आइतबार, ०६ साउन २०८१
ताजा लोकप्रिय
विचार

केक परम्परा र हाम्रो संस्कृति

आइतबार, ०२ असार २०८१, १० : ३९
आइतबार, ०२ असार २०८१

‘ह्याप्पी बर्थडे टु यु’, ‘ह्याप्पी बर्थडे’- जन्म दिनमा शुभकामना दिँदा सबैभन्दा बढी प्रयोग हुने शब्द हुन् यी । यही बोलको अङ्ग्रेजी गीत छ, सन् १९९८ को गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यो सबैभन्दा बढी गाइने गीत थियो । गीतको मुख्य बोललाई कमसे कम १८ भाषाहरूमा अनुवाद गरिएको छ ।

जन्म दिनमा उत्सवको आयोजना गर्ने चलन निकै प्रचलित भइरहेको छ । खासगरी सहरी बालबालिकाबिच बर्थडेको केक काट्ने चलन चाडझैँ हुन पुगेको छ । ह्याप्पी बर्थडे भनेर जन्म दिनका अवसरमा भेटेर वा सामाजिक सञ्जालमार्फत शुभेच्छा व्यक्त गर्ने वा पठाउने गरिन्छ । 

जन्म दिन मनाउने यो चलनलाई धेरै पुरानो भन्न नसकिए पनि यस्तो चलनको अनुकरण गर्नेहरूको सङ्ख्या ठुलो छ । 

बर्थडेको चलनझैँ विवाह वर्षगाँठ मनाउने चलन पनि बढ्दो छ । विवाह भएको तिथि–मितिमा मनाइने यस उत्सव ‘म्यारिज एनिभर्सरी’ वा ‘वेडिङ एनिभर्सरी’का नाममा ज्यादा प्रचलित छ । वैवाहिक वर्षगाँठमा पनि केक काट्ने कार्य विशेष महत्त्वका साथ पूरा गरिन्छ ।

विद्यालय, सङ्घ–संस्था, व्यावसायिक प्रतिष्ठानले वार्षिकोत्सव मनाउने चलन पुरानै हो, तर यसमा अहिले केक काट्ने चलन थपिन थालेको छ । 

परीक्षामा उत्तीर्ण हुँदा; व्यवसाय प्रारम्भ गर्दा; सरकारी वा गैरसरकारी सेवामा नाम निकाल्दा; पदोन्नति हुँदा; खेल, प्रतियोगिता वा चुनाव जित्दा आदि खास–खास उपलब्धि हासिल गर्दा उत्सव मनाइन्छ र यस्ता उत्सवमा केक काट्ने चलन पनि बढेको छ । 

बर्थडे, वेडिङ एनिभर्सरी, वार्षिकोत्सव वा जुनसुकै उत्सव पनि केक नकाटी प्रारम्भ हुँदैन । वस्तुतः बर्थडे वा वेडिङ एनिभर्सरी उत्सवको मूल कार्य नै केक काट्नु हो । अर्थात् यस्ता उत्सवबाट केक काट्ने चलनलाई हटाउन सकिँदैन । केक काट्ने कार्यलाई समावेश नगर्ने हो भने उत्सव उत्सवजस्तो रहन जाँदैन । हाम्रो आफ्नै यस्ता अवसरमा फलफूल, मिठाई, अक्षता, धूप, दीप आदि सान्दर्भिक हुन्छन् । मुख मिठो पारौँ भनेर मिठाई वितरण गर्ने परम्परा छ ।

  • केक के हो ? 

केक युरोपेली खानाको एउटा परिकार हो । अर्थात् केक बेक्ड (रोटी) खाना हो, हाम्रोतिर बेकरीले तयार गर्ने सामग्रीलाई केक भनेर बुझौँ । भोजनको अन्त्यमा गुलियो बेक्ड खाने पश्चिमी परम्परा हो । पुरातन रोममा मैदामा मख्खन, अन्डा र मह आदि थपेर मिठो बेक्ड खाने चलन बस्यो । प्रारम्भिक इङ्ग्ल्यान्डमा पनि, केकहरू भोजनको अनिवार्य हिस्सा बन्यो । 

पिठो, चिनी, अन्डा, मक्खन वा तेल मिश्रित पकवान नै केक हो । केक धेरै प्रकारका हुन्छन् । अहिले केकका सामग्रीका लागि धेरै विकल्प उपलब्ध छन् । कतिपय सामग्री साजसज्जाका लागि पनि प्रयोग गरिन्छन् । हामीकहाँ चाडपर्व, उत्सव, समारोहमा मिठाईको जे जस्तो महत्त्व छ; त्यस्तै पश्चिमतिर कुनै पनि विशेष समारोहमा मिठाईका रूपमा केकको प्रयोग गरिन थालिएको पाइन्छ । केक काट्ने र खाने प्रक्रियामा सामूहिक उत्सवको मूल्य समाहित हुन गएकाले त्यसलाई भावनात्मक रूपमा ग्रहण गर्न थालिएको छ ।

  • हाम्रो संस्कृति

सभ्यता, संस्कृति र परम्पराहरूको भण्डार हो हिन्दु समाज । हिन्दु धर्ममा १६ अनुष्ठान (षोडश संस्कार) उल्लेख गरिएको छ, जसमा गर्भधारणदेखि अन्तिम संस्कारसम्म छन् । जसमा गर्भाधान, पुंसवन, नामकरण, चुडाकर्म, अन्नप्राशन, कर्णवेध, केशान्त, जातकर्म, निष्क्रमण, विद्यारम्भ, विवाह, वेदारम्भ, व्रतबन्ध, समावर्तन, सीमन्तोन्नयन, अन्त्येष्टि हुन् ।

गर्भाधान संस्कार पहिलो संस्कार हो । माताले गर्भ धारण गर्नुअघि गरिने संस्कारलाई गर्भाधान संस्कार भनिन्छ । गर्भ रहनका लागि कुनै बाधा व्यवधान नहोस् भनेर यो संस्कार गरिन्छ ।

पुंसवन संस्कार दोस्रो संस्कार हो । यो गर्भावस्थाको तेस्रो महिनामा गरिने एक अनुष्ठान हो । मूलतः गर्भस्थ शिशुको समुचित विकासका निमित्त पुंसवन संस्कार गरिन्छ । जातकर्म संस्कार शिशु जन्मिएपछि नाल काट्नुभन्दा पहिले नै गर्ने विधान हो । नवजात शिशुको आयु, आरोग्य, बल, बुद्धि प्राप्त होस् भन्ने कामनाका साथ यो संस्कार गरिन्छ । यतिबेला बच्चालाई मह र घिउ चटाउने पनि गरिन्छ ।

शिशु जन्मेको ११औँ दिनमा नामकरण (न्वारन) संस्कार गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १०औँ दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११औँ दिनमा यो संस्कार गर्ने चलन चलेको हुन सक्छ । कर्मकाण्डज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्नु उचित मान्छन् ।

निष्क्रमण संस्कार शिशु जन्मिएको चार महिनामा बालकलाई घरबाट बाहिर निकाल्नुलाई भनिन्छ ।

अन्नप्राशन संस्कार शिशु विकसित हुँदै जाँदा स्तनपानबाट प्राप्त हुने पौष्टिक आहार शिशुको शारीरिक र मानसिक विकासका लागि अपर्याप्त हुने हुँदा शिशु जन्मिएको ६ महिनामा अन्नप्राशन गराइन्छ । चुडाकर्ण संस्कारभन्दा अघि कर्णभेद संस्कार भनिन्छ । यसलाई प्रचलित शब्दमा कान छेड्ने पनि भनिन्छ । बालक वा बालिका दुवैको कर्णभेदन संस्कार गरिने प्रावधान रहेको पाइन्छ ।

विद्यारम्भ संस्कार जब बालबालिकाको शिक्षा ग्रहण गर्न सक्ने क्षमता प्राप्त हुन्छ, तब यो संस्कार गराउने प्रचलन छ । पहिलोपल्ट बालकको केश मुण्डन गर्ने कार्यलाई चूडाकर्म भनिन्छ । यसको अर्को नाम क्षौर कर्म पनि हो । 

व्रतबन्ध संस्कार बालकलाई गार्हस्थ्य ज्ञानबाट परिचित गराउन गरिन्छ । व्रत भन्नाले सङ्कल्प बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । व्रतबन्धको प्रतीक मानिने यज्ञोपवित ग्रहण गर्ने प्रक्रिया पनि हो यो ।

समावर्तन संस्कार केशान्त संस्कारसँग मिल्ने एक संस्कार हो । यो संस्कार केशान्त संस्कारभन्दा पहिला गरिन्छ । यो संस्कारमा बालकलाई शिष्यका रूपमा संस्कार गरी वैदिक ज्ञान प्रदान गरिन्छ ।

बालकलाई उपनयन संस्कार गरिसकेपछि ज्ञान आर्जनका निम्ति गुरुकुल पठाउनु वेदारम्भ संस्कार हो । गुरुकुलमा ब्रह्मचर्य व्रत पालन गर्ने र संयमित रहने प्रतिज्ञा गराइन्थ्यो । शिष्य सम्पूर्ण परीक्षामा सफल भएपछि नै वेदारम्भका लागि योग्य भएको पुष्टि गरिन्थ्यो ।

केशान्त संस्कार जब शिष्य वेद, व्याकरण, तर्कशास्त्रमा निपूण भएपछि गुरुकुलबाट बिदाइ गर्दा यो संस्कार गरिन्छ । स्नान आदि द्वारा स्वच्छ गरी शुद्ध वस्त्र र केशको मुण्डनसँगै विद्यावारिधि प्रदान गरिन्छ ।

स्त्री र पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई पाणिग्रहण (विवाह) संस्कार भनिन्छ ।

गृहस्थ जीवनमा प्रवेश गरेपछिको तेस्रो कर्तव्यका रूपमा सीमन्तोन्नयन संस्कारलाई लिने गरेको छ । गार्हस्थ्य जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो । दम्पतीले सौभाग्य प्राप्त गर्नु र श्रेष्ठ सन्तानोत्पादन गर्नु यस संस्कारको प्रमुख अभिप्राय हो । गर्भपात रोक्नुका साथसाथ गर्भस्थ शिशुको रक्षा गर्ने उद्देश्य पनि यस संस्कारमा निहित छ । 

यस्तै मृत्युमा अन्त्येष्टि संस्कार गरिन्छ । मानिसको मृत्युपश्चात् गरिने संस्कार हो । यो पार्थिव शरीरको अन्तिम क्रिया हो, जसलाई सद्गति भनिन्छ । सनातन धर्ममा परमार्थको प्राप्तिका लागि सद्गति आवश्यक छ । अन्यथा अतृप्त अवस्था विद्यमान नै रहन्छ ।

यस प्रकार सनातनी जीवन संस्कार नै संस्कारले भरिएको छ । हरेक संस्कार स्वयंमा एक उत्सव हुन् । 

कतिपय कारणले सांस्कृतिक मूल्य तथा स्वरूपमा परिवर्तनका साथै सांस्कृतिक क्षरण पनि देखापर्छ । सांस्कृतिक क्षरण तब हुन सक्छ, जब एक प्रभावशाली संस्कृति कुनै सानो वा कम शक्तिशाली संस्कृतिलाई प्रभावित गर्दछ । परिणामस्वरूप अद्वितीय सांस्कृतिक प्रथा, विश्वास र परम्परामा ह्रास आउन थाल्छ । अर्को कारण प्रविधिको विकास पनि हो, जसको नकारात्मक प्रभाव सांस्कृतिक प्रथा एवं परम्परामाथि पर्छ ।

बर्थडे केकले पनि हामीलाई कतै न कतै सांस्कृतिक क्षति पुर्‍याएको छ नै । 

हाम्रा सोह्र संस्कारमा थुप्रै उत्सव छन् । हामीले जसरी जातकर्म र नामकरण संस्कार गर्छौँ, जन्मसँग जोडिएका यी विशेष उत्सव हुन्, हाम्रा यिनै संस्कारबाट पश्चिमले बर्थडे मनाउन सिक्यो कि ? हामीसँग संस्कार र संस्कृतिको कमी छैन । हामी हाम्रै सांस्कृतिक जीवनमा बाँच्दा पनि पुग्छ । 

यद्यपि सांस्कृतिक आदान–प्रदान सांस्कृतिक प्रसारको एक माध्यम हो । सांस्कृतिक आदान–प्रदान विभिन्न रूपमा हुन सक्छ र विभिन्न देश र क्षेत्रहरूबिच हुन सक्छ । उदाहरणका लागि, १९५४–१९६० को अवधिमा सोभियत सङ्घ र भारतले सर्कस, नाट्य कला र नृत्य समूहहरूमा ध्यानकेन्द्रित गर्दै रचनात्मक टोली र व्यक्तिगत कलाकारहरूको आदान–प्रदानमार्फत सांस्कृतिक आदान–प्रदान गरेका थिए ।

हामीले हाम्रो सांस्कृतिक क्षरणको अवस्थालाई रोक्नेतर्फ सोच्नुपर्छ । सांस्कृतिक क्षरणलाई रोक्ने अनेक तरिका हुन सक्छन् । यसका लागि शिक्षा र जागरूकता फैलाउन सकिन्छ । यस्तै, सांस्कृतिक प्रथा, परम्परा, लोककथा, गाथा, गीत, नृत्य आदि सांस्कृतिक निधिको दस्ताबेजीकरण र संरक्षण गर्नतिर हामी लाग्नुपर्छ ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप