हेर्दाहेर्दै पुरिए एकै परिवारका ६ जना
पोखरा । मनसुन सक्रिय भएपछि कास्कीमा केही दिनदेखि लगातार पानी परिरहेकै थियो । ठाउँठाउँमा बाढी पहिरोका घटना सुनेका पोखरा–१९, तल्लाकोट, ठाँटीका कुलबहादुर परियारको परिवार आफ्नै घर पनि पहिरोको जोखिममा रहेको निष्कर्षमा थिए ।
अघिल्लै दिन घर नजिकै सानो पहिरो झरेकाले मनमा डर थियो । तर घरै छोप्ला भन्ने लागेको थिएन । बिहीबार रातिको खाना खाएर परिवार आपसमा गफिँदै थिए । ज्वाइँ अस्मित परियार राति नै पहिरोको रेकी गरेर फर्किएपछि तत्काल डराउनु नपर्ने रिपोर्टिङ गरे ।
उनी अघिल्लै दिनको पहिरो पन्छाउन पोखराबाट ससुराली गएका थिए । स्याङ्जा घर भएका उनी बिरामी भएपछि उपचारका लागि पोखरामा थिए । अस्मितको रिपोर्टिङपछि पनि उनीहरू ढुक्कचाहिँ थिएनन् ।
कोपिला (कुलबहादुरका भाइबुहारी) तत्कालै नसुत्न सल्लाह दिएर निस्किइन् । कुलबहादुरका परिवार पहिरो आइहाले भाग्ने निधो गरेर घर छोडेनन् । राति झरी झन् दर्किन थाल्यो । सवा १० बजेतिर एक्कासी खहरे गड्गडाए झैँ भयो । केही सेकेण्डमै घरको धुरी छोप्यो ।
कुलबहादुरको परिवारका ६ जना गुहार भन्न नपाउँदै पहिरोमा पुरिए । ‘टिन फुट्लाजस्तो झरी परेको हो । तपाईंहरू नसुत्नुस् भनेर म घरतिर लागेँ,’ कोपिला भन्छिन्, ‘उहाँहरू पहिरो आयो भने भागौंला भनेर बस्नुभयो । पहिरो त आयो, तर भाग्न पाउनुभएन ।’
क्षणभरमै ३ कोठे ढुङ्गामाटोको घर जमिनमा मिल्यो । कुलबहादुरसँग पाली जोडिएको कोपिलाको घरको पनि एउटा कोठा पुरिएको छ । ‘म सधैँ अहिले पुरिएकै कोठामा सुत्थेँ । हिजो मनले मान्दै मानेन । त्यो कोठा छोडेर अर्कोतिर सुत्न गएँ,’ कोपिलाले भक्कानिँदै भनिन्, ‘त्यै कोठामा सुतेको भए म पनि बाच्थिनँ । भगवानले बचाउनु त भयो तर त्यत्रा मान्छे मरेपछि म बाँचेको सार भएन ।’
पहिरोको आवाज सुनेपछि घरबाहिर भागेका कुलबहादुरका १७ वर्षे छोरा पवन बल्लतल्ल बाँचे । उनको पनि आधा ज्यान पहिरोमै परेको थियो । बाहिरबाट ठुलोबुबाले उनलाई तानेर जोगाए ।
‘म उठेर बाहिर भागेँ । उहाँ (उनका श्रीमान् सुवर्ण) आमा र भाइलाई बोलाउँदै पहिरो भएतिर जानुभयो,’ कोपिलाले भनिन्, ‘ढोका हान्दाहान्दै सर्लक्कै पु¥यो ।’
पुरुन्चौर पहिरोमा कुलबहादुरसँगै उनकी श्रीमती मनकुमारी, आमा लक्षीमा, छोरीहरू प्रशना र प्रभा, ज्वाइँ अस्मितको मृत्यु भएको छ । पहिरोका कारण छिमेकी राधिका परियारको पनि ज्यान गएको छ ।
त्यसो त छिमेकीले घरमा पहिरो खस्न सक्ने देखेर कुलबहादुरलाई अन्यत्र बस्न सुझाएका थिए । ‘हामीले सचेत गराएकै हो । वडाध्यक्षले पनि नबस्नु भन्नुभएको थियो,’ छिमेकी मानबहादुर लामिछानेले भने, ‘खै अटेर गर्नुभयो कि, दिन नै त्यत्ति थियो ! सबै एकैखेप हुनुभो ।’
मानबहादुरले पहिरोबाट उम्किने समय पनि नरहेको सुनाए । ‘बरण्डामा उभिएको थिएँ । हेर्दाहेर्दै एक्कासी पहिरो आयो । ५ सेकेण्ड पनि लागेन घरसम्म आइपुग्न,’ उनले थपे, ‘सानो पहिरो त पहिले पनि थियो, माथिको थाप्लो सेकेण्डभरमै झ¥यो । म चिच्याएँ तर दर्के पानीमा कसैले सुन्ने कुरा भएन । सुनेको भए पनि बाहिर निस्किन भ्याउने अवस्था थिएन ।’
पहिरो झर्ने बित्तिकै छिमेकी जम्मा भए पनि उद्धार गर्न नसकिएको उनको भनाइ छ ।
अर्का छिमेकी मिनराज ढुंगानाले अघिल्लै दिन घरमा नबस्न सल्लाह दिएका थिए । ‘घर पछाडि पहिरो देखेपछि यहाँ नबस भनेको थिएँ,’ उनले भने, ‘उनले (कुलबहादुरले) झर्ने गरेकै कान्लो झरेको हो केही फरक पर्दैन भने । अहिले यस्तो दशा लाग्यो ।’
वडा सदस्य विकास आचार्यले साँझ नै घरमा नबस्न आग्रह गरेर फर्किएका थिए । कुलबहादुरको परिवारले सामान्य सावधानी अपनाएको भए यति ठुलो क्षति नहुने छिमेकीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखको निर्देशन
-
बिहान खाली पेटमा अञ्जिर पानी खानु हुन्छ ? यस्ता छन् फाइदा
-
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
-
एनपीएलको सातौँ अर्धशतक लोकेश बमको नाममा
-
प्रधानमन्त्री अोली चीनबाट फर्केपछि प्रधानसेनापति भारत जाने
-
डी ब्रुयनासँगको समस्याबारे के भन्छन् ग्वार्डिओला ?