सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान

बुधबार, १२ वैशाख २०८१, ०८ : १५
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा कुल ७४ खेल खेलिने छ । त्यसमध्ये सोमबार रातिसम्म ३८ खेल समाप्त भइसकेको छ । अर्थात, जारी आईपीएलमा आधाभन्दा बढी खेल खेलिसकिएको छ ।

आईपीएलको १७औँ संस्करणले आधा बाटो तय गर्दासम्म थुप्रै कीर्तिमान पनि बनेका सकेका छन् । आईपीएलको इतिहासमा एक पालीमा सर्वाधिक रनको नयाँ कीर्तिमान पनि यही संस्करणमा बनेको छ । सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध तीन विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो ।

आईपीएलको इतिहासमा कुनै पनि टोलीले एकै पालीमा बनाएको यो नै सर्वाधिक रन हो । उक्त खेलमा जवाफी ब्याटिङ गरेको बैंगलुरुले पनि सात विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो । दुवै टोलीले विशाल योगफल बनाएको त्यो खेलमा हैदराबाद केवल २५ रनले विजयी भएको थियो ।  

आईपीएलको अघिल्लो संस्करणसम्म कुनै पनि टोलीले एक पालीमा बनाएको उच्च स्कोर दुई सय ६३ रन थियो । त्यो स्कोर सन् २०१३ को आईपीएलमा पुणे वारियर्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलुरुले बनाएको थियो । १० वर्षसम्म त्यो कीर्तिमान कसैले तोड्न सकेको थिएन ।

तर, सन् २०१३ मा बनेको त्यो कीर्तिमान आईपीएलको १७औँ संस्करणमा पटक–पटक तोडिएको छ । अर्थात, आईपीएलको जारी संस्करणमा चारपटक दुई सय ६३ भन्दा बढी रन बनिसकेको छ । दुई सभन्दा बढी रन त धेरै पटक बनिसकेको छ ।

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । उक्त खेलमा कोलकाता एक रनले विजयी भएको थियो । दिल्लीविरुद्धको खेलमा सनराइजर्स हैदराबादले सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो ।

यसैगरी कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेलमा पनि दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । उक्त खेलमा राजस्थान दुई विकेटले विजयी भएको थियो । मुम्बईविरुद्धको खेलमा चेन्नई सुपर किङ्सले पनि दुई सय ६ रन बनाएको थियो ।

यसैगरी मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिचको खेलमा पनि दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । त्यो खेलमा मुम्बई २९ रनले विजयी भएको थियो । दिल्ली क्यापिटल्सविरुद्धको खेलका कोलकाता नाइट राइडर्सले दुई सय ७२ रन बनाएको थियो । उक्त खेलमा कोलकाता एक सय ६ रनले विजयी भएको थियो ।

मुम्बई इन्डियन्सविरुद्धको खेलमा सनराइजर्स हैदराबादले पनि दुई सय ७७ रन बनाएको थियो । उक्त खेलमा मुम्बईले पनि दुई सय ४६ रन बनाएको थियो । त्यो खेलमा हैदराबाद ३१ रनले विजयी भएको थियो । गुजरात टाइटन्सविरुद्धको खेलमा चेन्नई सुपर किङ्सले दुई सय ६ रन बनाएको थियो ।

त्यो खेलमा चेन्नई ६३ रनले विजयी भएको थियो । कोलकाता नाइट राइडर्स र हैदराबादबिचको खेलमा पनि दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । त्यो खेलमा कोलकाता चार रनले विजयी भएको थियो ।

आखिर किन आईपीएलको जारी संस्करणमा यति धेरै रन बनिरहेको छ त ? क्रिकेट विश्लेषकहरूका अनुसार, आईपीएलको जारी संस्करणमा बढी रन बन्नुको पछाडि विभिन्न तीनवटा कारण रहेका छन् । त्यसैको बारेमा यहाँ चर्चा गरिएको छ ।

इम्प्याक्ट प्लेयरको नियम

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०२३ मै इम्प्याक्ट प्लेयरको नियम लागू गरेको थियो । तर, त्यसको प्रत्यक्ष असर भने सन् २०२४ को संस्करणमा आएर देखिएको छ ।

इम्प्याक्ट प्लेयरको नियम अनुसार, पहिले ब्याटिङ गर्ने टोली सातजना ब्याट्सम्यान लिएर मैदानमा ओर्लन सक्छन् । ती सातजना ब्याट्सम्यानको भरमा पहिले ब्याटिङ गर्ने टोलीले उल्लेख्य सङ्ख्यामा रन बनाउन सक्छ ।

त्यसपछि त्यही टोली बलिङ गर्न ओर्लँदा उसले पहिले ब्याटिङ गर्ने एकजना ब्याट्सम्यानलाई हटाएर त्यो स्थानमा कुनै नयाँ बलरलाई इम्प्याक्ट प्लेयरको रुपमा प्लेइङ–११ मा समावेश गराउन पाउँछ । तर, टोलीले इम्प्याक्ट प्लेयरको नाम भने पहिले नै सार्वजनिक गर्नुपर्ने हुन्छ ।

स्वाभाविक रुपमा जब कुनै टोली सातजना ब्याट्सम्यानसहित मैदानमा ओर्लन्छ त्यस्तो स्थितिमा बढीभन्दा बढी रन बन्नु स्वाभाविक हुन्छ । जारी आईपीएलमा सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्सजस्ता टोलीले यो नियमको फाइदा उठाउँदै दुई सयभन्दा बढी रन बनाएका छन् ।

तुलनात्मक रुपमा सानो बाउन्ड्री

ipl

आईपीएलको १७औँ संस्करणमा खासगरी सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सले पटक–पटक आक्रमक ब्याटिङ गर्दै आएको देखिन्छ । केही खेलमा मुम्बई इन्डियन्सले पनि आक्रामक ब्याटिङ गरेको छ ।

यसका अतिरिक्त जारी आईपीएलमा केही स्टेडियमको बाउन्ड्र पनि ६० मिटरभन्दा कम रहेको छ । यही कारणले कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादले हालसम्म चार–चारपटक दुई सयभन्दा बढी रन बनाइसकेका छन् ।

केही क्रिकेट विश्लेषकले त आईपीएलको जारी सिजनमा बलरहरू निरीह बन्दै गएको टिप्पणी पनि गरेका छन् । भारतका पूर्वक्रिकेटर सुनिल गावस्कर पनि बलरहरुलाई निरीह बन्नबाट रोक्न बाउन्ड्री रेखालाई लामो बनाउनु पर्ने बताउँछन् । जारी आईपीएलमा मोहम्मद सिराज, एनरिच नोर्जे, मिचेल स्टार्कजस्ता विश्व चर्चित बलरहरू पनि निरीह बनेको देखिन्छ ।

बलिङमा विविधताको कमी

आईपीएलजस्तो लोकप्रिय फ्रेन्चाइज प्रतियोगितामा कुनै पनि टोलीले प्लेइङ–११ मा उत्कृष्ट खेलाडीहरु समावेश गर्नु स्वाभाविक हो । तर, यस्ता फ्रेन्चाइज प्रतियोगितामा खेलाडीहरु विभिन्न टोलीमा बाँडिने भएकाले हरेक टोलीमा नयाँ अनुहारलाई समेटिएको हुन्छ ।

यो संस्करणमार्फत पनि विभिन्न टोलीबाट धेरै खेलाडीले आईपीएलमा ‘डेब्यू’ गरेका छन् । यस्ता खेलाडीसँग ठुला प्रतियोगिता खेल्न अनुभवको कमी हुन्छ । जेराल्ड कोट्जी पनि यसैको उदाहरण हुन् । उनले जारी आईपीएलमा हालसम्म १२ विकेट लिएका छन् । तर, अनुभवको कमी र बलिङमा विविधताको अभाव भएका कारण उनले करिब १० को इकोनोमी रेटमा रन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप