सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वैज्ञानिकहरूलाई ओलीको आग्रह : विकासका लागि आविष्कार र अनुसन्धान गरौँ

मङ्गलबार, २५ भदौ २०८१, १४ : ४०
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४७ औँ प्राज्ञसभामा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरेका हुन् । 

उनले तरकारी र उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

‘आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस् । प्रशासनिक रूपमा मुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु । वैज्ञानिकहरूबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान हुन आग्रह गर्छु,’प्रधानमन्त्री ओलीले भने, ‘ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ । अरूले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग सुरु गरिसकेका थियौँ । अब ग्रिन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइट राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए  ।

सभाले आर्थिक वर्ष २०८१÷०८२ का लागि रु ५० करोड ६८ लाख ३९ हजारको बजेटसहितको कार्यक्रम स्वीकृत गरेको छ । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्रा.डा. दिलीप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्द्धनलाई सरकारले समृद्धिको एक आधार मानेकामा प्रसन्नता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप