सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

शनिबार, १५ भदौ २०८१, १६ : ४७
शनिबार, १५ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताए । 

उनले भने, ‘अन्याय कसैमाथि हुनु हुँदैन । तर समाजलाई थिति र विधिबाट चलाउनु पर्छ । कानुनको राज हुनुपर्छ । म के स्पष्ट पार्न चाहन्छु भने अहिलेको सरकारले कुनै कसैमाथि अन्यायपूर्ण तरिकाले आफ्नो हित, सत्ता स्वार्थलाई केन्द्रमा राखेर अन्याय अत्याचार गर्दैन । यसमा प्रतिबद्धता सरकारको प्रमुखको रूपमा म चाहन्छु ।’

यस्तै, उनले पुष्पकमल दाहाल प्रचण्डले श्रीलंका र बंगलादेशबाट केही कुराहरू सिक्नुपर्ने उपदेश दिएको भन्दै आफूले केही गलत काम नगरेको बताए । 

उनले भने, ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? लुटपाट गरेको छु र ? जसले चर्को स्वरमा सिक सिक भनिरहेको छ राम्रो तरिकाले आफैँ सिक्नलाई आग्रह गर्दछु । नेपाल कुनै देशको फोटोकपी गर्ने देश होइन । यहाँ आफ्नै इतिहास र परम्परा छ । झुट अहिलेसम्म बोलेको छैन बोल्दिन पनि । जानी जानी कसैको अधिकार हनन गरेको छैन, गर्दिन । जानी जानी कसैको अहित गरेको छैन गर्दिन र नराम्रो काम गरेको छैन गर्दिन तसर्थ म ढुक्क छु ।’ 

राजनीति र राज्य व्यवस्थालाई घृणा गर्नु भनेको सामाजिक अराजकता मात्र भएको उल्लेख गर्दै उनले यसले समाजलाई कुनै राम्रो परिणाम नदिने बताए । 

उनले भने, ‘राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने, विधिको शासनलाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो । यसले समाजलाई कुनै राम्रो परिणाममा पुर्‍याउँदैन । घृणाको राजनीति, अराजकता अथवा संस्कारहीन तरिका जस्ता कुराहरूले समाजलाई बेथितितर्फ लान्छ । समाजलाई अराजकता र असभ्यताले छिन्नभिन्न मात्रै गर्छ ।’ ओलीले सबै जाति, भाषाका जनतालाई एउटा सूत्रमा बाँध्ने भनेको राजनीति नै भएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप