आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

एसीसी प्रिमियर कपको उपाधि यूएईको पोल्टामा

आइतबार, ०९ वैशाख २०८१, १९ : ४६
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि संयुक्त अरब इमिरेट्स (यूएई) ले जितेको छ । ओमानमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा यूएईले आयोजक राष्ट्रलाई ५५ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगिताको पहिलो संस्करणमा यूएई उपविजेता बनेको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो संस्करणको फाइनलमा आयोजक राष्ट्र नेपालले यूएईलाई सात विकेटले हराएको थियो । 

एसीसी प्रिमियर कपको पहिलो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो भने दोस्रो संस्करण टी-२० ढाँचामा खेलाइएको हो । दोस्रो संस्करणको सेमिफाइनल खेलमा नेपाललाई नै हराउँदै यूएई फाइनलमा पुगेको थियो । सेमिफाइनल खेलमा यूएईले नेपाललाई ६ विकेटले हराएको थियो ।

आयोजक ओमान भने सेमिफाइनलमा हङ्कङलाई हराउँदै फाइनलमा पुगेको थियो । आइतबार सम्पन्न फाइनल खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रनमात्र बनाउन सक्यो । ठूलो विजयलक्ष्य पछ्याएको ओमानका माथिल्लो क्रमका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

सातौँ नम्बरका ब्याट्सम्यान प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए । विकेटकिपर ब्याट्सम्यान प्रतिकले ३० बलमा तीन छक्का र चार चौका पनि प्रहार गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका खालिद काइलले पनि ३० रन बनाए । 

आयोजक ओमानलाई लक्ष्यसम्म पुग्न नदिन यूएईका बलरले पनि उत्कृष्ट प्रदर्शन गरे । जुनैद सिद्दकीले तीन विकेट लिए । मुहम्मद फारुकले दुई विकेट हात पारे । आयान अफजल खानले पनि दुई विकेट लिए ।  बासिल हमिदले पनि एक विकेट हात पारे । 

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले शतकीय पाली खेलेका थिए । टोलीको कप्तानसमेत रहेका उनले केवल ५६ बलको सामना गरी सात छक्का र ६ चौकाको मद्दतले एक सय रन बनाएका हुन् । 

आसिफ खानले पनि यूएईका लागि अविजित ३८ रनको योगदान गरे । उनले केवल १६ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान एलिसन सराफुले पनि टोलीको खातामा ३४ रन थपेका थिए । उनले २८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । ओमानका बलर बिलाल खानले दुई विकेट लिए ।

प्रतियोगितामा नेपाल चौथो भयो । प्रतियोगिताको नकआउट चरणमा नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । तेस्रो स्थानका लागि खेलिएको खेलमा पनि नेपाललाई हङ्कङले चार विकेटले हराएको थियो । 

समूहगत चरणको खेलमा भने नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणको चरणको चारवटै खेलमा जित हात पार्दै नेपाल समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । समूहगत चरणमा नेपालले मलेसियालाई पाँच विकेटले, कतारलाई ३२ रनले, हङ्कङलाई आठ विकेटले र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप