काठमाडौँ प्रहरीको भवन निर्माणमा संयोग : ओलीको पालामा जग्गा खरिद, उनैले गरे उद्घाटन
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा २०७६ असार १० मा उनकै नेतृत्वको मन्त्रिपरिषद्ले खाद्य संस्थानको १५ रोपनी जग्गा काठमाडौँ प्रहरीको नाममा खरिद गर्ने निर्णय गरेको थियो । भद्रकालीमा निर्माण सम्पन्न भएको अत्याधुनिक भवन केपी शर्मा ओलीले नै उद्घाटन गरेका छन् ।
दुई चरणमा निर्माण सम्पन्न भएको भवन १ अर्ब २६ करोड ७४ लाखमा बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नव निर्मित भवनमा ४ सय प्रहरीका लागी ब्यारेक र ३ सय थुनुवा राख्न मिल्ने थुनुवा कक्ष रहेको प्रहरी प्रधान कार्यालयका एसएसपी रामकुमार चौधरीले बताए ।
भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैलाई फसाउन र अपराधीलाई जोगाउन आदेश नदिने जिकिर गरेका छन् । मनोगत रूपमा नभएर बस्तुगत आधारमा बढुवा र आवश्यकताको आधारमा सरुवा गरिने उद्घोष गर्दै ओलीले भने– ‘सरुवा र बढुवामा कुनै दौडधुप गर्नुपर्दैन, झोला र थैला बोकेर कुद्नुपर्ने आवश्यकता छैन ।’
आजभोलि विरोध गर्न र चरित्रहत्या गर्न कारण नचाहिने उल्लेख गर्दै ओलीले भने, ‘विकृति मच्चाउने तत्त्वहरू सलबलाएका छन्, उनीहरू भत्ता पचाएर बसेका छन् ।’ समाज बिथोल्न खोज्नेहरूलाई प्रहरीले नियन्त्रण गर्नुपर्ने उनले बताए । पुरानो घुमुवा तरिकाले अपराध नियन्त्रण नहुने भन्दै प्रधानमन्त्रीले भने, ‘सम्भावित अपराध नियन्त्रण गर्नुपर्छ, त्यो ठुलो अनुसन्धान हुन्छ ।’
प्रहरी गर्व गर्न लायक संस्था : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी गर्व गर्न लायक संस्था भएको बताएका छन् । काठमाडौँ प्रहरीको भवन उद्घाटन समारोहमा उनले भने, ‘प्रहरी गर्व गर्न लायक संस्था हो ।’
सीमित स्रोत र साधन भए पनि प्रहरीले असीमित काम गरेको उल्लेख गर्दै लेखकले भने, ‘देशभर ६ सय अस्थायी चौकी र इलाका प्रशासन माग भएको छ तर, हामीले ५ वटा पनि दिन सकेका छैनौँ ।’
केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को १ सय दिनभित्र प्रहरी र सशस्त्रको नयाँ ऐनको मस्यौदा प्रतिनिधिसभामा दर्ता गरिने लेखकले बताए । उनले भने, ‘कम्तीमा यो सरकार बनेको १ सय दिनमा दुवै सङ्गठनको ऐनका मस्यौदा हाउसमा लैजाने काम पुरा गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण