सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ सहर बसाल्न साउदीले लियो खतरनाक निर्णय

बिहीबार, २७ वैशाख २०८१, १६ : ४४
बिहीबार, २७ वैशाख २०८१

रियाद । साउदी अरबले अत्याधुनिक सहर 'निओमः द लाइन सिटी' बनाउन लागेको छ । १७० किमी लामो सिधा रेखामा बनाइने काररहित यो सहरमा उज्यालो समुद्री तट, विशाल मरुभूमिमा रोपिएका अर्बौँ रूख, द्रुत गतिमा चल्ने रेल र नक्कली चन्द्रमा पनि हुनेछन् । 

यो साउदी अरबको महत्त्वाकाङ्क्षी परियोजना हो भने यो सहर निर्माणमा दर्जनौँ पश्चिमी कम्पनीले हात हालेको बीबीसीले उल्लेख गरेको छ । 

यो सहर बनाउन अहिलेसम्म ६ हजारभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको साउदी सरकारले बताएको छ । सहर बसाल्न जग्गा खाली गर्न साउदी अधिकारीहरूले मान्छे नै मार्नु पर्‍यो भने पनि मार्नु भन्ने अनुमति दिएको खुलासा भएको समाचारमा उल्लेख छ । 

द लाइन सहर बनाउन कयौँ गाउँमा विद्यालय, घर र अस्पतालहरू हटाइएको थियो । यस क्रममा एउटा गाउँका बासिन्दाहरूले गाउँ छाड्न नमानेपछि आफूलाई गोली नै चलाउनु पर्‍यो भने पनि चलाउन आदेश दिइएको कर्णेल राबिह अलेन्जीले बताएका थिए । यसको विरोध गर्ने गाउँलेहरूमध्ये एक जनालाई गोली हानेर मारिएको थियो ।

यस मामिलामा बीबीसीको जिज्ञासामा साउदी सरकार र निओम व्यवस्थापन दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् । अर्थतन्त्रको तेलमाथिको निर्भरता कम गर्ने साउदी भिजन २०३० अन्तर्गत साउदी अरबले ५ खर्ब डलर खर्चेर अत्याधुनिक सहर बनाउन लागेको हो। 

 द लाइन २०० मिटर चौडा अनि १७० किमी लामो हुने बताइएको छ । तर सन् २०३० सम्ममा यो परियोजनाको २ दशमलव ४ किमी मात्रै पूरा हुन सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप