शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

'विश्वमञ्चमा नरेन्द्र मोदी' पुस्तक सार्वजनिक

मङ्गलबार, १८ वैशाख २०८१, १६ : ०९
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको सङ्कलन गरिएको छ । भूपेन्द्र बहादुर क्षेत्रीको सङ्कलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितिबारे जानकारी गराउने उद्देश्यले दशकयताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए ।

‘विश्वमञ्चमा भारत नयाँ ढङ्गले अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले आफूलाई सशक्तरूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउँछ,’ चन्दले भने ।

सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाईजेशनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शक्तिशाली रूपमा देखा परेको छ ।

 जनवरी २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक फोरमको एक रिपोर्टका अनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो । २०२२–२०२३ मा ७.२% को आर्थिक वृद्धि गरेर भारत जी २० देशहरूमा लगातार दोस्रो स्थानमा रह्यो ।

पूर्वाधार, इन्टरनेटको पहुँच, र पश्चिमसँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्व मञ्चमा ठुलो रूपमा भारत पुगेको छ । विश्वव्यापी रूपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा भारतको बढ्दो पहुँचले भारतलाई विश्वमञ्चमा बलियो बनाएको छ ।

सार्क बैठक सहित प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक नेपाल भ्रमणमा आएका छन् । पहिलोपटक सन् २०१४ को अगष्ट, दोस्रो, २०१४ को सार्क बैठक, तेस्रो, २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिना, नेपालको जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता कैयन ठाउँमा यात्रा गरेका छन् ।

‘यी सबै यात्रा र सम्बोधनहरूमध्ये महत्त्वपूर्ण ठानिएका सम्बोधन सङ्कलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ क्षेत्रीले सुनाए ।

नेपाल र भारतको प्राग ऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आम नेपालीलाई समेत थाह होस भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप