पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित
खोटाङ । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।
पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५÷१५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताए । उनको खेतको सिरानदेखि पहिरो गएको छ ।
“पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ”, उनले भने, “६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।”
पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ । पहिराका कारण उनको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका–२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको थियो ।
यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो । यस वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण