मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

३ करोड भाडा नतिरी टिकट काउन्टरमा सिन्डिकेटवालाको रजाईँ

सोमबार, २४ वैशाख २०७५, १२ : ५१
सोमबार, २४ वैशाख २०७५

काठमाडौं– काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा सिन्डिकेट पक्षधर राष्ट्रिय यातायात व्यवसायी महासंघले टिकट काउन्टर राखेवापतको १४ वर्षयता एक पैसापनि भाडा नतिरेको खुल्न आएको छ । सिन्डिकेट पक्षधर व्यवसायीहरुले समिति अन्तर्गत रहेर टिकट काउन्टर सञ्चालन गर्दै आएका थिए । 

समिति अन्तर्गतका व्यवसायीले नयाँ बसपार्कको व्यवस्थापन गरिरहेको लोत्से वहुउद्देश्यीय प्रालिलाई भाडा तिर्न आनाकानी गर्दै आएका हुन् । 

लोत्सेका महाप्रबन्धक सुनिल कुँवरले पटकपटक लिखित सम्झौता गरेर पनि समितीहरुले भाडा चुक्ता नगरेको रातोपाटी बताए ।

                                                               सुनिल कुँवर

प्रत्येक काउन्टरले मासिक १० हजार तिर्ने गरि लोत्सेसँग भाडा सम्झौता भएको थियो । उनका अनुसार समितिहरुले लोत्सेलाई ३ करोड रुपैयाँ बढी तिरेका छैनन् । 

सरकारले सिन्डिकेट अन्त्यका लागि गत शुक्रवार बसपार्कमा रहेका समितिका बोर्डहरु हटाएको थियो । बसपार्कमा ५० समिति र २३ प्रालिका टिकट काउन्टर रहेका थिए । 

यातायात व्यवस्था विभागको निर्देशन पश्चात प्रहरीले समितिका काउन्टरहरु पूर्ण रुपमा हटाएको छ ।  प्रालि अन्तर्गतका काउन्टरहरु भने नियमित रुपमा सुचारु छन् । 

समितिका काउन्टर हटेपछि व्यवसायीहरुले बसपार्क परिसर भन्दा बाहिर रहेर टिकट काटिरहेको प्रालि अन्तर्गतका एक व्यवसायीले बताए । कतिपयले छुट्न लागेका बससँगै रहेर यात्रुहरुलाई टिकट वितरण गरिरहेको पनि उनको भनाई थियो । ‘बसपार्कबाट छुट्ने बसहरु घटेका छैनन्, टिकट वितरण गरेर त समितीका बसहरु पनि छुटेका होलान् ।’ –उनले भने । 

प्रशासनले बोर्ड हटाएसँगै लोत्सेले रंगरोगन र सरसफाईलाई तिव्रता दिएको छ । ८५० बस क्षमताको बसपार्कलाई व्यवस्थित रुपमा टिकट काट्ने व्यवस्था मिलाउने कुँवरले वताए । 

समितिहरुले प्रयोग गर्दै आएका टिकट दलालहरुको पूर्ण अन्त्य गरिने उनले बताए । लोत्सेले टिकट काउन्टरमा पूर्व कर्मचारीहरु नै खटाउने जनाएको छ । अनुभवी कर्मचारी भएकाले उनीहरुलाई नै अवसर दिने कुँवरले बताए । पुनः खट्ने कर्मचारीले यात्रु नठग्ने विश्वास  भने दिलाउनुपर्ने उनको भनाई थियो । सरकारले तोके अनुसारको भाडादर हुने गरि इ–टिकेटिङ व्यवस्था गर्न लागेको समेत उनले बताए । यात्रुलाई सुविधा बढाउने र भाडा घटाउन प्रालिहरुको प्रतिस्पर्धा हुने आशा दिलाए । 

सोमबारदेखि लोत्सेले बसपार्कभित्र २४ वटा काउन्टर सञ्चालनमा ल्याएको छ । समितिहरु हटेसँगै तत्काललाई लोत्सेकै कर्मचारीले काउन्टरको जिम्मा लिएका छन् ।

 श्रम ऐन अनुसार नै पूर्व कर्मचारीहरुलाई प्राथमिकता दिने बताइएको छ । सुरक्षित तरिकाले बिना अवरोध यात्रुहरुले टिकट काट्ने व्यवस्था गरिने कुँवरले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप