अमेरिकाको आलोचना गरेका ओलीले विदेश भ्रमणको सुरुवात अमेरिकाबाटै थाल्दै
काठमाडौँ । ‘संसारभर नै उनीहरू (अमेरिका र भारत)को बोलवाला छ । नेपालमा पनि चलखेल गर्ने र अराजकता मच्चाउने प्रयास भइरहेको छ । उनीहरूको तरिका पहिला नेतृत्वलाई खुइल्याउने अनि पार्टी र आन्दोलनमाथि आक्रमण नै गर्ने हो । त्यसअन्तर्गत नेपालमा वितण्डा मच्चाउने पक्षमा छन् ।’
भदौ १३ गते ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको धारणा हो यो । प्रधानमन्त्रीमा नियुक्त भएपछि अध्यक्ष ओली लगातार अमेरिका र भारतप्रति आक्रामक देखिएका छन् ।
यसरी आफ्नै पार्टी बैठकमा भारत र अमेरिकाप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओली असोज ५ गते ११ दिनका लागि अमेरिका जाँदैछन् । हालै अमेरिकाप्रति कडा टिप्पणी गरेका ओलीको अमेरिका भ्रमण कस्तो हुने होला भन्नेबारे विभिन्न टिप्पणी भइरहेको छ ।
विदेश मामिलाका जानकारसमेत रहेका एमाले नेता राजन भट्टराई भन्छन्, ‘पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीमा बोल्दै नबोलेको कुरालाई गलत प्रचार भएको छ । त्यो कुराको खण्डन उहाँले पार्टीको पोलिटब्युरो बैठकमा गरिसक्नु भएको छ । उहाँले आफूले बोल्दै नबोलेको विषयलाई मिडियाले गलत प्रचार गरेको कुरा बैठकमा राख्नुभएको थियो ।’
तर भट्टराईले भनेजस्तो प्रधानमन्त्री ओलीले खण्डन गरेको कुरा बाहिर आएको छैन ।
त्यसअघि पनि राप्रपा नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘नाकाबन्दी र भूराजनीति’ पुस्तक भदौ १० गते विमोचन गर्दै प्रधानमन्त्री ओली भारतप्रति आक्रामक देखिएका थिए । उनले भनेका थिए, ‘ईपीजीको प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्दै सीमा विवादलगायत विषयमा थप संवाद गरी समाधान गर्न सकिन्छ । प्रतिवेदन नबुझ्ने कुनै कारण नै छैन ।’
त्यसको तीन दिनपछि पार्टीको सचिवालय बैठकमा अमेरिका र भारत दुवै शक्तिराष्ट्रमाथि उनले खरो टिप्पणी गरेका थिए ।
यद्यपि परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण अमेरिकी सरकारको निमन्त्रणामा नभएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन केन्द्रित रहेको जनाएका छन् ।
भदौ २५ गतेदेखि असोज १२ गतेसम्म संयुक्त राष्ट्र संघको ७९औँ महासभा अमेरिकामा आयोजना हुँदैछ । त्यसमा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाने भएका छन् । भदौ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको अमेरिका भ्रमणलाई स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने मान्यतालाई प्रधानमन्त्री ओलीले यसपटक भङ्ग गरेका छन् ।
त्यसो त ओली संयुक्त राष्ट्र संघको ७३ औँ महासभामा भाग लिन २०७५ असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए । त्यतिबेला अमेरिका जानुअघि उनले भारत भ्रमण गर्न भ्याइसकेका थिए ।
२०७४ फागुन ३ गते दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले चैत २३ गते भारत भ्रमणमा गएका थिए । तर यो पटक भ्रमणको निम्तो पाए पनि प्रधानमन्त्री ओलीले भारत भ्रमण जान रुचि देखाएका छैनन् । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएको बेला उनले दुई पटक भारत भ्रमण गरेका थिए ।
एमालेका नेता भट्टराईले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण औपचारिक नरहेको बताए । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेकाले यसलाई औपचारिक भ्रमण भन्न नमिल्ने उनको भनाइ छ ।
‘राष्ट्र संघको महासभा बैठक हरेक वर्ष निश्चित हुन्छ, त्यसमा हरेक देशका प्रमुख तथा अन्य शीर्ष प्रतिनिधि जानैपर्ने हुन्छ,’ भट्टराईले भने, ‘नेपालबाट हरेक बैठकमा प्रतिनिधित्व हुँदै आएको छ ।’
प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण कुन देशबाट सुरु हुन्छ भन्ने कुरा सरकारमा भर पर्ने उनले बताए । ‘अहिले म सरकारको आधिकारिक व्यक्ति होइन, सरकारले त्यसको तयारी गर्दै होला,’ उनले भने ।
कुनै देशबाट निम्तो आउँदैमा गइहाल्नु पर्छ भन्ने नरहने भट्टराईले प्रस्ट पारे । ‘त्यसको आन्तरिक तयारी हुन्छ । कुनै समय निश्चित हुन्छ । अनिमात्र जाने कुरा आउँछ,’ उनले भने ।
विदेश मामिलाका जानकार रहेका एमालेका अर्का नेता विष्णु रिजालले प्रधानमन्त्री भइसकेपछि पहिलो विदेश भ्रमण फलानो देशबाट हुनुपर्छ भन्ने कुनै मान्यता नरहेको बताए । ‘प्रधानमन्त्रीमा नियुक्त भएपछि भारत भ्रमणमा गएरमात्र वैधता पाउँछ भन्ने पनि छैन,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्रीहरूले आफ्नो अनुकूल विदेश भ्रमणको तालिका बनाउने गरेको पाइन्छ ।’
रिजालका अनुसार माधवकुमार नेपाल, प्रचण्ड, सुशील कोइराला, झलनाथ खनालले पनि भारत बाहेकका देशबाट पहिलो विदेश भ्रमण थालेको इतिहास छ । यसपटक प्रधानमन्त्री ओलीले अमेरिकाबाट विदेश भ्रमण थालेको उनको भनाइ छ ।
राष्ट्र संघको महासभामा भाग लिन जाँदा पनि विभिन्न उच्चस्तरीय भेटघाट र विभिन्न ठाउँको भ्रमण हुनसक्ने सम्भावना रहेको रिजालले बताए ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ । समिट अफ द फ्युचर असोज ६–७ गते हुने भएको छ । राष्ट्र संघको महासभा भदौ २५ गतेदेखि सुरु भए पनि सदस्य राष्ट्रका प्रमुखहरु सेप्टेम्बर १८–१९ (असोज २–३) देखि सुरु हुने मुख्य कार्यक्रममा भाग लिन जाने छन् ।
राष्ट्र संघमा नेपालसहित विश्वका १९३ देश सदस्य छन् । भ्याटिकन र प्यालेस्टिन गरी दुई राष्ट्र गैरसदस्य राष्ट्रको रूपमा सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण