६ वर्षमा बागमती प्रदेशमा एक लाखभन्दा बढीले गराए सुरक्षित गर्भपतन
काठमाडौँ । बागमती प्रदेशमा ६ वर्ष यता १ लाख २ हजार ५४८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । रोजगारीका लागि बाहिर जानुपर्दा, करियरका लागि, नचाहँदा नचाहँदै गर्भ बस्नाले वा व्यक्तिगत समस्या लगायतका कारणले सुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शान्ति श्रेष्ठका अनुसार पाठेघरमा आएको भ्रूणलाई निकाल्नु नै गर्भपतन हो ।
‘सरकारको नियम कानुन अनुसार महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ पतन गराउन पाइन्छ,’ उनले भनिन्, ‘गर्भवती महिलाको ज्यानमा खतरा, जबरजस्ती करणी वा हाडनाता करणी र एचआइभी पोजेटिभ भएको महिलाले २८ हप्तासम्म गर्भपतन गराउन मिल्छ ।’
- सुरक्षित गर्भपतन : गाउँमा कम र सहरी क्षेत्र बढी
बागमती प्रदेश अन्तर्गत स्वास्थ्य निर्देशनालयका अनुसारका अनुसार गर्भपतन गराउनेको सङ्ख्या गाउँमा कम र सहरमा बढी छ । बागमती प्रदेशका १३ जिल्लामध्ये सहरी क्षेत्रमा पर्ने जिल्लामा बढी मात्रामा गर्भपतन गराइएको पाइन्छ ।
निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष (२०८०/०८१) काठमाडौँमा ५ हजार ९७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यस्तै, चितवनमा २ हजार ६११ जना, ललितपुरमा एक हजार ६०१ जना, मकवानपुरमा एक हजार ६७ जना, काभ्रेमा ८६५ जना, धादिङमा ६३१ जना, भक्तपुरमा ४५९ जना, रामेछापमा २१८ जना, सिन्धुलीमा १६८ जना, दोलखामा १४७ जना, नुवाकोटमा ११४ जना, रसुवामा ७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । चालु आर्थिक वर्ष बागमती प्रदेशमा १३ हजार १९६ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ ।
सहरी अस्पतालमा भरपर्दो सेवा पाइने, जनघनत्व बढी हुने, गाउँभन्दा सहरमा गोपनीयता हुने भएकाले सहरमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या धेर हुने गरेको निर्देशनालयकी नर्सिङ अधिकृत सिर्जना पन्त बताउँछिन् ।
कुन वर्षमा कतिले गराए सुरक्षित गर्भपतन ?
बागमती प्रदेशभर चालु आर्थिक वर्ष (२०८०/०८१)को पछिल्लो तथ्याङ्कमा १३ हजार १९६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । गत आर्थिक वर्ष (२०७९/०८०) मा १९ हजार २२५ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या १८ हजार ४६३ थियो । आर्थिक वर्ष २०७७/२०७८ मा १४ हजार ६२२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । आर्थिक वर्ष २०७६/२०७७ मा १८ हजार ५३६ जनाले सुरक्षित गर्भपतन गराएका थिए । आर्थिक वर्ष २०७५/२०७६ मा १८ हजार ५०५ जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
- किन गराइन्छ गर्भपतन ?
डा. श्रेष्ठका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीका लागि बाहिर जाने कारण देखाएर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या पनि उल्लेख्य छ । श्रीमान् वैदेशिक रोजगारीमा जाँदा सुरक्षित महसुस नगर्ने भएकाले पनि कतिपय महिलाले गर्भपतन गराउने गरेको डा. श्रेष्ठले सुनाइन् । यस्तै, कतिपयले अनिच्छित गर्भ बस्न गएमा पनि गर्भपतन गराउने गरेको उनले बताइन् ।
गर्भपतन गराउने विभिन्न तरिका छन्, जो गर्भको अवधि अनुसार विधि फरकफरक हुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ श्रेष्ठको भनाइ छ । ‘१० हप्तासम्म रहेको गर्भलाई औषधिबाट गर्भपतन गराउन सकिन्छ र औजारद्वारा पनि सकिन्छ,’ उनले भनिन्, ‘औजारद्वारा गर्भपतन गराउनुलाई सर्जिकलबाट गर्भपतन गराउने भनिन्छ । १२ हप्ताको गर्भलाई औषधिबाट गर्भपतन गराइँदैन । सर्जिकलबाट गराउनु पर्ने हुन्छ । १० देखि १२ हप्तासम्मको गर्भलाई सर्जिकलबाट गर्भपतन गराउनुपर्छ ।’
कानुन अनुसार २८ हप्ताको गर्भ औजार वा औषधि दुवै विधिबाट गर्भपतन गरिने डा. श्रेष्ठले बताइन् । ‘२८ हप्ताको केसलाई अस्पताल भर्ना गरेरै गर्भपतन गरिन्छ,’ उनले भनिन्, ‘२८ हप्ताको गर्भपतन विशेष करणले मात्रै गराउन मिल्ने कानुनी प्रावधान छ ।’
- औषधिको प्रयोगले कतिले गरे सुरक्षित गर्भपतन ?
बागमती प्रदेशमा ६ वर्षको अवधिमा ६४ हजार १४८ जनाले औषधिको प्रयोगले सुरक्षित गर्भपतन गराएको निर्देशनालयको तथ्याङ्क छ । यसमध्ये २० वर्षभन्दा कम उमेरका ५ हजार ४३० जना छन् । यस्तै २० वर्ष वा सो भन्दामाथि उमेरका ५८ हजार ७१८ जना छन् ।
- सर्जिकल विधिबाट कतिले गरे सुरक्षित गर्भपतन ?
बागमती प्रदेशमा सर्जिकल विधिबाट ३८ हजार ४०० जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसमध्ये २० वर्ष कम उमेरका ४ हजार ७७८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यस्तै, २० वर्ष वा सो भन्दामाथि उमेरका ३३ हजार ६२२ जना छन् ।
- कानुन अनुसार सुरक्षित गर्भपतन भनेको के हो ?
कानुनी मान्यता प्राप्त स्वास्थ्यसंस्था, तालिम प्राप्त स्वास्थ्यकर्मी भएको स्थानबाट गर्भपतन गराउनु नै सुरक्षित गर्भपतन हो । सुरक्षित गर्भपतनका लागि कानुनमा विभिन्न प्रावधान उल्लेख छन् । ती मापदण्ड पूरा भएमा मात्रै गर्भपतन गराउन पाइन्छ ।
‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ को ‘दफा १५’ अनुसार महिला गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ, गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजत पत्र प्राप्त चिकित्सकको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मन्जुरीले २८ हप्तासम्मको भ्रूणलाई गर्भपतन गराउन मिल्ने प्रावधान छ ।
ऐनमा होस ठेगान नभएको, तत्काल मञ्जुरी दिन नसक्ने अवस्था भएको वा अठार वर्ष उमेर पूरा नगरेको गर्भवती महिलाको हकमा निजको संरक्षक वा माथवरले मञ्जुरीनामा सेवा दिन सकिने छ भनेर उल्लेख छ । यस्तै, अठार वर्षभन्दा कम उमेरकी गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नु पर्नेछ भनी उल्लेख गरिएको छ ।
- ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ मा सुरक्षित गर्भपतनको मापदण्ड:
–गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ,
–गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरी बमोजिम २८ हप्तासम्मको गर्भ,
–जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भ,
–रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ,
–भ्रूणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ,
यस्तै, सो ऐनमा बलपूर्वक गर्भपतन गराउन नहुने उल्लेख छ । महिलालाई करकाप गरी, धम्की दिई, ललाई फकाई गरी वा प्रलोभनमा पारी गर्भपतन गराउन नहुने भनिएको छ । यति मात्रै नभएर लिङ्ग पहिचान गरी गर्भपतन गर्न नहुने समेत उल्लेख छ ।
यस्तै, सो ऐनमा गोपनीयता कायम राख्नुपर्ने उल्लेख छ । इजाजत प्राप्त स्वास्थ्य संस्था वा इजाजत प्राप्त स्वास्थ्यकर्मीले गर्भवती महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित सूचना, कागजात तथा निजलाई प्रदान गरिएको परामर्श र सेवा सम्बन्धी सबै अभिलेख गोप्य राख्नु पर्ने उल्लेख छ । तर कुनै मुद्दा मामिलाको अनुसन्धान तथा सुनुवाइको सिलसिलामा अनुसन्धान अधिकारी वा अदालतबाट जानकारी माग भएमा, सुरक्षित गर्भपतन सेवा सम्बन्धी अध्ययन अनुसन्धान वा अनुगमनको उद्देश्यले सम्बद्ध महिलाको परिचय नखुल्ने गरी उदाहरण गर्ने, सम्बन्धित महिलाले स्वयंले यसले यसको सम्बन्धी अभिलेख माग गरेमा दिन सकिने मापदण्ड छ ।