आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा विभाजनपछि समाजवादी मोर्चाको भविष्य अन्योलमा, के गर्दैछन् विप्लव ?

मङ्गलबार, २५ वैशाख २०८१, १५ : ५२
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा गठन भएको ११ महिना नपुग्दै भविष्य अन्योल देखिएको छ । सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै मोर्चा के हुने हो भन्ने प्रश्न खडा भएको हो । 

समाजवादी लक्ष्य तय गर्ने उद्देश्य राखेर गत वर्ष असार ४ गते राष्ट्रिय सभा गृहमा सत्ता घटक माओवादी, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेका विप्लव नेतृत्वको नेकपा मिलेर मोर्चा गठन गरेका थिए । मोर्चाले अहिलेसम्म सातै प्रदेशमा सन्देश सभा गरिसकेको छ । ५५ भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको छ । तर जसपा विभाजनले स्थिति गम्भीर रहेको मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् । 

सोमबार रातोपाटीसँग कुरा गर्दै विप्लवले भनेका थिए, ‘स्थिति चिन्ताजनक छ । यस्तो बेलामा सम्हालेर लैजानुपर्छ । बैठक बस्ने विषयमा मोर्चाका शीर्ष नेताहरूसँग मैले कुराकानी गरेको छु । समाजवादी मोर्चा बनेको केही शक्तिलाई मन परेको छैन । शीर्ष नेताहरूले संयम अपनाएर जानुपर्छ । छिट्टै बैठक बसेर छलफल गर्छौँ ।’ 

यद्यपि जसपा विभाजन भए पनि दुवै पक्ष मोर्चामा रहनेमा उनी आशावादी रहेका छन् । सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमण रहेकै बेला संघीय परिषद् अध्यक्ष आशोक राई समूहले आइतबार पार्टी विभाजन गरेका थिए । नयाँ पार्टी निर्वाचन आयोगमा दर्तासमेत भइसकेको छ ।

पार्टी विभाजनपछि स्वदेश फर्किएका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । पार्टी विभाजनको समीक्षा र आगामी योजनाबारे छलफल गर्न अध्यक्ष यादवले पार्टीका शीर्ष नेताहरूसँग पनि छलफल गरिरहेका छन् ।

उता राई समूहले संसदीय दलको बैठक बोलाएको छ । दल विभाजन भए पनि समाजवादी मोर्चामा मिलेर जान दुवै पक्षलाई प्रधानमन्त्रीले सुझाव दिएको प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए । 

‘पार्टी विभाजन भए पनि दुवै पक्षले समाजवादी मोर्चा छोड्ने कुरा गर्नु भएको छैन । प्रधानमन्त्रीज्यूले पनि दुवै पक्षलाई मिलेर जान सुझाव दिनुभएको छ । मोर्चाले निरन्तरता पाउँछ’, आचार्यले रातोपाटीसँग भने । 

मोर्चाका कार्यदल सदस्य एवं माओवादीका महासचिव देव गुरुङले पनि जसपा विभाजनले सरकार तथा मोर्चालाई असर नपर्ने बताएका छन् । जसपाका दुवै पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नगरेकाले विभाजनको असर नपर्ने उनको दाबी छ । 

  • पर्ख र हेरको अवस्थामा एकीकृत समाजवादी 

मोर्चाका अर्का घटक एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जसपा नेपालको विभाजनले सरकार सञ्चालन तथा वामपन्थी मोर्चालाई अगाडि बढाउन समस्या नदेखिने जसपा विभाजन भएकै दिन बताएका थिए ।  

सोमबार बसेको संसदीय दलको बैठकमा जसपा विभाजन, पछिल्लो राजनीतिक घटनाक्रम सम्बन्धमा पार्टीले गम्भीर समीक्षा गरेको छ । तथापि सरकारमा रहने वा नरहने विषयमा फरक–फरक मत प्रकट भएको छ । बहुमत सांसदहरूले अध्यक्ष माधवकुमार नेपालले खेलेको भूमिकाको आलोचना गर्दै गठबन्धनको पक्षमा उभिएका थिए । केही सांसद गठबन्धनबाट बाहिरिनुपर्ने सुझाव दिएका थिए । 

छलफलपछि अध्यक्ष माधव नेपालले तत्काल अहिलेकै समीकरणलाई निरन्तरता दिने निष्कर्ष सुनाएका थिए । यता नेता मेटमणि चौधरीले मोर्चामा रहने वा नरहने विषयमा छलफल प्रवेश नै नभएको बताए । गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा आगामी बजेट अधिवेशनसम्म कुर्ने उनले योजना सुनाए । 

‘गठबन्धन तथा समाजवादी मोर्चामा रहने वा नरहने विषयमा सुदूरपश्चिम सरकार गठन, सरकारको नीति तथा कार्यक्रम र बजेट अधिवेशनसम्म कुर्नेछौँ । त्यति बेलासम्म देशको राजनीति कसरी अगाडि बढ्छ, त्यसपछि निर्णय लिन्छौँ,’ चौधरीले भने । 

मोर्चा गठन भएपछि आलोपालो प्रणाली अनुसार नेपाल मोर्चाको संयोजक बनेका थिए । फागुन ६ गते बसेको बैठकले नेतृत्व विप्लवलाई हस्तान्तरण गरेको थियो । अहिले पार्टीको काममा पूर्वी नेपालको भ्रमणमा रहेका विप्लव २६ गते काठमाडौँ फर्किएपछि मोर्चाको बैठक बोलाउने तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप