मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य

बुधबार, ०२ जेठ २०८१, १० : ३१
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । जलवायु परिवर्तनका कारण बढी वर्षा हुने, खडेरी लाग्ने, वायु प्रदूषण बढ्नेजस्तो समस्या देखा पर्न थालेका छन् । यसले मानव स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुर्‍याएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । नेपालमा जलवायु परिवर्तनका कारण विभिन्न रोग बढेको छ ।

नेपाल जनस्वास्थ्य सङ्घका अध्यक्ष डा. बसन्त अधिकारीका अनुसार हैजा, डेंगु लगायत विभिन्न रोग देखिन थालेका छन् । ‘रोग बढेको छ, काठमाडौँमा एकडेढ वर्ष अगाडि हैजाको बिरामी भेटिएका थिए,’ उनले भने, ‘बाह्रै महिना डेंगुका बिरामी भेटिन्छन् । अब मनसुन सुरु भयो, केही दिनमा डेंगु रोगसँग लड्नुपर्ने हुन्छ । गत वर्ष ५० औँ हजार मानिस प्रभावित भएका थिए ।’ डा. अधिकारीका अनुसार जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा असर परेर आमा र बच्चामा पोषणमा समेत नकारात्मक असर परेको छ ।

विज्ञहरूका अनुसार भारी वर्षा हुँदा पानी प्रदूषित हुन्छ । दूषित पानीले बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्नेजस्ता समस्या देखिन्छन् । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्ने चिकित्सकको भनाइ छ । झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

वैशाखको तेस्रो सातातिर काठमाडौँ उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई)को एक नम्बरमा रह्यो । यो समयमा एक्युआई १६२ सम्म पुग्यो । त्यतिबेला वायु प्रदूषणले विभिन्न स्वास्थ्य समस्या पनि देखिएका थिए । देशभर मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटीका बिरामी बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । साथै दम, क्यान्सर आदिको जोखिम पनि बढेको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ । सो अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ ।

जलवायु परिवर्तनकै असरले गमी अत्यधिक बढ्दा ‘लु’ लाग्ने जोखिम हुन्छ । मानव शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड नै भइरहने फिजिसियन डा. पुष्पमणि खरालले बताए । उनका अनुसार शरीरले यो तापक्रमलाई सन्तुलन गरिरहन खोजे पनि योभन्दा बढी तापक्रम भएमा स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई ‘लु’ भनिन्छ । गर्मीका कारणले बान्ता हुने, ज्वरो आउने, अचेत हुनेजस्ता समस्या देखिन्छ ।

  • के हो जलवायु परिवर्तन ?

लामो अवधिमा मौसममा आउन सक्ने परिवर्तन नै जलवायु परिवर्तन हो । वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठका अनुसार कमसेकम ३० वर्षको अवधिमा मौसममा आएको परिवर्तन नै जलवायु परिवर्तन हो । ‘छोटो समयमा फेरबदल हुने मौसम परिवर्तन हो,’ उनले भने, ‘लामो अवधिमा आउन सक्ने परिवर्तन नै जलवायु परिवर्तन हो ।’

३० वर्षभन्दा कम समयावधिमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भन्न नमिल्ने उनले बताए । जलवायु परिवर्तनमा मुख्य गरी वर्षा र तापक्रमलाई लिन सकिने उनको भनाइ छ ।

पृथ्वीको तापमान १ सय ५० वर्षमा मानव गतिविधिका कारण १ डिग्री सेल्सियसले बढेको पाइएको छ । सन् २०४० सम्ममा विश्वको औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस बढ्ने अनुमान छ । हाल पृथ्वीको औसत तापमान १ दशमलव २ डिग्रीले वृद्धि भइसकेको श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप