सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
प्रदेश

थारु बस्तीमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

बिहीबार, १० जेठ २०८१, ११ : १०
बिहीबार, १० जेठ २०८१

धनगढी । कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ ।

बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो ।

बेनौलीका भलमन्सा रामऔतार चौधरीले बर्सातभन्दा अगावै तथा बर्खे खेतीको तयारी स्वरूप उहिल्यैदेखि कुलाही गरिँदै आएको बताए । गाउँको क्षेत्रभित्र २६७ घरधुरीले तीन दिन लगाएर श्रमदान गरेका हुन् ।

गाउँका चिराकी अँगानु चौधरीले कुलाहीकै क्रममा दिनको २ छाकको खाना कुलोकै ढिकैमा खाएको सुनाए । कुलाहीपछि सिँचाइ कुलोभइ खेतसम्म पानी सहज रुपमा बग्ने र अन्न बाली सप्रिने स्थानीयको बुझाइ छ ।

कैलालीको भजनी नगरपालिका ९ कुडीका हेमन्त सिंह चौधरीले पनि गाउँको बाटो, सिँचाइ कुलो मर्मत सम्भार गर्ने काम चलिरहेको बताए ।

गाउँका सबै घरधुरीले सामूहिक रुपमा बर्सेनि कुलाही गर्ने काम हुँर्दै आएको हेमन्त चौधरीको पनि भनाइ छ ।

गाउँघरको विकासमा राज्यका निकायहरूले बेवास्ता गर्दा आफूहरू बर्सेनि बेगारी गर्नुपरेको उनको दुखेसो छ । उनले भने, ‘सहरी क्षेत्रमा हेर्नुस्, बाटो निर्माण गर्न, सिँचाइ कुलो बनाउनलगायत कार्यको लागि राज्यले बजेट छुट्याउँछ । त्यहाँ विकास हुन्छ । तर ग्रामीण क्षेत्रमा हामीले यसरी नै बर्सेनि बेगारी गरिरहनुपर्छ । न बजेट, न सजेट । राज्यले ध्यान नदिँदा उहिल्यैदेखि यसरी नै चल्दैछ ।’

जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिका मात्रै होइन, यतिबेला पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही गर्ने काम चलिरहेको छ ।

कैलालीको कैलारी गाउँपालिका ८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले हरेक वर्षको बर्सात अगावै हुने कुलाही गर्ने काममा दुई दिनसम्म गाउँका ११५ घरधुरीको सहभागिता बताए ।

भलमन्साको नेतृत्वमा उनीहरूले गाउँको सबै सिँचाइ कुलो, नहरको सरसफाइ, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने छन् । जसको राज्यको कुनै भूमिका रहन्न ।

टेढीका भलमन्सा चौधरीले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारु समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’

थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संस्कारको कार्य हुँदै आएको हो ।

योजना तर्जुमा नअटाएको ती विकास

राज्यका निकायलाई यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो छ । योजना तर्जुमाको तयारी चलिरहेको छ । जहाँ टोल टोलका विकास निर्माणको योजनाहरू सङ्कलन गरेर छनोट गरिन्छ । तर बर्सेनि भलमन्साको नेतृत्वमा श्रमदानबाट हुने गाउँघरको विकासे योजनाहरू समावेश हुनबाट छुटिरहेको बताइन्छ ।

कैलालीका नागरिक समाज अगुवा दिलबहादुर चौधरीले विकास निर्माणमा भलमन्साहरुको भूमिका उहिल्यैदेखि महत्त्वपूर्ण रहेको औल्याउँदै उनीहरूको विकासप्रतिको समर्पणको सम्मान गर्न पनि भलमन्साहरुको निगरानीमा हुने गतिविधिलाई राज्यको योजनासँग जोड्नुपर्ने जोड दिए । जसले समाजमा श्रमदानको संस्कृति कायमै रहनुको साथै राज्यलाई पनि दायित्वबोध हुनुपर्ने उनको भनाइ छ ।

अर्का नागरिक अगुवा माधव थारुले आफ्नो गाउँघरको विकासको लागि उहिल्यैदेखि थारु समुदायमा जनश्रमको संस्कृति हुँदै आएको तर आजभोलि राज्यको निकायबाट त्यही प्रकृतिका काम बजेट खर्च गरेर ठेक्कापट्टामार्फत भइरहेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप