आजपा र सरकारबिच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । भन्सार नियमावलीमा रहेको गलत प्रावधान खारेजीलगायतको माग राख्दै आन्दोलनरत आम जनता पार्टी (आजपा) को आम सम्पर्क मञ्च र सरकारबिच ६ बुँदे सहमति भएको छ । बुधवार भन्सार विभागमा भएको छलफलका क्रममा ६ बुँदे सहमति भएको हो ।
आजपाले २०८० साउन ३१ गते भन्सार विभागलाई ज्ञापन पत्र बुझाउँदै आफ्नो माग पुरा गर्न दबाब दिएको थियो । तर, सो माग पूरा हुन नसकेपछि विभिन्न समयमा चार चरणमा विभाग घेराउसहितको संघर्षको कार्यक्रम गर्दै आएको आजपाको माग सम्बोधन गर्नेबारे बुधवार भने सहमति बनेको हो ।
मागहरू सम्बोधनका लागि सम्बन्धित निकाय वा तहलाई जानकारी र ध्यानाकर्षण गराउने सम्बन्धमा अर्थ मन्त्रालय, भन्सार विभाग र सङ्घर्षरत पक्षका विवादमा संवादमा बसी समाधान निकाल्ने विषयमा दुई पक्ष सहमत भएको जनाइएको छ ।
सहमतिअनुसार सुराकी पुरस्कारको प्रावधान हटाउन वा परिमार्जन गर्नका लागि आवश्यक संशोधन गर्नका लागि अर्थ मन्त्रालयलाई लेखिपठाउने सहमति भएको छ । आजपाले नियमावलीमा रहेको ४५ प्रतिशतसम्मको पुरस्कार बापतको कमिसन खारेजीको माग गर्दै आएको थियो ।
यस्तै आजपाले कर, कानुन, राजस्व कानुन तथा भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति पक्राउ गर्ने, सवारी सधान तथा सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग गरेको थियो । यस सम्बन्धमा भन्सार ऐनमा संशोधन वा परिमार्जन नै गर्नुपर्ने देखिएको तथा हालै नयाँ भन्सार विधेयक सङ्घीय संसद्मा पेश भई छलफलकै क्रममा रहेकाले सम्पत्ति जफत सम्बन्धमा आवश्यक कारबाहीका लागि मन्त्रालयलाई लेखिपठाउने सहमति भएको छ ।
यसैगरी भन्सार कार्यालयहरूबाट उठेको राजस्वमध्ये २५ प्रतिशत सम्बन्धित प्रदेश र २० प्रतिशत सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था हुनुपर्ने मागका सम्बन्धमा पनि नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालयलाई देखि पठाउने दुई पक्षबिच सहमति भएको छ ।
यस्तै घरायसी प्रयोजनका लागि ल्याइने वस्तुमा भन्सार नलाग्ने व्यवस्थाको सम्बन्धमा पनि आवश्यक प्रबन्ध मिलाउन मन्त्रालयलाई सिफारिस भएको छ ।
यस्तै भन्सार सुधारका लागि प्रविधिमैत्री आधुनिक पूर्वाधारसहितको स्तरोन्नति तथा सेवाग्राही सहजीकरण, अवैध कारोबार नियन्त्रण जस्ता विषयहरुमा निरन्तर सम्पर्क र संवादमा रही पृष्ठपोषण प्राप्त गरी सुधारलाई निरन्तरता दिने दुई पक्षबिच सहमति भएको छ ।
सहमतिसँगै आम सम्पर्क मञ्चको भन्सार राजस्व सुधार सङ्घर्ष समितिले गर्दै आएको धर्नासहितको सम्पूर्ण आन्दोलन फिर्ता लिने सहमति भएको सङ्घर्ष समितिकी संयोजक रञ्जुकुमारी साहले जानकारी दिइन् । सहमति पत्रमा विभागको तर्फबाट महानिर्देशक ढुण्डीप्रसाद निरौला, उपमहा निर्देशक टंक प्रसाद पाण्डेय, रमेश अर्याल र निर्देशक पुण्य विक्रम खड्काले हस्ताक्षर गरेका छन् ।
यस्तै आजपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर, प्रवक्ता चन्द्रभुषण साह, राजस्व सुधार सङ्घर्ष समितिकी संयोजक रञ्जुकुमारी साह, आम सम्पर्क मञ्चका उपाध्यक्ष देवेन्द्र ठाकुर र आम सम्पर्क मञ्चका मधेस प्रदेश अध्यक्ष उपेन्द्र साहले हस्ताक्षर गरेका छन् ।
यसैबीच सहमति भएसँगै आजपाका अध्यक्ष प्रभु साहले सरकार र आम सम्पर्क मञ्चबिच ऐतिहासिक सहमति भएको बताएका छन् । ‘भन्सार बिभागमा भएको उक्त सहमतिले देशको राजस्व सङ्कलनमा गुणात्मक वृद्धि हुने, भन्सार राजस्वमा भइरहेको चुहावट एवं भ्रष्टाचार घटने तथा सीमा क्षेत्रका जनतालाई ठुलो राहत पुग्ने विश्वास लिएको छु’, उनले भने।
आजपाले भन्सार कानुन सुधारका लागि चौथो चरणको आन्दोलन गत वैशाख २० देखि थालेको थियो ।