ ।

बैंगलुरु केवल दुई अंकसहित तालिकाको अन्तिम स्थानमा आसिन छ । जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले हराएको एकमात्र टोली पञ्जाब किङ्स हो । अन्य सबै टोलीसँग बैंगलुरु पराजित हुँदै आएको छ ।

हेड टु हेडमा कोलकाता अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिच कुल ३३ खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा कोलकाताले बैंगलुरुलाई हराएको छ । बाँकी १४ खेलमा बैंगलुरुले सफलता हात पारेको छ ।

यी दुई टोलीबिच आईपीएलमा हालसम्म भएको भिडन्तमा कोलकाताले ५४ प्रतिशत खेलमा सफलता हात पारेको छ । कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भने यी दुई टोलीबिच हालसम्म ११ खेल खेलिएको छ ।

त्यसमध्ये सात खेलमा कोलकाताले बैंगलुरुलाई हराएको छ । बाँकी चार खेलमा भने बैंगलुरुले कोलकातालाई पराजित गरेको छ । जारी सिजनको आईपीएलमा भने यी दुई टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो । यसअघि बैंगलुरुको घरेलु मैदानमा खेलिएको खेलमा कोलकाताले बैंगलुरुलाई सात विकेटले हराएको थियो ।

कोलकाताको सर्वाधिक रन सुनिल नारिनको नाममा

जारी सिजनको इन्डियन प्रिमियर लिगमा कप्तान श्रेयस ऐयरले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । टोलीका लागि यो चिन्ताको विषय हो । कोलकाताका लागि यो सिजन सर्वाधिक रन बनाउने खेलाडी भने सुनिल नारिन हुन् ।

सुनिल नारिनले यसअघि खेलिएको ६ खेलमा कुल दुई सय ७६ रन बनाइसकेका छन् । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने वैभव अरोडा हुन् । उनले हालसम्म चार खेल खेल्दै सात विकेट लिइसकेका छन् । हर्षित राणा र सुनिल नारिनले पनि सात–सात विकेट हात पारेका छन् ।

बैंगलुरुको सर्वाधिक रन कोहलीको नाममा

इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा रोयल च्यालेन्जर्स बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले टोलीका लागि सात खेलमा कुल तीन सय ६१ रन बनाइसेका छन् । यस क्रममा उनले एक शतक पनि प्रहार गरेका छन् । टोलीका लागि सबैभन्दा बढी विकेट लिने बलर भने यश दयाल हुन् । उनले हालसम्म ६ खेलमा पाँच विकेट लिएका छन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिच आइतबारको खेल हुने इडन गार्डेन्स स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ८९ खेल खेलिएको छ ।

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेको छ । जवाफी ब्याटिङमा ओर्लिएको टोलीले हालसम्म ५३ खेलमा सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर चार विकेट गुमाएर दुई सय ३५ रन हो । उक्त स्कोर अघिल्लो वर्षको आईपीएलमा चेन्नईले कोलकाताविरुद्ध बनाएको थियो ।

छैन वर्षाको सम्भावना

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेल हुने दिन आइतबार कोलकातामा चर्को गर्मी हुने बताइएको छ । आइतबार कोलकातामा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोलकाताको तापक्रम २९ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली :

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, वेंकटेश ऐयर, अगकृष रघुवंशी, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राणा । इम्प्याक्ट प्लेयर : वैभव अरोडा ।

रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक्स, सौरव चौहान, रजत पाटिदार, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, रिसे टप्ली, विजय कुमार वैशाख, यश दयाल र लोकी फर्गुसन । इम्प्याक्ट प्लेयर : कर्ण शर्मा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप