बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एनओसी अवार्ड २०२४ : एरिका र स्यान्टु उत्कृष्ट

आइतबार, ०९ असार २०८१, २२ : ४९
आइतबार, ०९ असार २०८१

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ मा कराँतेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ उत्कृष्ट चयन भएका छन् । आइतबार आयोजित विशेष कार्यक्रमबिच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट भएका थिए । उत्कृष्ट प्रशिक्षकमध्ये पुरुषमा कराँतेका कुशल श्रेष्ठ र महिलामा कपर्दीकी पार्वती राई घोषित भए ।

कुशल हाङचाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । यस्तै पार्वती त्यही हाङचाउ एसियाली खेलकुदमा महिला कपर्दीतर्फ कांस्य पदक विजेता टिमका प्रशिक्षक थिइन् । यसैगरी पारा एथलेटिको अवार्ड भने तेक्वान्दोकी पलेशा गोवर्थधने पाइन् । उनले हाङचाउ पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् भने पेरिसमा हुने पारालिम्पकमा पनि छनोट भएकी थिइन् ।

पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुव तुलाधर, अनलाइन मिडियामा नवीन लुइँटेल, स्पोर्टस फोटो जर्नलिस्टमा उज्ज्वल डंगोल र स्पोर्टस भिडियो जर्नलिस्टमा प्रदीप लेखी उत्कृष्ट घोषित भए । विजेता खेलाडी, प्रशिक्षक तथा सञ्चारकर्मीलाई अवार्डसहित जनही ५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । यस्तै ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कपर्दी संघ, नेपाल कराँते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो । कार्यक्रम ओलम्पिक डेका अवसरमा आयोजना भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप