कविता
मानिस जति धेरै पढ्छ
शनिबार, २६ साउन २०८१, १६ : ५५
१
मानिस जति धेरै पढ्छ
उति धेरै उसमा घमण्ड चढ्छ
मानिस जति ठुलो पदमा पुग्छ
त्यति धेरै घमण्डको मदमा हुन्छ
अनि उसले बिर्सन्छ
म को हुँ भन्ने
तत् पश्चार्ध रत्तिभर पनि
अरूलाई नगन्ने
माथिबाट ऊ सबैलाई
तल तल देख्छ
अरूको नाम मेटाउदै
आफ्नो नाम लेख्छ
उसले बिर्सन्छ पुर्खा
उसले बिर्सन्छ संस्कार
उसले चिन्दैन उज्यालो
उसले चिन्दैन अन्धकार
बेलुन झैँ बढ्दै बढ्दै
अहङ्कारले ऊ फूल्छ
जसको कारणले ऊ बन्यो
उनीहरूलाई नै भुल्छ
आफूभन्दा जान्ने कोही
छैन जस्तो ठान्छ
सुन्दैन अर्ति उपदेश
न त बडोलाई मान्छ
मानिस जति धेरै पढ्छ
उति धेरै उसमा घमण्ड चढ्छ
मानिस जति ठुलो पदमा पुग्छ
त्यति धेरै घमण्डको मदमा हुन्छ