शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय
श्रमाधान रोजगार मेला

‘रोजगार मेलाले रोजगारदाता र रोजगारी खोज्नेबिचको दुरी न्यूनीकरण गर्छौँ’

बिस्तारै स्थानीय तहदेखि वडा तहसम्म नै जान्छौँ :  सचिव घनश्याम उपाध्याय
बुधबार, १६ जेठ २०८१, ११ : ०४
बुधबार, १६ जेठ २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशका विभिन्न ठाउँमा मेलाको आयोजना हुन लागेको हो ।   

रोजगार खोज्नेहरू, रोजगारदाताहरू र सरोकारवालाहरूलाई एकत्रित गरी सीप विकास र रोजगारीको अनुकूल वातावरण सिर्जना गर्ने गरी आयोजना गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ । मेलाको तयारी तीव्रताका अघि बढिरहेको छ । 

जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा हुनेछ । त्यसपछि जेठ १९ र २० गते मधेस प्रदेशको जनकपुरमा, जेठ २१ र २२ गते गण्डकी प्रदेशको पोखरामा, २३ र २४ गते लुम्बिनी प्रदेशमा बुटवलमा, जेठ २५ र २६ गते कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतमा, जेठ २७ र २८ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा र जेठ २९ र ३० गते बाग्मती प्रदेशमा ललितपुरमा मेला सञ्चालन हुने मन्त्रालयले जनाएको छ । 

मेला आयोजना गर्नुको उद्देश्य, यसको औचित्य, यसले पार्ने प्रभाव लगायतका विषयमा रातोपाटीकर्मी कृष्णसिंह धामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ सचिव उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंश : 

  • श्रम मन्त्रालयले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्न लागेको छ । यो मेला गर्नुको उद्देश्य के हो ?  

मुलुकमा रोजगारीका थुप्रै अवसर भएर पनि रोजगारीका लागि बाहिरबाट कामदार आइरहेका छन् । त्यस्तै मुलुकबाट रोजगारीका लागि दिनानुदिन बाहिर जाने क्रम पनि उत्तिकै छ । यो विद्यमान समस्या हो । श्रमाधान रोजगार मेला गरेर रोजगारदाता र रोजगारी खोज्ने नागरिकबिचको दुरी न्यूनीकरण गर्नु हो । दुवै पक्षलाई एउटै थलोमा अन्तरक्रिया गराउने भन्ने हो । यसले ग्याप घट्न, ग्याप घट्यो भने आन्तरिक रोजगारी बढ्छ भन्ने पहिलो उद्देश्य हो । 

दोस्रो उद्देश्य भनेको रोजगारीसँग सम्बन्धित विषयहरूमा सचेतना बढाउनु हो । तेस्रो भनेको मुलुकलाई आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सकिन्छ भन्ने हो । निजी क्षेत्र, नागरिक समाज लगायतलाई आन्तरिक रोजगारीको दिशातर्फ केन्द्रित गर्ने भन्ने अर्को उद्देश्य हो । 

जगारदाता र रोजगार खोज्ने नागरिकबिच भेट हुँदा रोजगारी खोज्ने र कामदार खोज्नेबिचको आवश्यकता समेत पुरा हुन्छ ।

यसको दीर्घकाल उद्देश्य भनेको आन्तरिक रोजगारी नै हो । अहिले वैदेशिक रोजगारी हाम्रो बाध्यता हो । त्यसलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्ने हुन्छ । यसमा देखिएका विद्यमान समस्याहरू, सूचना नपाएका कारण हुने ठगीहरूबारे नागरिकलाई सुसूचित गर्ने । आन्तरिक रोजगारीतर्फ श्रमिकहरूको सामाजिक सुरक्षातर्फ कसरी केन्द्रित गराउने भन्ने विषयमा जानकारी दिनुपर्ने हुन्छ ।   

यी सबै कुरामा नेपाल सरकार, विकास साझेदार तथा सरोकारवाला निकायलाई एउटै प्लेटफर्ममा राख्ने हाम्रो प्रयत्न हो । रोजगार मेला यसको सुरुवात मात्रै हो । आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा नै रोजगार सम्मेलन गर्ने, रोजगार मेलाहरू आयोजना गर्ने, यसलाई विकेन्द्रीकरण गर्ने भन्ने छ । अहिले प्रदेशस्तरमा गरिन लागेको छ भने भोलीका दिनमा स्थानीय तह हुँदै वडा तहसम्म नै आयोजना गर्ने उद्देश्य हो । 

वडा तहसम्म लगेर रोजगार बैंकको कन्सेप्टबाट हरेक नागरिकहरूलाई रोजगारीसँग आबद्ध गराउने योजना हो । रोजगारदाता र रोजगारी खोज्नेहरूबिच कनेक्सन गराएर भोलीका दिनमा हात हातमा भएको फोनबाटै रोजगारी खोज्न सकिने र श्रमिक खोज्न सकिने सिस्टमको विकास गर्न खोजिरहेका छौँ । 

त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई कुन क्षेत्रको विज्ञता छ, त्यो क्षेत्रमा काम गराउन सकिने भन्ने हिसाबले अघि बढ्न खोजिरहेका छौँ । तत्कालको हिसाबले भन्नुपर्दा यो सचेतना हो, यो सुरुवात हो । 

  • सातै प्रदेशमा गर्न लागिएको मेलाबाट सामान्य जानकारी मात्रै दिने हो ? 

जानकारी दिनु यसको पहिलो उद्देश्य नै हो । संस्थागत गर्दै लैजाने दोस्रो कुरा हो ।

रोजगारदाता र रोजगार खोज्ने नागरिकबिच भेट हुँदा रोजगारी खोज्ने र कामदार खोज्नेबिचको आवश्यकता समेत पुरा हुन्छ । यो अर्को उद्देश्य हो । मेला भनेको सुधारको सुरुवात मात्रै हो ।  

  • मेलामा कति जना लाभान्वित हुन सक्ने भन्ने लक्ष्य लिइएको छ ? 

यसमा हामीले यति जना नै आउनुहुन्छ वा लाभान्वित हुनुहुन्छ भनेर सङ्ख्यामा भन्न सकिने अवस्था छैन । यसमा के कति संस्थाहरू आउनुहुन्छ भन्ने विषय पनि हो । यो के हो भने छोटो समयमा गरिएको ठुलो प्रयास हो । यसले दिने उपलब्धि भनेको पहिलो चरणमा सचेतना र सुरुवातमा राम्रो दिन्छ । रोजगारीका अवसर र रोजगारदाताको आवश्यकता अनुसार श्रमिक पाउन बाटो खुल्छ भन्ने हाम्रो प्रयास हो । 

  • हरेक दिन दुई हजार भन्दा बढी श्रमिक रोजगारी खोज्न विदेशतिर जाने गरेका छन् । तर, हामीले तामझाम सहित आयोजना गर्ने मेलाले उनीहरूलाई के फाइदा हुन्छ ? 

पक्कै पनि हरेक दिन धेरैको सङ्ख्यामा वैदेशिक रोजगारीमा गइरहेका छन् । त्यसरी बाध्यताको आधारमा बिदेसिनु नपरोस्, मुलुकभित्रै रोजगारीको अवसरहरू सिर्जना हुन भन्ने हाम्रो उद्देश्य हो । मुलुकभित्र यस्ता खालका अवसरहरू छन् भनेर डिस्प्ले गर्ने हो ।

रोजगारीको अवसरका सन्दर्भ लिने हो भने नेपालीले सीप सिकेर काम गर्नेमा डेडिकेसन कम छ भनेर उद्योगी व्यवसायीले भन्दै आएका छन् । हाम्रा औद्योगिक प्रतिष्ठानहरूमा ट्रेड सम्बन्धीको समस्या पनि देखिएको छ । 

एकैदिनमा सबै समस्या समाधान हुँदैनन् । यो सचेतना बढाउँदै जाने हो । जाने मानिसहरूलाई सीप सिकेर जाने वातावरण बनाउने हो । थोरै मानिस गएर धेरै आय आर्जन गर्न सक्ने वातावरण बनाउने हो ।

फर्केर आएर रिटर्नीहरूलाई पनि उद्यमशीलतासँग जोडेर स्वरोजगारको वातावरण बनाउने हो । त्यो सहितका कुराहरू यो रोजगार मेलाबाट हुन्छ । ती कुराहरूको सुरुवात एक ठाउँबाट हुँदैन । यसको सुरुवात गर्नु जरुरी छ । पहिलो प्रयास हामीले सोचे बमोजिम नहोला । तर, निरन्तर चलिरह्यो भने यसले राम्रो फाइदा गर्छ । 

  • वैदेशिक रोजगारीतर्फ मात्रै सरकार केन्द्रित भयो । आन्तरिक रोजगारका विषयमा केही कतै हुँदैनन् ? यसका लागि मेलाबाट के कस्तो खालको लाभ मिल्छ ? 

यो रोजगार मेलाको पहिलो उद्देश्य आन्तरिक रोजगारीका अवसर नै हो । मुलुकभित्रै थुप्र अवसर छन् । तर, नेपालमा अन्य मुलुकमा श्रमिकहरू आएर काम गरिरहेका छन् । हामीहरू किन काम गर्न सक्दैनौँ । हामी कामको सम्मान गर्दैनौँ । हाम्रा निर्माण क्षेत्रमा बाहिरका मानिसहरू आएर काम गर्दै आएका छन् । हामी भने त्यही कामका लागि अर्को मुलुक जानुपर्ने अवस्था छ । औद्योगिक करिडोरहरूमा पनि बाहिरी मुलुकका नागरिकहरूले काम गर्दै आएका छन् । हाम्रा नागरिक कमै देखिन्छन् । हाम्रा नागरिक यही सीप सिकेर आन्तरिक रोजगारी पाउनुपर्छ र यही काम गर्ने वातावरण बनाउन नै मेलाको आयोजना गरिएको हो ।

  • नेपाली श्रमिकले घर नजिकै काम गर्न सक्ने खालको वातावरण बनाउन नसकेर बाहिर जाने गरेको पनि हुन्छ होला नि ? 

नेपाली नागरिकहरूमा कामको सम्मान गर्ने बानी कम छ । जो काम नेपालमा गर्दैनौँ, त्यो काम बाहिर गएर गर्छौ । अर्को कुरा भनेको सुख बाँड्नुपर्छ, दुःख देखाउनु हुँदैन भन्ने हाम्रो संस्कृति छ । बाहिर गएको दाजुभाइले पनि नेपालमा कुरा गर्दा उसले आफ्नो सुख पाइरहेको मात्रै कुरा गर्छन् । दुःखको कुरा देखाउँदैनन् । दुःख बाँड्नु हुँदैन भन्ने संस्कार छ । त्यो संस्कारले यहाँ काम गर्दा दुःख पाइन्छ, बाहिर जाँदा सुख पाइन्छ भन्ने देखाइरहेको छ । 

बाहिर जानेले दुःख नदेखाउँदा नेपालमा रहेको उसको परिवारले दुःख बुझेको हुँदैन । म यहीबाट के आह्वान गर्न चाहन्छु भने, बाहिर रहेका हाम्रा दाजुभाइले आफ्नो परिवार, साथीभाइसँग आफ्नो दुःखको कथा पनि बाँड्नुहोस । त्यसले गर्दा घर परिवारलाई पनि परदेशमा दुःख के हुन्छ भन्न थाहा हुन्छ । दुःख बुझ्यो भने यही रोजगारीका अवसरहरू खोज्नमा प्रेरित गर्छ । आफ्नो परिवारलाई आर्थिक कुरासँग पनि जोड्छ । अहिले त परदेशमा कमाएको पैसाले नेपालमा अनावश्यक खर्च गर्दै आएका छन् । 

पहिलो चरणमा हामी प्रदेश तहमा गएका हौँ । बिस्तारै स्थानीय तहदेखि वडा तहसम्म नै जान्छौँ ।

रोजगारीको अवसरका सन्दर्भ लिने हो भने नेपालीले सीप सिकेर काम गर्नेमा डेडिकेसन कम छ भनेर उद्योगी व्यवसायीले भन्दै आएका छन् । हाम्रा औद्योगिक प्रतिष्ठानहरूमा ट्रेड सम्बन्धीको समस्या पनि देखिएको छ । 

नेपालीहरू एकदमै मेहनती, इमानदार हुन्छन् भन्ने अन्तर्राष्ट्रिय छवि बनेको छ । तर, हाम्रै मुलुकमा भने इमानदार, लगनशील हुँदैनन् भन्ने देखिएको छ । यो समस्या हामीले तोड्नुपर्छ । यसका लागि उच्च राजनीतिक तह र सरकारले पनि सोच्नु जरुरी छ । ट्रेड युनियन गतिविधिलाई औद्योगिक उत्पादनमैत्री नबनाउने हो भने नेपालमा काम गर्न सकिँदैन । त्यो क्षेत्रमा पनि काम गर्नुपर्नेछ । 

  • सात प्रदेशमा सात ठाउँमा मेला आयोजना गरिएको छ । तर, त्यो बाहेकको क्षेत्रका मानिसहरू आउन सम्भव हुन्छ ? 

पहिलो चरणमा हामी प्रदेश तहमा गएका हौँ । बिस्तारै स्थानीय तहदेखि वडा तहसम्म नै जान्छौँ । जे जति नागरिक उपलब्ध हुनुहुन्छ, उहाँहरूले जानकारी पाउनुहुन्छ । यसमा हामी अडियो, भिडियो, प्रचार प्रसार लगायतको माध्यमबाट पनि धेरैको सहभागिता गराउने प्रयास गर्छौ । प्रचार प्रसारलाई व्यापक बनाएकाले पनि सबै नागरिकको उपस्थिति नभए पनि आवश्यकताका आधारमा मानिसहरू आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । 

  • मेलामा स्थानीय स्तरको मात्रै सहभागी हुन्छ कि ? राष्ट्रियस्तरबाट पनि सहभागिता हुन्छ ? 

राष्ट्रियस्तरबाट समन्वय हुन्छ । यसका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, होटल व्यवसायी संघ लगायतबाट समन्वय भइरहेको छ । सेन्ट्रल पोलिसीमा लोकल इन्भल्भमेन्ट हुन्छ । समग्रमा नेतृत्व मन्त्रालयले गरिरहेको छ । अन्य निकायहरू सहआयोजक तथा समन्वयकर्ता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप