‘एमाले र रास्वपाबिच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी छ’
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले संसदमा उठाएका सबै विषयमा छानबिन समिति बनाउन कांग्रेस महामन्त्री गगन थापाले माग गरेका छन् । आइतबार संसद् भवनको ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्री यस्तो माग गरेका हुन् ।
‘तपाईँ गृहमन्त्री हो कि टेलिभिजनको प्रस्तोता हो ?’ लामिछानेलाई लक्षित गर्दै थापाले भने,‘तिमीहरू सबै चोर हौ, मैले पनि चोर्न पाउनुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो । उहाँले उठाएका सबै विषयमा छानबिन समिति बनाए हुन्छ ।’
गृहमन्त्री लामिछानेलाई आफूले उठाएका सबै विषयमा धमाधम उठाउन महामन्त्री थापाले आग्रह गरे । उनले भने, ‘मेरो छानबिन गर्छस् भने तेरो पनि फाइल खोल्दिऊँ भनेजस्तो गर्नुभयो,’ उनले भने, ‘धमाधम अनुसन्धान गर्ने हो, गल्ती गरेको रहेछ भने फैसला गराउने हो, कारबाही गर्ने हो ।’
महामन्त्री थापाले आफूबारे उठाएका विषयमा छानबिन गर्न पनि चुनौती दिए । थापाले भने, ‘हेर्नुस् त आज मलाई उहाँले के–के भन्नुभयो । म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस् । लौ न बनाइदिनुस् ।’
सर्वदलीय वा रास्वपाका मानिसहरू मात्रै राखेर भए पनि छानबिन समिति बनाउन उनले गृहमन्त्रीलाई आग्रह गरे । ‘गगन थापामाथि छानबिन गर्न रास्वपा पार्टीकै मात्र छानबिन समिति बनाइदिए पनि हुन्छ, लौ न बनाइदिनुस्,’ थापाले भने ।
यस्तै एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको थापाले बताए । ‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईँ बस्नै पर्दैन, तपाईंको काम नेकपा एमालेले गरिदिन्छ,’ उनले भने, ‘तपाईँहरूको बिचमा राम्रो एउटा समझदारी बनेको छ । त्यसको बारेमा धेरै चिन्ताको विषय भएन ।’
कांग्रेसप्रति आक्रामक अभिव्यक्ति दिएका गृहमन्त्री लामिछानेले एमाले जोडिएको कुनै पनि विषयको उठान गरेका थिएनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण