बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’

खेल भनेको कुनै दलको मात्रै एजेण्डा होइन : युवा तथा खेलकुदमन्त्री श्रेष्ठ (अन्तरवार्ता)
बुधबार, १२ वैशाख २०८१, ११ : ५९
बुधबार, १२ वैशाख २०८१

बारा । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अगामी साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा युवा तथा खेलकुदका एजेण्डा छुट्नै नहुने बताएका छन् । केही दिनअघि मधेस प्रदेशको भ्रमणमा रहेका मन्त्री श्रेष्ठले मधेसमा खेलकुदको ठुलो सम्भावना देखेको टिप्पणी गरेका थिए ।

मन्त्री श्रेष्ठसँग मधेस प्रदेशमा खेलकुदको सम्भावना र लगानी सम्मेलनका विषयलाई लिएर रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • मन्त्री भएपछि तपाईं पहिलो पटक मधेस प्रदेश दौडाहामा हुनुहुन्थ्यो, मधेसको दौडाहा कति उपलब्धिपूर्ण रह्यो ?

हामी जनकपुर हुँदै महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्ला घुम्दा मधेसमा खेलजगतले ठुलो सम्भावना बोकेको पायौँ । राज्यले यसमा अलिकति कार्यक्रम, पूर्वाधारहरू निर्माण गरिदिने हो भने र हामी सबैजना इमानदार भएर काम गर्ने हो भने खेलकुदमा नयाँ युगको सुरुवात हुने देखिन्छ ।

विशेषगरी मधेसमा कुस्ती खेलको राम्रो सम्भावना देखिएको छ । अहिले सबैले ठुलो परिवर्तन खोजेका छन् तर खेलाडी, प्रशिक्षकका भावनाहरू सम्बोधन गर्न सकियो भने देशमा खेल जगत फेरि पुनर्जागरण हुन्छ भन्ने विश्वास लाग्छ ।

  • वीरगञ्जको नारायणी स्टेडियम बनाइदिनुपर्‍यो भनेर खेलाडीहरू भनिरहेका हुन्छन्, यसमा तपाईंको भूमिका कस्तो रहन्छ ?

मधेसका ८ जिल्लामध्ये ६ जिल्लाका विभिन्न खेल मैदान, खेलकुद सम्बन्धी कुराहरू स्थलगत रूपमा हेर्दा राज्यले जनताको करबाट खेलकुद पूर्वाधारमा लगानी त गरेको छ, तर त्यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन हुन सकेको छैन । नारायणी स्टेडियम अभिभावकविहीन जस्तो भएको छ ।

अहिले देशमा ३ तहको सरकार छ । स्थानीय सरकारले नारायणी स्टेडियमको संरक्षण र प्रवर्द्धनको जिम्मेवारी लिइदिने हो भनेमात्रै पनि पूर्वाधार निर्माणमा सरकारले गरेको लगानीले प्रतिफल दिन्छ । हामीले पनि खेलकुद पूर्वाधारहरू कुन तह अन्तर्गतको हो, स्थानीय हो कि प्रदेश र सङ्घ अन्तर्गत हो भन्ने सोच्नुपर्छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालाको लागि हाम्रो मन्त्रालयले यस वर्ष ५ करोड बजेट पठाएको पनि छ । तर त्यहाँ जग्गा विवादले काम गर्न समस्या भएको देखियो ।

निजी क्षेत्रले अलिकति ध्यान दियो भने खेलकुद जगत अझ अगाडि बढ्न सक्छ । उद्योगको विधेयकमा सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुदमा पनि उहाँहरूले लगानी गर्न सक्नुहुन्छ भन्ने उल्लेख छ ।
  • खेलकुद मन्त्रालयले नयाँ वर्ष २०८१ मा खेलकुद क्षेत्रमा के के काम गर्दैछ ? बजेटको अवस्था के छ ?

यसपटक हामीले विगतमा नियमित भइरहेका सफल कार्यक्रमहरूलाई निरन्तरता दिने, खेलाडी उत्पादनको लागि क्यालेण्डर नै बनाएर काम गर्ने योजना बनाएका छौँ । खेलकुद परिषद्ले पत्राचार गरेपछि २७ वटा सङ्घले आफ्नो वार्षिक कार्यक्रम दिइसके । अब खेलकुद परिषद्को वेबसाइटमा इभेन्टहरू अपलोड गरेर वर्षभरिको कार्यक्रम सार्वजनिक गर्ने कामको सुरुवात गर्छौँ ।

अर्को कार्यक्रम भनेको निजी क्षेत्रले अलिकति ध्यान दियो भने खेलकुद जगत अझ अगाडि बढ्न सक्छ । उद्योगको विधेयकमा सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुदमा पनि उहाँहरूले लगानी गर्न सक्नुहुन्छ भन्ने उल्लेख छ । उहाँहरूलाई ठुलो–सानो भनेर भेदभाव नगरी वडास्तरदेखि पालिका, जिल्लास्तरसम्म खेलकुदका कार्यक्रम प्रायोजन गरिदिनुस् भन्छु म ।

  • खेलकुदमा बजेटको अवस्था कस्तो छ ? यसपटक बजेट बढ्छ कि घट्छ ?

खेलकुद मन्त्रालयको बजेट एकदमै कम छ । कतिवटा स्थानीय तहभन्दा पनि सानो बजेट छ हाम्रो । मन्त्रालयमा केही नीतिगत सुधार गर्नुपर्ने देखिन्छ । किनभने गत वर्षको बजेट पनि हामीले पूर्ण परिचालन गर्न सकेका छैनौँ । खर्च गर्ने मेकानिजमहरू चुस्त हुन सकेको छैन । हामीले यो वर्ष २ धारे तरवार चलाउनु पर्नेछ । एउटा बजेट बढाउनुपर्ने छ, अर्को भनेको बजेटलाई कार्यान्वयनमा लानु पर्नेछ ।

जति खेलकुद मन्त्रालयको बजेट कार्यान्वयन हुन्छ, त्यति नै खेलाडी उत्पादन र खेलप्रेमीहरूमा उत्साह जाग्छ । त्यसैले गर्दा यो पटक हामीलाई धेरै चुनौती पनि छ ।

  • २०८१ साल खेलकुद क्षेत्रको लागि आशालाग्दो वर्ष हुन सक्छ ?

यो ३० औँ दशकको बेथिति हो । हामीले सक्दो प्रयास गरेका छौँ । कानुनी झमेलाहरू कस्तो छ भने एउटा पत्र लेख्नका लागि एक दिन लाग्छ । फाइल खोज्न ४ दिन लाग्छ ।

त्यो खालका अवसर र चुनौती छन् । सबैजना धैर्य भइदिनुस्, खेल जगतबाट धेरै कुराको फाइदा छ । युवा पलायन नहुनेदेखि लिएर कुलतमा नफस्नेसम्मको फाइदा यो क्षेत्रले दिन सक्छ । यो कुरा राजनीतिक रूपमा भन्दा पनि सामाजिक रूपमा माथि ल्याउनुपर्छ ।

  • वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा खेलकुदका एजेण्डाहरू कसरी समावेश हुँदैछ ? लगानी सम्मेलनमा खेलकुदका मुद्दा हुनुपर्छ कि पर्दैन ?

लगानी सम्मेलनमा खेलकुदको एजेण्डा समावेश हुनैपर्छ । त्यसको आयाम हामीले कल्पना गरिरहेको खेलाडी, खेल, प्रशिक्षकभन्दा पनि ठुलो छ । यसलाई स्पोर्टस डिप्लोमेसी पनि भन्न सक्छौँ हामी ।

मैले नवयुग भन्नुको अर्थ यसलाई हामीले वैज्ञानिक र प्राज्ञिक हिसाबले अगाडि बढाउन सक्यौँ भने यो पनि मान्छेको करिअरका लागि ठुलो अवसर हुन्छ ।

अरु चिजमा हाम्रो कूटनीति राम्रो हुन नसके पनि खेलकुदको माध्यमबाट राम्रो हुनसक्ने पर्याप्त ठाउँ छ । कल्पना गरौँ न, भोलिको दिनमा भारत र पाकिस्तानको गेम नेपालका भयो भने के हुन्छ ? यस्तो गेमहरू हुन थाल्यो भने त्यो डिप्लोमेसीले हामीलाई अझ माथि लैजान्छ ।

यसपटक लगानी सम्मेलनमा युवा र खेलकुदको विषय छुट्नै हुन्न, म निवेदन नै गर्छु ।

  • खेलकुदमा के के कुरामा हामीले लगानीको लागि आग्रह गर्न सक्छौँ ?

मुख्यतया हामीले पूर्वाधार र कार्यक्रममा लगानी गर्न सक्छौँ । विदेशमा अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालय छन् । हाम्रा खेलाडीहरूलाई त्यहाँ बसोबासको व्यवस्थासहितको खेल शिक्षा र तालिमको व्यवस्था गर्ने । आवश्यकता परेमा नेपालमा खेलकुद विश्वविद्यालयमा लगानी गराउन सक्छौँ । खेलकुद विज्ञान अथवा यसलाई प्राज्ञिक हिसाबले अगाडि बढाउने कुरा यसअघि युवराज लामा सदस्यसचिव हुँदा पनि उठेको रहेछ ।

मैले नवयुग भन्नुको अर्थ यसलाई हामीले वैज्ञानिक र प्राज्ञिक हिसाबले अगाडि बढाउन सक्यौँ भने यो पनि मान्छेको करिअरका लागि ठुलो अवसर हुन्छ ।

  • लगानी सम्मेलनमा युवा र खेलकुदको विषय अहिलेसम्म समावेश भएको रहेनछ, तपाईं अझै पनि मौका छ थपिदिनुस् भन्न चाहनुहुन्छ ?

म जहाँबाट भए पनि एकदमै अनुरोध गर्दछु । यसले देशलाई दूरगामी फाइदा गर्छ । खेल भनेको कुनै दलको मात्रै एजेण्डा होइन, यो हामी सबैको साझा एजेण्डा हो । हामी कति दिन यो जिम्मेवारी छौँ, थाहा छैन । भोलि नहुन पनि सक्छौँ तर अर्को मन्त्रीज्यू आउनु भयो भने उहाँहरूलाई पनि काम गर्न सजिलो वातावरण हुन्छ ।

लगानी सम्मेलनमा युवा र खेलकुदका विषय आइदियोस् । तपाईंहरूलाई जानकारी नै छ, खेलकुद मन्त्रालय कसैले लिन नखोज्ने मन्त्रालय थियो । हामीपछि यो युवा तथा खेलकुद मन्त्रालय सबैले लिन हानथाप होस् । युवा तथा खेलकुदबाट मैले केही गर्नसक्छु, म मान्छेहरूसँग जोडिन सक्छु भन्ने होस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप