बिहीबार, १७ जेठ २०८१
ताजा लोकप्रिय
लोकतन्त्र दिवस

‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’

ओहो ! १८ वर्ष भएछ मृत्युको मुखबाट बाँचेको : लक्षीराम आचार्य
मङ्गलबार, ११ वैशाख २०८१, १३ : १४
मङ्गलबार, ११ वैशाख २०८१

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–३ (साबिक चौमाला–९) कुचैनीका लक्षीराम आचार्यलाई २०६२/०६३ को जनआन्दोलनका ‘जिउँदो सहिद’ भनिन्छ । व्यवस्था परिवर्तनका लागि लडेका उनी हाल देश र जनताको अवस्थाको देख्दा दिक्क मानिरहेका छन् ।

आचार्यले शासन व्यवस्थामा धनवाला र डनवालाको हालीमुहाली बढ्दै जाँदा जनतामा निराशा बढ्दै गएको बताए । हाल नेकपा माओवादीको केन्द्रीय सदस्य रहेका आचार्य जनयुद्धका घाइते हुन् । उनी आफूले दोस्रो जीवन पाएको बताउँछन् ।

‘ओहो ! १८ वर्ष भएछ, मरेर बाँचेको । यस्तै छ । बाँचियो, यही खुसीको कुरो हो,’ उनले भने, ‘धेरै सङ्घर्ष गरियो । केही हासिल भयो । शासन व्यवस्थामा अझै धेरै सुधार हुन बाँकी छ ।’

Laxmiram Acharya (1)

२०६२/०६३ सालको जनआन्दोलनताका उनी संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समिति कैलालीका संयोजक थिए ।

२०६२ चैत २८ गते धनगढीको क्याम्पस चोकबाट चौराहातिर आन्दोलनकारीको जुलुस बढ्दै थियो । जिल्ला प्रहरी कार्यालय कैलाली नजिककैको पुलमा प्रहरीले काँडेतार तेर्स्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुग्दा प्रहरी र आन्दोलनकारीबिच झडप भयो र गोली चल्यो ।

बारुदको छर्रा लागेर आचार्यको कपाल जल्यो । भागाभाग भयो । आचार्यले त्यो दिन सम्झिँदै भने, ‘१०/१५ जना प्रहरीको समूहले घेरा हालेर कुट्नसम्म कुटे । नजिकैको बाँसको झाडीमा हाम फालेँ । बेहोस भएछु ।’

सात दिनपछि होस खुल्दा आफूलाई भारतको लखनउस्थित स्वामी विवेकानन्द हस्पिटलमा पाएको उनले सुनाए ।

  • ‘जिउँदो सहिद’को त्यो तक्मा

जनआन्दोलनको घाइतेका रूपमा राज्यको सेवा सुविधा हालसम्म नलिएको बताउने उनी साबिक चौमाला गाविसले आफूलाई पहिलो गाउँ परिषद्बाट ‘जिउँदो सहिद’ भनेर सम्मानसहित प्रदान गरेको तक्मा भने स्वीकार गरेको बताउँछन् । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट पनि सम्मानित भएका थिए ।

  • ‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँ छोड्नुपर्ने बेला आयो’

धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलका स्थानीय एवं आन्दोलनका घाइते प्रयागराज जोशी राजनीतिक नेतृत्वका कारण राम्रो शासन व्यवस्था पनि फेल भएको बताउँछन् ।

Prayagraj_joshi

उनले भने, ‘हामी युवाले जनआन्दोलनताका ...चोर, देश छोड भनेर नारा लगायौँ । तर आज आफै देश छोड्नुपर्ने बेला भयो । भ्रष्ट र स्वार्थी नेताको कारणले नै यो अवस्था आएको हो ।’

चैत २८ गते धनगढीमा प्रहरीले आन्दोलनकारीमाथि लाठी चार्ज गर्दा जोशी घाइते भएका हुन् । नाकमा चोट लाग्दा उनले सुँघ्ने शक्ति समेत गुमाएका छन् ।

प्रहरीको लाठी प्रहारबाट कम्मरमा समेत गम्भीर चोट लागेको उनी धेरै हिँडडुल गर्न र भारी बोक्न सक्दैनन् ।

२०६२ साल चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेसम्म १९ दिने जनआन्दोलनले एकात्मक राजतन्त्रसहितको व्यवस्थालाई उल्टाएको थियो । मुलुक सङ्घीय प्रणालीमा गए पनि जनआन्दोलनमा सहभागी घाइते, अपाङ्गहरू तथा आम नागरिकले वास्तविक लोकतन्त्रको प्रत्याभूति हुन नसकेको गुनासो गरिरहेका छन् ।

  • २० वर्षदेखि बम र बन्दुकका छर्रा शरीरमा बोकिरहेका पतिराम

कैलालीको कैलारी गाउँपालिका–७ बसन्ताका ४८ वर्षीय पतिराम चौधरी (ड्राइगन)लाई पनि १० वर्षे सशस्त्र जनयुद्ध र २०६२/२०६३ को जनआन्दोलनको घाउले पोलिरहेको छ ।

PatiRam Chaudhary

व्यवस्था परिवर्तनसँगै सुनौलो भविष्यका लागि लडेका उनी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेकोमा आफ्नो छाती गौरवको चौडा भएको बताउँछन् । तर, उनको त्यही छाती क्षणक्षणमै पीडाले असह्य दुखाउने गरेको छ । उनको फोक्सोले वर्षौंदेखि बुलेटको विष झेलिरहेको छ ।

यो सुखानुभूति र दुखानुभूतिको एउटै कारण हो, निको नहुने १० सशस्त्र जनयुद्धले दिएको घाउ । उनी तत्कालीन माओवादीका सैन्य कमाण्डर हुन् । देश र जनताका लागि युद्धमा होमिएका उनी युद्धकै मोर्चामा १५ गोली छातीमै थापेर युद्धबाट विश्राम लिए । तर हतियारको युद्धबाट विश्राम लिएका उनी त्यही युद्धको क्रममा खाएको बमका छर्रा र बन्दुकका गोलीहरू शरीरमा बोकेर निरन्तर जीवन सङ्घर्षमा हिँडिरहेका छन् ।

उनी भन्छन्, ‘युद्ध लडियो, देशमा आएको नयाँ शासन व्यवस्थाले खुसी पनि लाग्छ । तर यो व्यवस्थाले जनताको अवस्था परिवर्तन हुन नसक्दा दुःख लाग्छ ।’

२० वर्षदेखि उनको टाउको र हातमा बमका छर्रा छन् । फोक्सोमा बन्दुकको गोली । ‘राज्यबाट पाउँदै आएको जीवन निर्वाह भत्ता पनि कटौती भयो । बडो दुःख लाग्छ,’ उनले भने ।

चौधरी स्कुले जीवनदेखि नै तत्कालीन माओवादी निकट गोचारी परिवारमा संलग्न थिए । २०४८ सालमा कक्षा ८ मा पढ्दै गर्दा गोचारी परिवारमा आबद्ध भएको बताउने उनी २०५२ फागुन १ गते सुरु भएको सशस्त्र जनयुद्धमा होमिए । युद्ध चर्किदै गर्दा २०५६ मा उनी भूमिगत भए । विद्रोही स्वभावका उनी सुरुदेखि नै सैन्य दस्तामा आबद्ध भए ।

माओवादीको जनमिलिसियाबाट आफ्नो विद्रोही सैन्य जीवन सुरु गरेका उनी स्क्वाइट, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै बटालियन कमाण्डरसमेत बने ।

२०५९ सालमा बटालियन कमाण्डर बनेका उनी ४० भन्दा बढी ठुला घटनामा आफू संलग्न भएको सम्झिन्छन् । उनी ३ पटक नेपाली सेनासँग दोहोरो भिडन्त हुँदा घाइते भएको बताउँछन् ।

  • होस खुल्दा अस्पतालमा पाएँ

पहिलो पटक २०५८ मंसिर ११ गते दार्चुलाको गोकुलेश्वरमा प्रहरीको चौकी कब्जा गर्ने क्रममा हातमा बमको छर्रा लागेको चौधरी बताउँछन् । दायाँ हातमा बमको छर्रा अझै रहेको उनले सुनाए ।

केही समयपछि म्याग्दीको बेनीमा आक्रमण गर्दा पुनः घाइते भएको चौधरीले बताए । बेनी घटनामा बमको छर्रा टाउकोमा लागेको र २ वटा छर्रा झिक्न नमिल्ने भएपछि अहिले पनि टाउकोमै रहेको उनको भनाइ छ ।

ती २ घटनाले पनि उनी युद्धको मोर्चाबाट पछि हटेनन् । २०५९ फागुन १४ गते बिहान ८ बजे कैलालीको गौरीगंगा नगरपालिकास्थित बडैपुरमा उनी आबद्ध जनमुक्ति सेनाको बटालियन र नेपाली सेनाको बटालियनबिच दोहोरो भिडन्त भयो ।

घटना स्मरण गर्दै उनले भने, ‘बिहानै दोहोरो भिडन्त सुरु भयो । सँगै रहेका एक जनालाई सेनाको गोली लाग्यो । उनी त्यहीँ ढले । उनको बन्दुक र उनलाई अन्यत्र लैजान खोज्दा पछाडिबाट सेनाको १५ गोली छातीमै बर्सियो । बेहोस भएर त्यहीँ ढलेछु । साथीहरूले बोकेर जङ्गलमा लगे ।’

उनका अनुसार २ दिनपछि भारतको लखनऊस्थित नुवा हस्पिटलमा लगेर १० वटा गोली झिकियो । होस खुलेपछि आफूलाई अस्पतालको शय्यामा पाएको उनले बताए ।

  • दुखिरहने घाउ

थप उपचारका लागि उनलाई सो अस्पतालले दिल्लीको बत्रा हस्पिटलमा रेफर गर्‍यो । एमआरआई गर्दा उनको फोक्सोमा अझै ५ गोली देखियो । अस्पतालले फोक्सोमा रहेको बाँकी ५ गोली झिक्न नमिल्ने सुझाएछ । त्यस दिनदेखि उनी ‘दुस्मन’सँग लड्ने बन्दुक होइन, ‘दुस्मन’ले पछाडिबाट रोपेको ५ गोली फोक्सोमै बोकेर हिँड्न बाध्य छन् ।

बडैपुरको घटनाले उनलाई जीवनभरिका लागि पीडा दिएको छ । युद्धको निशानी बनेर दुख्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप